स्मृति ग्रन्थ विमोचन गर्दै स्व. लुईटेलको ८३ औं जन्मजयन्ती मनाइयो « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

स्मृति ग्रन्थ विमोचन गर्दै स्व. लुईटेलको ८३ औं जन्मजयन्ती मनाइयो


यलम्वर टाइम्स
४ आश्विन २०८०, बिहीबार ११:३५

कालिस्थान । छन्दवादी कवि तथा समालोचक स्व. रोहिणीविलास लुईटेलको ८३ औं जन्मजयन्ती आज विहीबार गार्गी विद्यापीठमा रोहिणीविसाल स्मृति ग्रन्थ पुस्तक विमोचन गर्दै मनाइएको छ ।

साहित्यीक क्षेत्रका चम्किला र हसिला ताराका रुपमा रहेका रोहिणीविलासले छन्दवादी आन्दोलनको बीउ छरेर गएपछि झापामा मात्र होइन प्रदेश नं. १ मै छन्दवादीहरुको संख्या बढ्दै गएको पाइन्छ ।

आज वरिष्ठ साहित्यकार मोहन भण्डारीले लुईटेलको स्मृति ग्रन्थ र उनले प्रकाशन गरेको ७ वटा पुस्तक साहित्य क्षेत्रमा लाग्ने जो कोहीलाई प्रेरणाको स्रोत हुने बताए ।

प्रमुख अतिथि समेत रहेका भण्डारीले पूर्व क्षेत्रमा लुईटेलको अभाव खड्किएको हुँदा स्मृति ग्रन्थमा जे जति लेखिएका छन्, त्यतिले मात्र स्व. लुईटेलको परिचय नपुग्ने बताए ।

स्मृति ग्रन्थ विमोचन कार्यक्रममा पुण्यप्रसाद खरेल, सरोज ओली, लोकनाथ पौडेल, देवीभक्त श्रेष्ठ, डा. पुण्य सिग्देल, प्राज्ञ विवश पोखरेल आदिले स्व. रोहिणीविलास लुईटेलसँगको साहित्यीक यात्राको स्मरण गर्दै अब स्मृति ग्रन्थमा बाहेक अरु बेला साक्षात्कार हुन नसक्ने बताए ।

नरेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित मान्यवरहरुलाई संगीता लुईटेल नेपालले स्वागत गरेकी थिइन् भने स्वस्ति वाचन वेद उच्चारणबाट महिलाहरुले गरेका थिए ।

५३६ पेजको कृतिको समिक्षा प्रा.डा. ठाकुर पोखरेलले गरेका थिए भने कादम्बरी लुईटेल काफ्ले, जगन्नाथ अधिकारी, पत्रकार केशव भट्टराई लगायतले छन्दका कविता वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन केदार पोखरेलले गरेका थिए । स्मृति ग्रन्थमा १३० जनाले विलास सम्बन्धि संस्मरण लेखेका छन् भने यलम्वर टाइम्स अखबार, पूर्वाञ्चल दर्पण, रेडियोले लिएको अन्तरवार्ता समेत राखिएको छ ।

कृति प्रकाशन रमणविलास लुईटेल, सिर्जना लुईटेल रहेका छन् भने विष्णुकुमार भट्टराईले सम्पादन गरेका छन् ।

पुस्तकको संयोजन संगीता प्रियम्बदा लुईटेल र कादम्बरी लुईटेल काफ्लेले गरेका छन् ।

कार्यक्रममा हस्त परियार, लेखक संघ झापाका कुमार भट्टराई, यलम्वर टाइम्सका सम्पादक दिपीन राई, भिमप्रसाद नेपाल, रुपा खनाल, गजलकार केशव आचार्य, रश्मीशेखर सुवेदी, पिनाकी कोइराला, दुर्गाप्रसाद सिग्देल, कृष्ण पौडेल लगायतको आतिथ्य रहेको थियो भने गार्गी विद्यापीठमा अध्ययनरत महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।