उतिखेरै अध्यक्ष प्रचण्डलाई सुझाव थियोः नेता शर्मा « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

उतिखेरै अध्यक्ष प्रचण्डलाई सुझाव थियोः नेता शर्मा


यलम्वर टाइम्स
७ असार २०८१, बिहीबार ०८:३२

दमक । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शान्ति प्रक्रियामा आउँदै गर्दा अध्यक्ष प्रचण्ड लगायत शीर्षस्त नेताहरुलाई अब कार्यकर्ता तथा नेपाली जनतालाई आयमुलक क्षेत्रमा जोडेर लैजानुपर्ने सुझाव दिएको बताएका छन् ।

०६२–६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा जाँदै गर्दा राजधानीमा भेला भएको बेला प्रचण्ड, बाबुराम र किरण समेतको अगाडि मैले राखेको विचारलाई प्राथमिकता नदिँदा आज मुलुक आर्थिक चपेटामा पुगेको बताउँदै अब स्थानीय स्तरबाटै आम पार्टीका कार्यकर्ता तथा नेपाली जनताले आयमुलक क्षेत्रमा प्रवेश गरिएन भने अझ अभावका दिनहरु हाम्रा अगाडि आउँदै गरेको बताए ।

झापाको दमकमा नेकपा माओवादी केन्द्रद्वारा पूर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता शर्माले दमकमा पार्टी कार्यकर्ताले नगरभरी आधा लाख फलफुलका विरुवा रोपेर चलाएको अभियान आयसँग जोडिएको हुँदा रोपिएको विरुवा हुर्के हुर्किएन पुनः हेर्न जाने परिपार्टीको विकास गर्न सुझाव दिए ।

उनले बृहत र पुरानै विरासतमा उभ्याउनका लागि युवा शक्तिलाएै प्रविधिमैत्री, संस्कृति र पहिचानलाई सम्मान, महिला र दलितका लागि हरेक कुरामा सहभागिता र उत्पादन, रोजगार र आत्मानिर्भरतामा जोड दिन जरुरी रहेको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार रानाले सामन्तवादको अन्त्यसँगै नेपालीजनलाई आर्थिक क्रान्तिमा लैजानसके देशले नयाँ रुप लिने बताए । उनले यसको विजारोपण माओवादी बाहेक अरुले गर्न नसक्ने बताए ।

अर्का केन्द्रीय सदस्य रञ्जीत तामाङले पार्टीको संस्कार र आचरण विपरित नेता बनाउँदा पार्टीलाई क्षति पुगेको बताए । उनले यस्ता कार्य रोक्न माग गरे ।

केन्द्रीय सदस्य शिवकुमार मण्डलले पार्टीले बनाएको नीतिलाई अक्षरस पालना नगर्दा पार्टी धरासयी हुँदै गएको बताए । जिल्ला अध्यक्ष राजु आचार्य ‘अग्नी’ ले पार्टी पद्धतीबाट नेताहरु हिंड्न नसकेर विचौलिया हाबी भएको बताए ।

पार्टी नगर अध्यक्ष रबि बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश अध्यक्ष हर्क नेम्वाङ, प्रदेश सदस्य भवानी प्रसाद दंगाल, पार्टी नेता सीपी कडरिया, खड्क कन्दङ्वा, दुर्गा चम्लगाई, प्रेस सेन्टरका दिपीन राई, विमल लामिछाने, राजु पाठक, पत्रकार महासंघका एकराज गिरी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा वृक्षरोपण, उत्कृष्ट वडा तथा पार्टी संगठनमा योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो । डम्बर बोहोराले सञ्चालन गरेको कार्यक्रममा देवु गौतमले स्वागत गरेका थिए ।