हामी कति अल्छे « Yalambar Times
८ मंसिर २०८१, शनिबार

हामी कति अल्छे


यलम्वर टाइम्स
१७ श्रावण २०८१, बिहीबार ११:१३

गाउँमा बसेर भारतीय बजारबाट भित्रिएको सब्जी खानु पर्ने अवस्था आएपछि हामी कति अल्छे रहेछौं भन्ने तथ्याङ्क बाहिर आएको छ । पूर्वको काँकरभिट्टा नाकाबाट यो वर्ष सामान्य फर्सी मात्र २१ करोडको भित्रिएको छ भने पौने तीन अर्बको आलु र एक अर्बको टमाटर भित्रिएको छ । नेपालमा भित्रिएको ति तरकारीमा प्रायः विषादी उल्लेख्य छ । ट्रकका ट्रक भित्रिएको ती तरकारीमा कतिखेर विषादी मापन हुन्छ यकिन छैन ।

हामी कृषि प्रधान देशका माहिर नेपाली हौं । कुनै बेला फर्सी गाईगोरु र घरपालुवा बंगुरलाई पकाएर दिने चलन थियो तर हिजोआज त्यही फर्सी हाम्रा लागि गुण उपयोगी तरकारी बालीमा पर्छ । जहाँ पनि जस्तो अवस्थामा पनि फल्ने फर्सी यो वर्षमात्र २१ करोडको भित्रियो भनेर काँकरभिट्टा प्लान्तक्वारेन्टिन कार्यालयले तथ्याङ्क दिएको छ । अन्य टमाटर, प्याज, लसुन र आलुको कुरा नै नगरौं । यी सबै किनेर बाँच्नु पर्ने अवस्था छ भने नेपाल कहिले तरकारीबाट आत्मानिर्भर रहन्छ त ?

हुन त नेपाली किसानहरु मिहेनती नै छन् । परम्परागत खेती गर्ने परिपाटीबाट उठ्न नसक्दा दुःख पाएका हुन कि भन्ने भनाई छ । राज्यको सम्बन्धित निकायले तरकारी उत्पादनमा एक वडा एक कार्यालय स्थापना गरी अगाडि बढेको खण्डमा तरकारी उत्पादन गरी आत्मानिर्भर हुन सक्ने अवस्था छ । तर, स्थानीय पालिकाले धान, मकै बाहेक अरुमा रुची देखाएको पाइदैन । अर्जुनधाराकै हकमा यसअघि विदेशी दातृ निकायले सब्जीमा प्रयोग गरिने उपकरण तथा विउविजन प्रदान गरेपछि नगरका कृषकहरुले गरेको मिहेनतपछिको उत्पादन उदाहरणीय थियो । त्यसलाई नगरले सुक्ष्म रुपमा अध्ययन गरेर अझ उत्प्रेरणा भर्ने काम गरेको भए अझ राम्रो हुने थियो । तर, त्यसो नगरिदा आजभोली १२० रुपैयाँ केजीको टमाटर खान बाध्य छौं, त्यो पनि भारतकै भरमा ।