सिचाईं नहुँदा दुइ हजार विघाह धान खेतमा खडेरी « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

सिचाईं नहुँदा दुइ हजार विघाह धान खेतमा खडेरी


यलम्वर टाइम्स
१ आश्विन २०८१, मंगलवार १०:४१

अर्जुनधारा । अर्जुनधारा–७ र ४ लाई सिचाईंमा सहयोग पुग्ने चौरासी विघे पैनीलाई बाढीले भत्काइ दिएपछि करिब दुइ हजार विघाहमा सिचाईं समस्या भएको छ ।

धान पोटाउँदै गरेको बेला पानी आवश्यक हुन्छ तर पानी नहुँदा धान बोटमै मर्न थालेको चौरासी विघे पैनीका अध्यक्ष तारानिधि भट्टराईले बताए ।

‘गत श्रावणको भेलले मुहान नै भत्काइ दिएपछि बाराबेरा गरेर पानी उठायौं । दोस्रो भेलले अझ ठूलो क्षति गरेपछि वडा नं. ७ रमाइलोबस्ती पौडेल चोक र जरुवाबस्तीका धानखेतीलाई समस्या आएको हो’ अध्यक्ष भट्टराईले भने ।

धानमा पानी लगाएपछि मल लगाउने चलन छ तर, मल पर्याप्त भए पनि पानी नहुँदा किसानहरु समस्यामा परेको बताए । दुइ हजार विघाहमा ८, ९ हजार मानिस आश्रित छन् । धान पोटाउने बेलामा भएन भने खाद्यमा समस्या आउनुका साथै खडेरीले सबै बोटविरुवा नष्ट हुने पनि उनले बताए ।

‘पानी उठाउन र नहर बनाउन नगरपालिकाले ४० वटा जाली दिएको तर ढुंगा, गिट्टी र श्रमिकलाई दिने खर्च नभएकै कारण स्थानीय सरकार प्रमुखले अवलोकन गर्दै पानी उठाइदिए हामी बाँच्ने थियौं’ सदस्य रामबहादुर गजमेरले भने ।

चौरासी बिघे पैनीमा पटक–पटक बजेट परे पनि दिगो नहर निर्माण नहुँदा समिति तथा कृषकहरुले सरकारसँग धाइराख्नुपर्नेको अन्त्यका लागि नगर प्रमुख बलदेवसिंह गोम्देन, वडाध्यक्ष गोविन्द खतिवडाले अवलोकन गरी दिगो निर्माणमा टेवा पु¥याउन सके रमाइलो बस्तीका जनता हरियाली भएर बाँच्ने थिए, अध्यक्ष भट्टराईले बताए ।