सेनानीको खोजी कार्यमा छौंः सिटौला « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

सेनानीको खोजी कार्यमा छौंः सिटौला


यलम्वर टाइम्स
२३ आश्विन २०८१, बुधबार ०६:२३

अर्जुनधारा । नेपाल प्रजातान्त्रीक सेनानी संघ, झापाले २००३ सालदेखि ०४३ सालसम्म परिवर्तनका लागि लड्ने नेपाली कांग्रेस पार्टीका योद्धाहरुलाई खोज्ने काम गरेको छ ।

त्यसो त पार्टीले पहिलादेखिनै त्यस्ता योद्धाहरुलाई खोज्दै संलग्न गर्दै आएतापनि अहिले भने ती योद्धाहरुको अभिलेख राख्दै उहाँहरुकै घरमा पुगेर सम्मान गर्न लागिएको अध्यक्ष सिटौलाले बताए ।

२०३३ सालदेखि नेपाली कांग्रेसमा रहेर विभिन्न संगठनका जिम्मेवारी सम्हालिसकेका सिटौला केहिदिन अघि सेनानी संघ, झापा अध्यक्ष भएपछि योद्धाहरुको खोजीसँगै सम्मान गर्ने कार्यमा जुटेका हुन् ।

पहिलो पटक मेचीपुल बन्नुपर्छ भनेर रकम संकलन गरी त्यसबेला सरकारलाई बुझाउने योद्धा याम भण्डारीलाई मेची पुलमै लगेर सम्मान गर्दा नेपाल प्रजातान्त्रीक सेनानी संघको प्रशंसा भएको उनले सुनाए ।

सेनानी संघमा १ सय ५० जना संगठित देखिएतापनि झापामा ५ सयभन्दा बढी रहेको र प्रजातन्त्रका लागि लड्न सिकाउने वयवृद्ध योद्धाहरुको वास्ता नगर्ने परिपाटीको विकास भएको हुँदा त्यस्ता कांग्रेसी योद्धाहरुको खोजीमा आफू रहेको जानकारी दिए ।

२०३८ सालमा जिल्ला सदस्य, ०४२ सालमा पार्टीले चालेको सत्याग्रहमा पक्राउ परी जेल जीवन बिताएको र ०४५ सालमा पार्टी महारथी गिरीजाप्रसाद कोईरालाले जिल्ला सदस्य बनाएपछि गाउँबस्तीमा कांग्रेसी झण्डा बोकेर प्रशिक्षण दिंदै हिडेको स्मरण गर्दै २०५४–०५५ मा सुकुम्बासी आयोगको अध्यक्ष भएर जनतालाई धेरै लालपूर्जा बितरण गरेको बताए ।

उनले अगाडि भने, ‘नेता, कार्यकर्ता एक भएर पार्टीको विधान र नीति अनुसार अगाडि बढ्दै गुटबन्दि त्याग्न सके कांग्रेस पुरानै विरासतमा फर्कने थियो ।’ अध्यक्ष सिटौलाले देशमा गरिब दुःखी जनताका लागि नेपाली कांग्रेस पार्टी बाहेक अरुले न्याय दिन नसक्ने पनि दावी गरे ।

झापा अर्जुनधारा निवासी सिटौला उत्तरी क्षेत्रका लागि कांग्रेसका एक वफादार सिपाही हुन् । अविचलित रुपमा कांग्रेसमा रहेर काम गर्दै आएका सिटौला भन्छन्, ‘युवा जनशक्ति वैदेशिक रोजगारमा पलायन हुँदा देशलाई ठूलो घाटा भईरहेको छ ।’