कविताः दशैं « Yalambar Times
२० चैत्र २०८१, बिहीबार

कविताः दशैं


यलम्वर टाइम्स
२५ आश्विन २०८१, शुक्रबार ११:२३

[लक्ष्मी रिजाल (प्रअ, लक्ष्मी मावि)]

रातो माटो, कमेरो लिन सकस कुनै छैन त्यस्तो चटारो
लिप्ने पोत्नेहरूको छटपट गतिको छैन उस्तो हतारो
बाटो खन्ने र फाँड्ने प्रचलन सकियो गाउँ देखिन्छ थारो
डामेको गोरु जस्तै किन किन दुनियाँ खै हरायो तगारो ।

पाटा या बाबियाको सबल प्रविधिको छैन ठूलो लठारो
अग्ला लिङ्गाहरुमा झुमिकन पिङमा झुल्न लाग्दै छ गारो
उक्कालीमा हिँडेका युवक र युवती देखिएनन् पछाडि
उड्दै छन् गाउँ बस्ती दिनदिन अहिले शून्यदेखि अगाडि ।

डाँडाको जूनजस्तै शिथिल मनहरू गाउँमा छन् बसेका
काँडा छाती बनाई प्रियजन नहुँदा आँसुमा छन् फँसेका
छोराछोरी बुहारी भतिज भतिजीको रम्य सन्सार हाम्रो
लाग्थ्यो आहा दशैँको जमघट, अहिले पर्व लाग्दैछ दाम्रो ।

अग्ला डाँडा लछार्दै शिखर शिखरमा कच्ची बाटा पुगेछन्
चौतारी भत्किएछन् वरपिपलहरु फाँडिई मासिएछन्
गुन्जिन्नन् मालश्रीका धुन सब घुनले खाई खोक्रो बनायो
हाक्पारे, सोरठीको लय मलिन हुँदा यो दशैं छट्पटायो

छानोमा घाँस उम्री सबतिर अहिले गाउँ बन्दै छ खाली
माटो बेचेर मान्छे सलहसरि उड्यो हाँस्छु पिट्दै म ताली
यौटै नीरो भए पो विजय दशमीको पर्वले छास्न सक्छ
जम्मै नीरो बनेछन् अनि मुलुक यो के गरी हाँस्न सक्छ ?

भन्छिन् नेपाल आमा विजय दशमका देवता देवी काली
चन्डे मुन्डे र भ्रष्टे मिलिकन मुटुमा रोप्दछन् शूल खाली
सक्छौ आओ बचाओ सबजग भरकी उर्वशी अप्सरा हुँ
सक्दैनौ झट्ट जाओ किचकिच नगरी मातृका उर्वरा हुँ ।

मेरा सन्तान धेरै तरतर पसिना काढ्दछन् रातप्रातः
केहीले मोज गर्दा श्रमिकजन सधैँ बस्दछन् खाली हात
भन्छिन् नेपाल आमा रजगज मुखिया बाज जस्तै मदेख्छु
ढोग्दै नेपाललाई विजय दशम सधैँ मुस्कुराओस् म लेख्छु