सन्दकपुरले मलाई बोलाउँदा (यात्रा संस्मरण) « Yalambar Times
६ कार्तिक २०८१, मंगलवार

सन्दकपुरले मलाई बोलाउँदा (यात्रा संस्मरण)


यलम्वर टाइम्स
५ कार्तिक २०८१, सोमबार ११:२२

[राजन साम्पाङ]

‘भाइ ! नेपालको दृश्य देखाएर भारतले डलर कमाउने ठाउँ हो सन्दकपुर’ हामीसँगै यात्रामा रहेका मिलन अधिकारी दाइले भन्दै थिए । सन्दकपुरसम्मको यात्रामा निस्किएका हामी उनैलाई पछ्याउँदै थियौं । पाँचथर पञ्चमुखी घर भएका मिलन दाइ पहिले पनि सन्दकपुर पुगिसकेका थिए । हामी भने पहिलो पटक जाँदै थियौं । साच्चै भन्नुपर्दा सन्दकपुर अरूका लागि के थियो थाहा भएन तर, हाम्रो लागि भने नितान्त कुमारी गन्तव्य थियो । यसअघि मैले सन्दकपुरको नाम भने नसुनेको हैन तर, त्यहाँ पुगेर प्रत्यक्ष प्रकृतिसँग रम्ने अवसर चाहिँ जुरेको थिएन । यात्राका दौरान उच्च पहाडी क्षेत्र, चिसो चिसो मौसम र हिमालका सुन्दर दृश्यहरूले हामीलाई लोभ्याइरहेको थियो ।

आजभन्दा २ वर्षअघि दशैंको छुट्टीको सदुपयोग गर्दै मसहित प्रदिप ढकाल, भवानी धिमाल र सुमन राई सन्दकपुरतर्फ हुईकिएका थियौं । केही महिनाअघि मात्र आफ्नी ममतामयी आमा गुमाएका काठमाण्डौ निवासी साथी प्रदिप ढकाल पूर्व आएपछि सन्दकपुरको योजना बनेको थियो । सुरूमा श्रीअन्तु जाने भन्ने कुरा भए पनि नयाँ ठाउँ जाउ न भन्ने सल्लाह अनुसार झापा अर्जुनधाराबाट हामी चार जनाको टोलीले टीकाको पर्सी पल्ट दिउँसो १ बजे बाटो तताएको थियो । इलाम बिपल्याटेबाट जान मिल्ने भए पनि पाँचथर पञ्चमुखीमा मिलन दाइ र मिथुन भाइले हामीलाई पर्खेर बसेको हुँदा फिदिम पाँचथरको लामो बाटोलाई रोजेका थियौं । घरबाट निस्कन नै ढिलो भएकाले हामी शनिश्चरे बजारबाट जयपुर हुँदै बुधबारे जाँदै गर्दा जयपुर चोक पर्तिर प्रदिप र भवानी चढेको मोटरसाइकल अटोसँग दुर्घटनामा परेको सम्झदा झसंग हुन्छु । धन्न अप्रिय घटना चाहिँ भएन । मोटरबाइक हाकिरहेका प्रदिपको हातमा भने साधारण चोट लागेको थियो । बुधबारेमा सामान्य उपचारपछि हामी पहाड उक्लियौं । असोज महिनाको अन्तिम अन्तिम दिन भएकाले दिन छोटो रात लामो हुँदै थियो । हामी झापाबाट हिंडेका चार भाइ फिदिम पुग्दा निक्कै अध्याँरो भइसकेको थियो । करिब ८ बजेको हुनुपर्छ । अध्याँरो छिप्पी सकेकोले फिदिममै बास बस्ने निधो भयो । नेपाल थरका दाइको लजमा बस्यौं । घुम्न निस्किएका उरन्ठ्याउले केटाहरू यात्रालाई रमाईलो बनाउन अनि थाकेको ज्यानलाई सन्चो बनाउने भन्दै खुकुरी रम लिएर आए, मेरो लागि चाहिँ बदाम जुसको व्यवस्था रहेछ ।

बिहान सबेरै उठेर गन्तव्यतिर यात्रालाई निरन्तरता दिने क्रममा जोरपोखरीमा पुगेर खाजा खाएका थियौं । मैले त्यही नै हो थुक्पामा पहिलो पटक न्युटूेला खाएको । लाम्चो आकारको दुई वटा पोखरी रहेकोले त्यस ठाउँको नाम जोरपोखरी राखिएको रहेछ भन्ने सोझै अनुमान लगाउन सकिन्छ । खाजा खाएपछि जोरपोखरीको पोखरी कट्ने बित्तिकै पूर्व लाग्ने कच्ची बाटो प्रयोग गर्दै पञ्चमुखी भन्ने स्थानतर्फ लाग्यौं जहाँ मिलन दाइले हामीलाई पर्खिएका थिए ।

कच्ची बाटो, कतै हिलो, कतै सिमसिम पानी बग्ने स्थान त कतै ठूल्ठूला खाल्डा र ढुंगे बाटो पार गर्दै हामी करिब साढे १०, ११ बजे पञ्चमुखी पुगेका थियौं । दाइ त्यही हुनुहुदो रहेछ । हामीसँगको भेटपछि कपडा फेरेर आउने भन्दै उहाँ घर लाग्नु भयो भने भोकको सुरमा पुगेका हामी त्यहीकै होटलमा खाना खान बस्यौं । खाना खाइ सकेर थकाई मार्दै गर्दा दाइ र मिथुन भाइ पनि आइपुग्नु भयो । मिथुन भाइ भारत पश्चिम बंगालका रहेछन् । बाइक मेकानिक भएकाले उनी गाउँको ग्यारेजमा काम गर्न भनी आएका रहेछन् । दाइले त्यहीबाटै सन्दकपुरका नरेश मगर सरलाई फोन गरेर बस्ने प्रबन्ध मिलाउनु भयो । हामी नरेश सरकै होम स्टेमा बस्ने रहेछौं ।

झापाबाट हिंडेका हामी चार भाइ र पञ्चमुखीबाट थपिएका दुई भाइ गरि ६ जनाको टिम लक्ष्यतर्फ अगाडि बढ्यो । यात्रा वास्तवमा अब भने चाहिँ चुनौतिपूर्ण थियो । उच्च पहाडी क्षेत्र, कहि चौबिसै घण्टा पानी बगिरहने बाटो त कहि बाटोमा तेर्सिएका बढेमानका ढुंगाहरूलाई छिचोल्दै अगाडि बढ्नु हाम्रा लागि आगोको भुङ्ग्रोमाथि खाली खुट्टा टेके बराबर बन्दै थियो । त्यसमा पनि सुमनको डबल डिक्स ब्रेकवाला गाडी, पछाडिको डिक्स ब्रेक तातिएर ब्रेक फेल हुँदा गियर र अगाडिको ब्रेकले मात्र कन्टूोल गर्दै र ठाउँ ठाउँमा पानीले भिजाउँदै कुदाउदाको पीडा बेग्लै छ । त्यतिन्जेलसम्म बाइक मैले नै हाक्दै थिएँ । बिच बाटोबाट सुमनले कुदाउछु भनेपछि अब भने म ड्राइभरबाट प्यासेन्जर बने । ड्राइभर बन्दा खासै डर नलागेको मलाई प्यासेन्जर बनेर बस्दा भने खुब डर लागिरहेको थियो । सग्लै बाटोमा त सुमनले कुदाएको बाइकमा बस्न डराउने म झन त्यो त पहाडको बाटो थियो । त्यसमा पनि अफ रोड । चिप्लो बाटोको कारण चिप्लिदा बाइकले भित्ता जोत्न जोत्न खोज्दा आङ नै सिरिङ्ग बन्थ्यो । बाँकी साथीहरू भने कसरी आउँदै थिए थाहा भएन ।

केहि समयको कुदाइ पश्चात ठूल्ठूला ढुंगाहरूलाई आफ्नो छातीमा राखेर हाम्रो यात्रालाई थप असहज बनाउन तम्तयार रहेको डाँडा भेटियो । लाग्थ्यो प्रकृतिसँगको त्यो सुन्दर मिलनका लागि कहाँ सजिलै जान दिन्छु र ! भन्ने अठोटका साथ बाटो छेकिरहेको छ । त्यहाँ भने पछाडि बसेका साथीहरू ओर्लियौं । बाइक हाक्नेहरू मात्र जाने भए । सटकट डाँडा उक्लिएर जाने निर्णयपछि हामी हिड्न लागेका मात्र थियौं अलिपर पुगेको सुमनले बाइक लडायो । बाइकले थिचिरहेकोले उठ्न सकिरहेको रहेनछ । हामी हस्यौं । ‘हास्छौं मुलाहरू यहाँ आएर उठाओ’ उसले हामीलाई रिसाउँदै भन्यो । हामी गयौं र उठायौं । अब केटोले बाइक कुदाउन भने मानेन । त्यहाँबाट फेरि ड्राइभरको भूमिका पुनः निभाउनु पर्ने देखियो । तर, साथी लडेको देखेर भने म पनि भित्र भित्रै डराएको थिएँ । जसो तसो त्यो डाँडा कटाएपछि माथि बेग्लै आनन्दको ठाउँ रहेछ । राम्रो फूल काँडाको बिचमा नै हुन्छ भने जस्तै प्रकृतिको त्यो सुन्दर दृश्य हेर्न निकै नै संघर्ष गर्नुपरेको थियो । माथि चौरी गोठ, सुन्दर चौर र साना साना तर निकै आकर्षक देखिने पोखरीहरू रहेछन् । सिधा उत्तर पट्टि कञ्चनजंघा र कुम्भकर्णले एक टहकले हेर्दा केही छिन अघिको संघर्ष केही होइन जस्तो लाग्यो । हामी भाग्यमानी पनि रहेछौ, केही दिन अघिसम्म मौसम खुलेको थिएन रे ! चौरमा बिसाउने क्रममा अन्य पर्यटक लिएर आएका पिकअप चालक लुङ्गाले भन्दै थिए । राई, लिम्बू अनुहारका ती चालकलाई हामी लुङ्गाको साइनोले सम्बोधन गर्दै थियौं ।

घमाइलो मौसम लिएर स्वागत गरिरहेको इलामको सन्दकपुर पुग्न अझै सजिलो भने थिएन । एक छिनको बसाइपछि हामी त्यहाँबाट अगाडि बढ्ने निधो गर्छाै । पिकअप भने त्यहाँबाट अघि नबढ्ने ती लुङ्गाले बताए । सायद उनको अन्तिम बिन्दु त्यही थियो । चौरबाट माथि हेरें, ठाडो उकालो र साँघुरो बाटो रहेछ । कुदाउन डर लाग्यो । ‘ला गाडी कुदा’ मैले सुमनलाई भनेको थिएँ । बिचारा उ अघि नै लडेर डराइरहेको मान्छे कुदाउन मानेन । ‘तै कुदा म कुदाउदिन’ उसले ठाडै अस्विकार गरेको थियो । त्यो उकालो र साँघुरो बाटो देख्दा मैले पनि आँट गरिरहेको थिइन । अब कसरी कुदाउ त भन्ने सोच्दै थिएँ त्यतिकैमा मिलन दाइले भन्नुभयो ‘मिथुनलाई देउ भाइ राम्रो कुदाउछ ।’ त्यही अनुसार म मिथुनको पछाडि बसें भने सुमन मिलन दाइको पछाडि बस्यो । बिचबिचमा रमणीय स्थानहरूमा फोटो खिच्दै हामी अगाडि बढ्दै थियौं । केही समयको कुदाइपछि हामीले उकालो र साँघुरो बाटो काट्यौं । माथि अर्काे चौरी गोठ रहेछ । हाम्रो बाइक राख्ने ठाउँ पनि त्यही रहेछ । त्यहाँबाट करिब डेढ घण्टाको तेर्साे तेर्साे हिंडाइपछि हामी होम स्टेमा पुगेका थियौं । हामी पुग्दा साँझ पर्न लागेको थियो । इलाम, पाँचथर र भारतको सीमा क्षेत्र रहेछ सन्दकपुर । हामी भने पाँचथर जिल्लामै रहेछौ । साँझको समयमा घाम अस्ताउँदै गरेको हेर्न सकिने नरेश सरले भन्नुभयो । हामी मोवाइल, क्यामेरा लिएर घाम डुबेको हेर्न लाग्यौ । साच्चै रमाइलो देखिने रहेछ । त्यहाँबाट कुम्भकर्ण र कञ्चनजंघा नजिकै देख्न सकिने रहेछ भने सगरमाथासहित नेपाल, भारत, भुटान गरि तीन देशका हिम श्रृङ्खलाहरू हेर्न सकिने रहेछ । फोटो र भिडियोमा बाहेक चौरी गाई नदेखेका हामी पहिलो पटक चौरी गाईलाई नियाल्दै थियौं ।

बेलुका होम स्टेका सञ्चालक नरेश सरसँग केही बेर कुराकानी गर्ने अवसर जुर्याे । उहाँ शिक्षक पेशाबाट अवकाश प्राप्त हुनुहुँदो रहेछ । जागिरका दौरान झापा भद्रपुरमा रहेर अध्यापन गराएको बताउनु भयो । उहाँ श्रीमतीसहित बस्दै आउनुभएको रहेछ । उहाँकी छोरीहरू त्यही भए पनि पढाईको सिलसिलामा काठमाण्डौ बस्ने गरेको बताउनु भएको थियो । कुराकानीकै क्रममा उहाँले भारतीय सीमा सुरक्षा बलले बेलाबेला दुःख दिने गरेको सुनाउनु भएको थियो । वास्तवमा सन्दकपुर पुगेर नियाल्दा त्यस्तै भेटियो । यतिको प्राकृतिक सुन्दरता बोकेको हाम्रो देशको सौन्दर्यलाई बेचेर भारतले आम्दानी गरिरहेको महशुस भयो । हाम्रो सरकारले सन्दकपुरलाई चिनाउन नसक्दा अरूले फाईदा लुटेको सम्झिए । त्यो दिन खाना खाएर हामी सुत्यौं । भोलिपल्ट हामी १ घण्टा हिंडेर भ्यू पोइट गयौं । सूर्याेदयको रमाइलो दृश्य हेर्नका लागि हिंडेको हामी ढिलो पुग्दा छुटाएका थियौं ।

मैले सन्दकपुरमा हिउँ पर्ने कुरा नसुनेको भने होइन । तर हामी गएको समय असोज अन्तिम, कात्र्तिकको सुरु थियो । हिउँ पर्ने कुरै भएन । बिहान भ्यू टावर जाँदा तुसारोसम्म चाही भेटेका थियौं । केही बेरको बसाइपछि हामी होम स्टेतर्फ फर्कियौ । होम स्टे सञ्चालनसँगै चौरी पालन गर्दै आउनुभएका नरेश सरले छुर्पी पनि बनाउनु हुँदोरहेछ । घरका लागि चौरीको छुर्पी खरीद गर्दै पाँचथरको पनि केही स्थानहरूको अवलोकन गर्ने योजनासहित हामी बिहानको खाजा खाएर बिदा भयौं । फर्कदै गर्दा प्राङबुङमा खाना खाएर पाँचथरको मुवा झरना, साधुटार घुम्दै घर फर्कियौं ।