[स्व. नवल फाइवाली]
प्रायः नेपालका समस्त नेपालीहरुले तिहार पर्व भव्यरुपमा मनाउने दिन नजिकिदै छ । त्यसर्थ २०७१ सालको तिहार पर्वको उन्मुख समयमा यसको उत्पत्ति र विधिविधान सम्बन्धि हिन्दुधर्मावलम्वी र किराँत धर्मावलम्वी बिच किंम्वदन्ति र ऐतिहासिक घटनाहरुलाई संक्षिप्त राख्न आवश्यक ठानिन्छ । किन भने हिन्दु र लिम्बुहरुमा तिहार पर्व मनाउँदा देखिएको अनमेल परम्पराहरु बेलैमा प्रष्ट पारिएन भने जातीय पहिचानहरु भुलेर अन्योलमा परिने समय आउँदैन भन्न सकिन्न । लिम्बुहरुले तिहार पर्वलाई “बलिहाङ तङ्नाम” भनेर आफ्नो भाषामा भन्ने गरिन्छ । त्यसैले हिन्दु आख्यानहरु छोडेर लिम्बुहरुको परम्परागत आख्यानहरुलाई यहाँ संक्षिप्त राख्ने प्रयत्न गरिन्छ ।
बलिहाङ तङ्नाम (तिहार पर्व) मा हिन्दुहरुले कार्तिके औंशीको केहिदिन पहिलेदेखि नै काग तिहार, कुकुर तिहार, गाई तिहार र गोरु तिहारको नाउँमा पूजा गर्दै आएर औंशीको बेलुका लक्ष्मीको पूजा गर्ने गर्दछन् भने लिम्बुहरुले ति सबैको पूजा नगरी औंशीको बेलुका देखि तीन रातसम्म प्रत्येक घर–घर दिपावली मात्र गर्दछन् । यतिमात्र नभएर औंशीको बेलुका देखि लगातार तीन दिन तीन रातसम्म अहोरात्र पाँच–सात जनाको झोली (समूह) बनिएर गाउँघर घुम्दै नाम्रिङ्गे–लारिङ्गे (देउसी) खेल्ने गरिन्छ । यसरी नाम्लिङ्गे–लारिङ्गे खेल्दा समूह प्रमुखले घरधनीलाई सम्बोधन गर्दै बलिहाङ राजाको गुणगानहरुको बारेमा आफ्नो मन्तव्य राख्दै मिठो स्वरले नाराको रुपमा भट्टयाउँछ भने अन्य उसको साथीहरुले एउटै स्वर मिलाएर सर्मथन गर्ने सवालमा दिनमा ‘नाम्रिङ्गे’ र रातमा ‘लारिङ्गे’ भनेर कराउँने गर्दछन् ।
लिम्बु भाषामा सूर्यलाई ‘नाम’ र चन्द्रमालाई ‘ला’ भन्ने गरेको र नाम्रिङ्गे–लारिङ्गे भन्ने अवस्था अनुसार सूर्य र चन्द्रमालाई पुकार्ने परम्परा पाउँदा लिम्बुहरु साँच्चि नै चन्द्र–सूर्यको परम भक्त रहेको आभास हुन्छ । तर्सथ तिहार पर्वमा लिम्बुहरु नाम्रिङ्गे(लारिङ्गे भन्दै खेल्दछन् भने खस भाषीहरु चाहिं भट्टयाउनेको समर्थन गर्ने सवालमा खालि देउसिरे मात्र भनेर माग्ने प्रसङ्गलाई मान्यता दिन खोजिएको भान पर्दछ । यसप्रकार तिहार पर्व मनाउँने क्रममा लिम्बु परम्परामा खाली नाम्रिङ््गे–लारिङ्गे खेलेर रमाइलो गर्ने बाहेक अन्यको जस्तो भाइटिका लगाउँने, विभिन्न पशुपन्छी लगायत लक्ष्मी आदिलाई देवी देवता मानेर पूजा गर्ने प्रचलन रहेको कुनै मुन्धुमहरुमा पाइदैन । यसका साथै लिम्बु तीन राते तङसिङ अनुष्ठान अनुसार चेली माईतीहरुमा फूलटिका लगाउँनु, फूलमाला लगाईदिनु वा फूलको गुच्छाले हाना–हान गर्नु घोर अशुभ हुनेछ, भनिएको छ । यसो गरिएको खण्डमा चेली या माईती मध्ये एकको मृत्यू नै हुन्छ भन्ने व्याख्या गरिन्छ । त्यसर्थ भाइटिकाको अशुभ संकेतहरुकोबारे र बलिहाङ तङनामको बारेमा प्रचिन ऐतिहासिक घटनाहरुलाई उद्घृत गरेर ‘क’ र ‘ख’ मा विभाजन गरी संक्षिप्त रुपमा स्पष्टिकरण दिने प्रयास गरिएको छ ।
(क) बलिहाङ तङ्नामको उत्पत्ति र परिचयः
लिम्बुहरुको महापुर्खा सोधुङगेन् लेप्मुहाङद्वारा प्रतिपादित राजाको नाउँ हो बलिहाङ । त्यसैले देउसी खेल्दा हिन्दु परम्परा अनुसार बलिराजाको चर्चा गरिन्छ भने लिम्बु परम्परामा बलिहाङको चर्चा गरिन्छ । तर हिन्दुको बलिराजा र लिम्बुको बलिहाङको जीवन चरित्र मिल्दैन । तसर्थ यी बलिराजा र वलीहाङ भिन्ना–भिन्नै हुन् भनेर ठोकुवा गर्न सकिन्छ । किन भने बलिराजालाई अन्ततोगत विण्णुले कुटखेल पूर्वक पाताल भसाई भष्म पारेको थियो भने लिम्बु राजा बलिहाङ चाहीं लिम्बुहरुको कुशल राजाको रुपमा धेरै वर्षसम्म राज्य गरी दिवंगत भएर पनि उनका छोरा नातीहरुनै लिम्बुहरु हुन् भनी कथा श्रोताहरुको भनाई छ । यसका बारेमा पान्थर जिल्लाको भारपा गाउँमा जन्म भै हाल अर्जुनधारा गाविस वडा नं. २ निवासी सुवेदार श्री मणीराज इधिङगो लिम्बुको श्रोत अनुसार बलिहाङको छोरा मुक्तुरे, मुक्तुरेको छोरा तङवेहाङ, तङवेहाङको छोरा मेचेहाङ, मेचेहाङको छोरा लिप्लिहाङहरु राजा थिए भने कालन्तरमा यिनीहरुका छोरा नातिहरु नै लिम्बुहरु हुन् भनिन्छ । यसमा प्रथम राजा वलिहाङको पालामा घटेको घटनालाई लिम्बुहरुको महत्वपूर्ण आख्यानको रुपमा लिन सकिन्छ ।
प्रचिनकालमा लिम्बुवानको राजा बलिहाङ स्वयं भविष्य कालदर्शी थिए । त्यसर्थ उनले आफ्नो प्राण लिन आउने कालको समय र तिथी प्रत्यक्ष थाहा पाए । त्यो समय थियो कार्तिके औंशीको अघिल्लो दिन । अतः बलिहाङले यो समय र तिथिमा काल आएपछि आफ्नो मृत्यू हुने खबर तमाम् प्रजाहरुमा व्यापक प्रचार प्रसार गराए । देशवासी प्रजाहरु प्नि आफ्नो अति प्रजावत्सल राजाको देहान्त हुने खबर सुनेर अत्यान्त शोक ग्रस्त भए । त्यसर्थ आफ्ना प्रिय राजा बलिहाङलाई बचाउनका लागि तमाम् प्रजाहरु आफ्नो आराध्य देवी युमा माङलाई पुकार्दै अन्न पानी त्यागेर तपस्या गर्न लागे । प्रजाहरुको त्यस्तो घोर तपस्याबाट प्रभावित भएर देवी युमा माङले पनि आफ्नो दैवी शक्तिद्वारा बलिहाङको प्राण लिनु आउँने काललाई फर्काइ राजालाई बचाँई दिइन् । राजाले पनि आफू बचेको थाहा पाएपछि देशव्यापी तपस्या गरिरहेका प्रजाहरुलाई अबिलम्ब सुसूचित गराउँने निश्चय गरे । तत्कालिन अवस्थामा वर्तमान अवस्थामा जस्तो कुनै रेडियो, एफएम, समाचारपत्र एवम् सञ्चारमाध्यमहरु नभएकाले आफ्नै सेनाहरुको साना–साना ५–७ जवानको समूह बनाएर प्रजाहरु समक्ष सन्देश पु¥याउन लगाउने निधो गरे । राजाको हुकुम बमोजिम हतियार सहितका सेनाहरु पनि घर–घरमा घुम्दै नाराको रुपमा सन्देशहरु सुनाउँदै नाँच्ने उफ्रने गर्दथे । त्यसैको नक्कल अहिलेपनि देउसेहरुले ली टेक्दै आउने गरेको भनिन्छ ।
सन्देश ल्याउने टोलीको अगुवाले राजाको सन्देशहरु नाराको रुपमा सुनाउँदै जाँदा टोलीका अन्य साथीहरुले समर्थन गर्ने सवालमा दिनभरी नाम्रिङ्गे भनेका थिए भने रातभरी लारिङ्गे भन्दै स्वरमा स्वर मिलाउने गर्दथे । जस्तै अगुवाको भनाई “लुक्पा ला ग” “हिम्दाङ बा से” अनुवाद “महान घरका” “धनीहरु हो” यस प्रकारको मिठो लेग्रो तानेर भट्टयाउदा समर्थकहरुले एउटै स्वरमा नाम्रिङ्गे वा लारिङ्गे भन्दै आँगन वरिपरि घुम्दै नाँच्ने गरेको देख्दा रमाईलो नलाग्ने को होला ? यर्थाथमा बलिहाङ सन्देश अनुसार औंशी एकदिन अघिनै देहान्त हुने बलिहाङको प्राण बचेको हुँदा औंशीको बेलुका देखि तीनरातसम्म प्रत्येक घर–घर दिपावली गर्दै त्यसै दिनदेखि लगातार तीनदिन तीनरात जयजयकार मनाउँदै हर्ष बढाई गर्नु भन्ने रहेको र यसरी खेल्ने वा सन्देश पु¥याउन आउँने समुहलाई टाढाबाट आउँने सन्देश दाताहरुलाई स्वागत गर्दै फूलको माला पहिराएर चौरासी व्याञ्जनका खाना र खर्चहरु दिने गर्दथे । यो हर्ष बडाईलाई सहयोग पु¥याउने कुरामा पहिले–पहिलेका बुढापाकाहरुका अनुसार लारिङ्गे खेल्न आउने समुहले घर आँगनमा आईपुग्दा सर्वप्रथम एकफायर बन्दुक पड्काएर मात्र आफ्नो सन्देश भन्न शुरु गरेको कुराहरु बताउँछन् ।
लिम्बुवान मुलुकमा अनादिकाल देखि चल्दै आएको यस प्रकारको प्रचलनहरु देखेर पछि आएको गैर लिम्बुहरुले पनि देउसी खेलेर आर्थिक संकलन र रमाइलो गरेको अनुमान हुन्छ । लिम्बु भाषामा सूर्यलाई “नाम्” र चन्द्रमालाई “ला” भन्ने गरेको र यिनै सूर्य र चन्द्रमालाई स्मरण गर्दै साक्षीको रुपमा दिनमा सूर्य छ र रातमा चन्द्रमा छ भन्न खोजिएको भान पर्दछ । यस प्रकारले उत्पत्ति भएको नाम्रिङ्गे–लारिङ्गे (देउसी) प्रथालाई तोड्मोड् नगरि आफ्नो पहिचानलाई कायम राखेर लिम्बु भाषाबाट खेलेको खण्डमा लिम्बु अस्तित्व पनि थामिने र आर्थिक विकास पनि हुने कुरामा दुइमत ठानिदैन ।
(ख) तिहारमा भाइटिका लगाउँदा लिम्बु चेली माइतीमा हुने अशुभ संकेतहरुः
प्राचिनकालिन लिम्बुहरुको पुर्खा सोधुङ्गेन लेप्मुहाङद्वारा जनित वाजैवा नामक लिम्बूको छोरो पान्चेइङवाको एउटी श्रीमती र एउटी बहिनी गरी जम्मा तीन परिवार घरमा बस्दथे । श्रीमतीको नाउँ लिवाहाङमा र बहिनीको नाउँ फुङवानामा थियो । केही समयसम्म त यिनीहरुको सानो र सुखी परिवार राम्ररी नै चलेको थियो । सँगसँगै रहँदा बस्दा फुङवानामा र लिवाहाङमा नन्द भाउजूको आन्तरिक मनमुटावले जरा गाड्दै गयो । अन्तमा यिनीहरुको रन्का रन्कीले सिमा काट्यो । परिणाम पान्चेइङवाले उसकी बहिनी नमारेसम्म श्रीमती लिवाहाङमा घरमा नबस्ने परिन् । श्रीमतीको यस्तो जटिल प्रतिज्ञा सुनेर पान्चेइङवालाई ठूलो फसाद प¥यो । अतः आफ्नो चेली मार्नु हुन्छ कि हुन्न भन्ने खुल्दुली मेटाउने हिम्मत कसेर पान्चेइङवाले धेरै गाउँका बुढापाकाहरुसँग सोधपुछ गर्दै हिड्यो । तर कसैले पनि चेली मार्नु हुन्छ भन्ने उत्तर नदिएपछि निराश भएर फर्कनु परेको थियो । यसै क्रममा एउटा बुढा मानिसबाट परोक्षरुपमा चेली मार्न सकिने उपायको सुराक पाएपछि पान्चेइङवाले त्यसैको विधि अपनायो । विधि अनुसार पँधेरोमा आउजाउ गर्ने बाटो वरिपरि फुङवानामाले रोपेको बगैचामा फुलेको गतिलो फूल पान्चेइङवाले टिपेर त्यसै वरिपरि भौतारिदै हिड्यो । यसै अवस्थामा उसकी बहिनी फुङवानामा पानी भरेर आउँदा आफूले रोपेको फूल टिपिएको देखेर “यो मेरो फुल कसले टिप्यो” भनेर आपत्ति जनाइन् । यसै अवसरमा पान्चेइङवाले “यो एउटा फूल मैले टिपेको देख्न सकेनस् ला तेरो फूल” भनेर आफ्नो बहिनीलाई लाग्ने गरि हानीदियो । दुर्भाग्यबश त्यसै दिनदेखि फूङवानामालाई व्यथा लाग्यो र विस्तार–विस्तार रोगिएर पान्चेइङवाको बहिनी दिवाङ्गत भइन् । यसको वृतान्त्त कथा लिम्बुहरुको तीनराते तङसिङ मुन्धुममा व्याख्या भएको पाइन्छ ।
लिवाहाङमाको कपटी विचारको कारणबाट फुङवानामाको दुखद् मृत्यूलाई स्मरण गरी लिम्बुहरुले किशोर अवस्थाको चेलीमाइतीमा अनावश्यक शारीरिक स्पर्श समेत गर्न नहुने र फुलटिका, फूलमाला लगाउनु र फूलको थुङ्गाले हाना–हान गर्नु समेत सक्त मनाही गरेको लिम्बु आख्यानहरुले उल्लेख गरेको छ । कसै चेलीमाइतीले यसको अवज्ञा गरेको खण्डमा घोर अशुभ भएर बज्रले हान्नुका साथै चेली र माइती मध्ये एकको मृत्यु नै हुन्छ भनि व्याख्या गरेको छ । त्यसैले चेलीमाइतीले ढोगभेट गर्दा पनि २–३ फिटको फरकबाट चेली बहिनी भए दाजुलाई ढोग गर्दैछु भनेर निहुरिने र माइती भाई भए दिदी ढोग गर्दैछु भनेर पहिला निहुरिएपछि अलग रुपमा दोहोरो ढोगभेट गर्दै आएको परम्परा यद्यपी छदैछ । यसर्थ लिम्बुहरुको यसप्रकारको वैज्ञानिक र समसामयिक परम्परालाई बिर्सेर अर्काको होरेमा लाग्नु भनेको कदाचित राम्रो होइन । यसो भन्दा भन्दै पनि हिजो आज प्रायः लिम्बु चेली माइतीले पनि भाइटिका लगाउनु, खानापिना खुवाउन थालेका छन् । यो माइतीलाई खानपिन गराउँन र चेलीलाई दानक्षिणा दिन उचितै होला । तर फूलटिका र फूलमाला लगाउने प्रसंगमा चाँही विचार नपु¥याएको अवस्थामा अशुभ संकेतको परिणाम लिम्बूले नभोगेर कसले भोग्नु पर्ने हो ? सबै लिम्बुले विचार गरौं । (स्व. फाइवलकीको यो लेख समय सान्दर्भीक भएकाले पुनः प्रकाशन गरेका हौं ।)