बिराटनगर । मंसीर २ गते बिराटनगरमा भएको पहिचान पक्षधरको सभामा उपस्थित वक्ताहरुले लोकतान्त्रिक गणतन्त्रको पहिलो खम्बा पहिचान भएको हुँदा जनताले चाहेको र खोजेको पहिचान कसैले रोक्न नसक्ने बताएका छन् ।
दोस्रो चरणको पहिलो खबरदारी सभामा प्रदेश–१ को नाम कोशी हुन नसक्ने अडान राक्दै त्यसको नाम संशोधन हुनुपर्ने बताए ।
२०७२ को संविधानले पहिचान नेपाली जनताको आधार भएको स्पष्ट उल्लेख गरे पनि बहुमतको आढमा एक पक्षीय ढंगबाट नश्लीयत चरित्र देखाएर जबरजस्ती कोशी राखिएको भन्दै त्यसको विरोधमा जनलहर उत्रदै जाने बताए ।
सभामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले माओवादी पार्टी पहिचान पक्षमा हिजो पनि भएको र आज पनि पहिचानको पक्षमा रहेको बताएकी थिइन् ।
प्रदेश राजधानी बिराटनगरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उपाध्यक्ष भुसालले जनताले चाहेको पहिचान दिलाउन माओवादी पछि नहट्ने बताउँदै पहिचान पक्षमा सधैव उभिन आग्रह गरिन् ।
उनले सामन्ती राज्य सत्ताले जनताको अधिकार खोस्दै आएको बताउँदै खबरदारी गर्न जरुरी रहेको बताइन् । ‘दश वर्षे जनयुद्धको माग पनि जनताले चाहेको अधिकार र पूर्ण समता थियो । हामी पूर्ण समानुपातिक र धर्म निरपेक्षतामा थियौं ।’ उपाध्यक्ष भुसालले भनिन्, ‘यो एजेण्डामा मुलुकलाई लैजान खोज्दा एमाले, कांग्रेस बाधक भयो ।’ उनले पहिचानको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यबद्धता रहेको थपिन् ।
मधेसवादी नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले पहिचान पक्ष र विरोधी बीच कित्ता छुट्याएर अगाडि बढ्नुपर्ने बताए ।
उनले ब्राम्हणवादी सत्ताको जगबाट कोशी प्रदेश नाम राखेको हुँदा हामी त्यसलाई स्वीकार्न नसक्ने बताउँदै पहिचानको आधारमा राज्यको नाम राखिनुपर्ने बताए ।
पूर्व मुख्यमन्त्री तथा नेकपा एसका उपमहासचिव राजेन्द्रकुमार राईले पहिचान पक्षमा रहँदारहँदै बहुमतको आधारमा कोशी नाम राख्न सफल भए पूर्वका जनता त्यसको विपक्षमा रहेको बताए ।
उनले आम जनताको भावनालाई कुल्चिएर सल्लाह, सुझाव नै नगरी एक पक्षीय रुपमा कोशी नाम राखिएको हुँदा स्वास रहुन्जेल पहिचानको पक्षमा रहने बताए । उपमहासचिव राईले आफ्नो पार्टी कोशी पक्षमा उभिए पार्टी नै छाड्ने भनाइ राखेका थिए ।
सभामा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुती, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देन, चुम्लुङका अध्यक्ष प्रेम एक्तेन लगायतको उपस्थिति थियो ।
सभामा डकेन्द्रसिंह थेगिमले ९ बुँदे आन्दोलनको घोषणा वाचन गर्दै पूर्वबाट सुरु भएको पहिचान आन्दोलन पश्चिम महाकालीसम्म पुग्ने बताए ।
प्रदेशको नाम कोशी खारेज गर, पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कन गर, साम्प्रदायिक सद्भाव मजबुद पारौं, भ्रष्टाचारीलाई कारवाही गर, राज्य आतंक बन्द गर, मुकुम्लुङमा केबलकार खारेज गर भन्ने नारा लगाउँदै बिरेन्द चोकमा भएको कोणसभाको सञ्चालन यायोक्खा महासचिव भीम राई, उपमहासचिव अर्जुन जम्नेलीले गरेका थिए ।
आन्दोलनमा एमाले, कांग्रेस पार्टीका केही जनजाति नेताहरुको उपस्थिति रहेको थियो । आफ्नो पार्टीले पहिचान नस्वीकारे पार्टी परिवर्तन गर्ने जस्ता भनाई व्यक्त गरेका थिए ।