[दिपीन राई]
गाउँमा साथीहरुले ठूला आवाजमा बुलेट बाइक कुदाएको दृश्य देख्दा कबिरमानलाई पनि खुब रहर चल्छ । पैत्रिक सम्पत्ति केही भए पनि बाबाआमा पुरातनवादी सोच भएको हुँदा निरासको बाटो बाहेक अर्को कुनै विकल्प थिएन कबिरमानलाई ।
उनको घरमा सानो दोकान पनि छ । त्यो दोकानलाई ठूलो बनाउने प्रयास पनि गर्छन् तर, घरको हर्ताकर्ता नभएपछि दोकान सञ्चालन गर्ने तौरतरिका उनको अभिभावकमै जान्छ । पहिले एसएलसी दिएका जो कोहीलाई पढे लेखेका भन्थे । गाउँ नै रमाइलो हुन्थ्यो कबिरमानले १२ पास गर्दा पनि कसैले पढेलेखेका युवा भनेर प्रशंसा गर्दैन थिए । गाउँमा १२ पास गर्नेहरुको संख्या बढ्दै गएपछि कबिरमानको १२ पासको कुनै अर्थ रहेन । जागिर पाइन्छ कि ? कतै काम भेटिन्छ कि ? भनेर ठूला दलका युवाहरुसँग रात दिउँसो खुब लस्करीएर कुदे । ती सहेलीहरु पनि त्यति धेरै पढे लेखेका त होइनन् ! रै पनि ठूला नेताका कारिन्दार भएकाले उनीहरु ढाँटी खानेसम्म भए । यता कबिरमानलाई कुदाए मात्र गरी खाने बाटोमा भने पु¥याएनन् । गाउँबस्ती तिर सामान्य परिवारको प्रगति र आफ्नो अवस्था जहीको त्यही भएपछि कबिरमानलाई सम्पत्ति कसरी आर्जन गर्न सकिन्छ भन्ने चिन्ताले पिरोल्न थाल्यो ।
बढ्दो उमेर कमजोर आर्थिक गतिविधिले वैदेशिक रोजगारको बाटो समात्न बाहेक अर्को विकल्प थिएन । गाउँका देशी–परदेशीहरुले ठूला ठूला महल ठड्याएको देख्दा उनलाई अझ औडाह भएर आउँछ । स्वदेशमा नै केही गरौं भन्ने मनसायले अगाडि बढेका कबिरमानले अन्ततोगत्वा उच्च शिक्षा हासिल गर्न वैदेशिक शिक्षाको नाममा विदेश लागेको सपना देख्न पुग्छन् । परदेश लाग्न अघि उनले सपनामा कहिले अमेरिकाको राष्ट्रपतिसँग, कहिले कोरियाका राष्ट्रपतिसँग हात मिलाएको देख्छन् । त्यसरी नै कहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गफिदै गरेको देख्छन् । मान्छे सानै भए पनि ठूल्ठूला मान्छेसँग संगत गरेको देख्दा एक दिन ठूलो मान्छे भइन्छ कि क्या हो भन्ने अहम्ता बढ्न थाल्छ । नभन्दै उनको यात्रा सपनाभित्रै कोरियामा सुरू हुन्छ । धेरै पढौंला उतै जागिर खाउला फर्केर आएपछि ठूला महल बनाउला र बुलेट बाइक पनि किनौला भन्ने सपनासँगै स्वदेश छाड्न पुग्छन् ।
उनी कोरियाको ठूलो शहर राजधानी सउलमा अध्ययन गर्न पुग्छन् । समय समयमा काम रोज्दै जादा एक हुल एउटा गाडीमा अर्काे हुल अर्काे गाडीमा कोचिएर कृषि काम गर्न कोरियाको गाउँबस्तीमा लगिन्छ कबिरमान पनि त्यसैमा जान्छन् । हलो नजोतेका, घाममा काम गर्न ननिस्किएका र मिहेनत के हो ? भन्ने नजानेका, ठूला आकंक्षा बोकेर विदेशिएका थुप्रै नेपाली विद्यार्थी श्रम गर्दा रूदै काम गरेको दृश्यले कबिरमान पनि आँखा भरी आशु झार्दै श्रममा खटिन्छ । विद्यार्थी भिसाबाट कोरिया अध्ययनमा पुगेका जो कोहीको परिणाम पीडा र दुःख नै हुन्छ ।
कोरिया मिहेनती मानवहरू बस्ने देश रहेछ भनेर कबिरमानले सम्झदै काम गर्छ । कहिले बंगुर नछोएको, कहिले गाईको मासु नखाएको, कहिले १२ घण्टा काम नगरेको कबिरमानहरूको अध्ययन पेशाभन्दा पनि कृषि काममा नै बढी खटिएपछि आफ्नो मातृ भूमि देशलाई सम्झन छन् । एक दिन अर्काे शहर घुम्न जाँदा ६५ वर्षीय महिलाले गाडी कुदाएको दृश्य देख्छन् । कल्पना गर्छन्, हाम्रो नेपालमा त ६५ वर्षीय आमाहरू आइया.. आइया… भन्दै घरैमा आराम गरेको पाइन्छ ।
अर्काे महिना श्रमको लागि गाउँ पस्दा ७०–७५ वर्षीया वृद्धहरू कुटो कोदालो बोकेर प्याज, लसुन, गोड्दै गरेको देख्छन् । त्यति खेर पनि कल्पना गर्छन् कबिरमानले, हाम्रो देशमा त ७० वर्ष पुग्दा बाजेहरू लौरो टेक्दै वृद्ध भत्ता थाप्न बैंक तिर धाउछन् । यसरी नै अर्काे महिना श्रम गर्नकै लागि अर्काे गाउँ पुग्छन्, त्यहाँ पनि १८ देखि २५ वर्षका युवाहरू बंगुर फारममा खुब मिहेनत गरेको देख्छन् । पुरूषहरूमात्र होइन महिलाहरू पनि टाउकोमा टोपी भिरेर घाममा गहुँ, मकैको काम गर्दै गरेको देख्छन् । दिउँसोको समयमा कोही घरमा आराम गर्दैनन् । घाम–पानी नभनीकन मिहेनत गरेको दृश्यले यहाँ त पढाइ भन्दा पनि काम र मिहेनत ठूलो रहेछ भन्ने ज्ञान कबिरमानलाई पर्छ ।
अध्ययन गर्न पुगेका कबिरमानले यतिको श्रम मेरो देशमा गर्न सके भने नेपाल देश संसारकै धनी मुलुकको सूचिमा पुग्छ । उनले यो पनि सुनेको हुन्छन्, आजभन्दा ४०–४५ वर्षअघि नेपालले कोरियालाई खाद्य सामग्री सहयोग गरेको थियो रे । आज यसरी खाद्य सहयोग गर्ने देशका जनता किन कोरियामा श्रम गर्न आइपुग्यौं त ? के नेपाली राजनीतिले नेपाललाई अल्छे बनाएको हो ? अध्ययन गरेर कोठामा आराम गर्न आइपुगेका कबिरमान भावुक हुँदै नेपाली राजनैतिक दलप्रति एकछिन खनिन्छन् । उनले कल्पना गर्छन् विदेशमा गएर श्रम गरी पैसा पठाएको रकमले परिवार अल्छे हुँदै गएको छ हाम्रो समाजमा । त्यही पैसाले मिठो मसिनो खाँदै आमाबुबाहरु आराम गर्दा ६०–६५ वर्षमै रोगले थलिएको पाइन्छ । विदेशीएका छोराछोरीहरु फर्केर आउँदा उनको पनि स्वास्थ्य खराब हुँदै जान्छ । यता आमाबुबा को त कुरै छाडौं ।
बैंस छदा विदेशलाई राम्रो बनाउने, उमेर पुग्दै जाँदा स्वदेशमा औषधी खाने रकम नहुने अवस्था रहन सक्ने कबिरमानलाई लाग्छ । सपनाभित्रै मस्त निन्द्रामै उनले नेपालका प्रधानमन्त्रीलाई भेटेको देख्छन् । ठूल्ठूला नेताहरुसँग हात मिलाउँदै आफ्नो भनाई राखेको हुन्छन् । सपनामै प्रधानमन्त्रीलाई कबिरमानले भन्छन्, ‘प्रधानमन्त्री ज्यू, स्वदेशमा नै युवाहरुलाई रोजगार दिन नसक्नु हाम्रो देशको कमजोरी हो ? कम्तिमा कुन–कुन देशमा कति नेपालीहरु श्रम गर्न विदेशीएका छन्, त्यही–त्यही देशका नेपालीले स्वदेशमा रकम पठाएको रकममध्ये २० प्रतिशत उनकै नाममा सुरक्षित हुने नीति बनाउदै त्यो रकमबाट उनीहरु फर्केर आउँदा एउटा उत्पादनमुखी फ्याक्ट्रिको मालिक हुन सक्यो भने स्वदेश फर्केर उसले मिहेनत गथ्र्यो होला र स्वदेशमा नै अरु युवाहरुलाई रोजगार दिइन्थ्यो होला ।
म पनि स्वदेशमा नै ठूलो महल बनाएर भने जस्तै बुलेट वाइक कुदाउथे । बुलेट स्टार्ट गर्न खोज्दा कबिरमान खटियाबाट लड्न पुग्छन् र झस्याङ्ग बिउँझिन्छन् ।