‘झापाबाटै समाजवादी क्रान्ति सफल हुन्छ’ « Yalambar Times
२० पुष २०८१, शनिबार

‘झापाबाटै समाजवादी क्रान्ति सफल हुन्छ’


यलम्वर टाइम्स
१३ पुष २०८१, शनिबार ०४:४३

गौरीगञ्ज । जनताले दिएको मतलाई पूर्ण सम्मान गर्न नसक्दा पछि पर्दै गएको नेकपा माओवादी केन्द्रले अब जनताका माग र चाहना बमोजिम काम गर्दै झापाबाटै समाजवादी क्रान्तिको बिजारोपण गर्ने बताएका छन् ।

झापाको गौरीगञ्ज वाणिज्य भवनमा आयोजित पार्टी नेताहरुको उपस्थितिमा पार्टीका उपमहासचिव हरिबोल गजुरेल ‘शितल’ले झापाली जनताले गरेको माया र यहाँका जनताले चाहेको चाहना पुरा नगर्दै पश्चिम रोल्पा र रुकुम तिर अल्मलिएको कारण झापा पछि परेको स्वीकारे ।

उपमहासचिव गजुरेलले पूर्वलाई पछाडि पार्दा आफू पार्टी अध्यक्ष प्रचण्डसँग बिमती राखेको र धेरै पटक भनाभन भएको पनि कार्यकर्ताहरुलाई सुनाए ।

गजुरेलले अगाडि भने, ‘हिजोको विरासत फर्काउन पार्टी केन्द्रीय समिति लाग्छ तपाईहरु एक भएर जनतासम्म पुग्नुहोस् ।’ हिजोको दम्भ र घमण्ड साँची राख्नुभयो भने तपाई नेताहरु पनि सिद्धिने र कार्यकर्ताबाट पनि पछि पर्ने कुरा प्रस्टाए ।

प्रमुख अतिथि समेत रहेका गजुरेलले सासु र ज्वाईको रोचक कथा सुनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरुलाई अगाडि बढ्न अनुरोध गरे । गजुरेलले स्थानीय निर्वाचनको सवालमा जनताले दिएको माया अथाह छ । झापामा नै नवप्रवेशी र शुभचिन्तकहरुको माया बढ्दै गएको छ । अब समाजवादी क्रान्ति पूर्वबाट उदाउनै पनि लागेको बताए ।

पार्टी केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामीको सभापतित्वमा भएको छलफलमा संविधानसभा सदस्य धर्मशिला चापागाईं, केन्द्रीय सदस्यहरु रञ्जीत तामाङ, हरिकुमार राना, सरु न्यौपाने, ज्योतिसिंह दर्लामी, पूर्व माननीय मोहन टुडु, प्रदेश १ उपाध्यक्ष विजय साम्पाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टी नेता सीपी कडरियाले प्रदेशको निर्णय पढेर सुनाएका थिए ।

कार्यक्रम सञ्चालन जिल्ला संयोजक राजु आचार्य ‘अग्नी’ले गरेका थिए ।