[सन्तोष नेम्वाङ (इटबुङ्गे साइला)]
छिमेकीको छोरीको विवाहको रमझम चलिरहेको थियो । बेहुली श्रृङ्गारिएर भित्रबाहिर कुदिरहेकी थिइन् । ‘बेहुली भएर यसरी दौडने हो ? आजको दिन त खुब श्रृङ्गारिएर बेहुलाको प्रतिक्षामा पो बस्नुपर्छ त’ सुन्ने जति सबै हाँसे । बेहुली लाजले भुतुक्कै हुँदै कोठाभित्र दौडिएर पसी । बाजाको चर्को स्वरले गाउँ नै गुञ्जयमान भइरहेको थियो । कोही आफ्नो तालमा एकनास नाचिरहेका थिए । सायद सोमरस चढेर होला, तर मलाई चाहिँ चर्को आवाजले दिक्क लागेर आइरहेको थियो । यद्यपी आफ्नो घरको बरण्डामा बसेर बिहेको चहलपहल एकनासले हेरिरहे ।
बिहे घरका आफन्तहरु रङ्गीचङ्गी कपडा लगाएर अनुहारमा पोत्नसम्म श्रृङ्गार पोतेर गहनाले झरिझट्ट भएर फुरुङ्ग हुँदै यताउता दौडिरहेका थिए । सायद जन्ती आउने खबर आएर हो दौडधुपको आकार बढेको देखें । थोरै परिचित र धेरै अपरिचित अनुहारहरु थिए । केही बेरमा जन्तीको लस्कर आइपुग्यो । त्यसपछिका विवाहका क्रियाकलापहरु रित अनुसार चलिरह्यो ।
‘बुबा एकक्षण यता आउनु अरे’ छोरीले मलाई बोलाएको आवाजले म झस्किएँ । बिहेको रौनक छाडेर कोठातर्फ लागें । भित्र कोठामा परिचित अनुहार जस्तो लाग्ने एक अपरिचित महिलाको उपस्थिति देखें । छेवैमा अन्दाजी ६–७ वर्षकी सानी नानी पनि देखें । म असमञ्जसमा ढोका नेर उभिएँ । उनीले मलाई देखेर फिस्स हाँसी अनि सानी नानीलाई सिकाउँदै नमस्कार गरी । उसको हसाइ देखेर झस्स एउटा पुरानो अनुहारको याद आयो । तर पनि अपरिचित झैं नमस्कार फर्काउँदै कुनाको एउटा कुर्सीमा बसें ।
‘सायद मलाई चिन्नु भएन होला ? हुन पनि यतिका वर्षपछि देख्दा अचानक कहाँ याद आउँछ र ! म सानु… ।’ मैले पहिला नै ठम्याएको अनुहार रहेछ । मलाई केही असजिलो आभाष भयो । आफू बसेको कुर्सी केही घुमाएर सीधा बस्दै बोले ‘ए… आज कताबाट ?’
‘ति बेहुलीकी आमा मेरी फुपु हुन् । बिहेमा निम्तो आएको थियो । हिजा आउन नपाएकोले आज आएको । तपाईलाई अघिदेखि त्यही बरण्डामा देखे अनि फुपुलाई सोध्दा तपाईको घर यही हो भनेपछि भेट्न आएको ।’
‘अनि यतिका वर्षपछि देख्दा पनि चिन्यौं ?’
‘किन नचिन्नु र ? सबै मानिसलाई त होइन कसैकसैलाई कहाँ भूल्न सकिन्छ र । तर तपाईले त भूलिसक्नु भएको होला नि ?’
‘भूल्न त कहाँ सकिन्छ र, तर पनि भूल्नु पर्ने बाध्यता हुन्छ नि ! तिमीलाई अघि ने चिने जस्तो लागेको हो । ठम्याउन मात्र नसकेको हो ।’
‘अनि भन्नु त तपाईको खबर कस्तो छ ? तपाई त विदेश हिडेको त्यो दिनबाट सम्पर्क बिहीन हुनुभयो त ?’ उसले एकटक मेरो अनुहारमा हेर्दै सोधी । अनि झस्केर ढोकातर्फ नजर फर्काई । मैले बुझें उसले मेरी श्रीमतीले हाम्रो वार्तालाप सुन्यो कि भनी डराए जस्तो लाग्यो । मैले उसको मनसाय बुझें तर पनि केही प्रतिक्रिया जनाइन ।
‘हाल खबर त यस्तै हो । जीवन यात्रामा कति साथी भेटिन्छन् कति साथ छुट्छ । हिजो सँगै जीवन जीउने साथीहरु सधै साथमा रहने हुँदैन रहेछ । दैवले जुराएका अर्धाङ्गीनी पनि दैवको खेलको पासामा पर्नेरहेछ । जन्मे एक्लै आजको यो उमेरको उत्तरार्धमा पनि एउटी छोरीको साथ जीवन डोहोर्याइरहेको छु । अब त लाग्छ आफ्नो अस्तीत्व हराएर अस्तीत्व बिहीन भएको छु ।’
‘ला हो र ? मुटुमा कति चोट लिएर बाँचिरहनु भएको रहेछ । अनि भाउजुको याद आइरहन्छ होला नि ?’
‘याद किन नआउनु तर याद गर्न पनि बहाना चाहिने रहेछ । फेरी याद गर्नुपर्ने व्यक्ति विशेष हुने रहेछ । कसैलाई दिमागबाट याद गर्नुपर्ने रहेछ त कसैलाई मनबाट याद गर्नुपर्ने रहेछ ।’ यति शब्द बोल्दा म केही भावुक झैं भएँ । उसको पनि अनुहारको भाव बदलिएको थियो ।
अचानक उसले प्रसङ्ग बदली ‘अनि तपाईले त विदेश गएपछि हामीलाई चटक्क बिर्सिदिनु भयो त ? विदेश जाँदैमा मानिस त्यति व्यस्त त नहुनुपर्ने हो ?’
मैले उसको आसय बुझें । ‘हामीलाई कि मलाई भन्न खोजेको ?’ उ किञ्चित लजाई, नजर झुकाएको भान भयो । सायद मेरो जवाफको तात्पर्य बुझी होली । ‘विदेश जानु ठूलो कुरा भएन तर त्यहाँ पुगेपछिको अवस्थाले गर्दा आफन्तहरुलाई भूल्न बाध्य हुनुपर्ने रहेछ । हामी विदेशीहरुलाई आफन्तहरुसँग कुरा गर्न मन लाग्थ्यो । कति सिरानी भिज्थ्यो । मनमा गुम्सेका भावनाहरु पत्रमा पोखेर पठाउन मन लाग्थ्यो । त्यो सबै कुरा अहिले भनेर के गर्नु । कसैलाई वाचा गरेर आएको लाई पत्र पठाउनका लागि धेरै सोचेर मात्र पत्र पठाउनु पर्नेरहेछ । यदि गाउँका कसैले त्यो चिठ्ठी देखे गाउँभरी हल्ला हुने डर । फोनको त सुविधा थिएन । यताबाट साथीहरुको पत्र जान्थ्यो तर मेरो आफन्तबाट कहिले पनि चिठ्ठी आएन ।’
उनी मेरो कुरा सुनेर घोसे मुन्टो लगाएर कुरा सुनिरही । म एकनास बोलिरहें, ‘सोचे जस्तो कहाँ हुनेरहेछ र । मनका रहर र चाहनाहरु त्यहाँको गर्मीले सबै पगाली दिँदा त्यस स्थानमा केवल निर्जीव शरीर मात्र बाँकी रहने रहेछ । यस्तोमा आफूले कल्पिने मायाका मीठा शब्दहरु पनि धुलो सरह उडेर जाने रहेछ । तर पनि म ४ वर्षमा फर्केर आउँदा आफन्तहरु आफ्नो बाटो लिएर गइसकेको भन्ने सुनेर एक पटक म जस्तो कठोर मन भएका मानिस पनि रोएको थिएँ । त्यस पश्चात आफन्तका याद दिमागमा होइन मनमा मात्र सोचेर राख्न बाध्य भएँ । अँ… सानु बरु भनन तिम्रो घर कता हो ? ज्वाई कता हुनुहुन्छ ? घरमा को–को हुनुहुन्छ ?’
‘मेरो शब्द सुनेर सायद उनी केही भावुक भएकी रहिछ । साडीको फेरोले आफ्नो अनुहार पुच्छदै मलाई पुलुक्क हेरी ‘मलाई थाहा छ परदेशमा मिहेनत गर्नेहरु कठोर हुन्छ तर त्यो भन्दा कसैको प्रतिक्षामा बस्ने मानिसको अवस्था कस्तो हुन्छ होला ? प्रतिक्षा गर्नुको पनि एउटा सीमा हुन्छ नि । उमेर पुगेको छोरी मान्छेलाई घरमा कति दबाब हुन्छ । बुबाआमाको लागि छोरी मान्छे इज्जतको पर्खाल हुन्छ । प्रत्येक पल डर हुन्छ । कतै त्यो पर्खाल ढल्ने त होइन । त्यसैले बुबाआमाको दबाबका कारण विवाह जस्तो बन्धनमा बाँधिनु पर्यो । अहिले एउटा छोरा यो छोरी छ । श्रीमान तपाई जस्तै खाडीको गर्मी खान जानुभा’को छ ।’
‘भनेपनि परिवार सुखमय छ ?’
‘अँ… ठीकै छ । जिन्दगी जसोतसो बितिरहेको छ । अहिलेलाई म जान्छु । यसो समय मिलाएर हाम्रो तिर आउनु नि !’ अनुरोधका भाव पोख्दै उनी उठिन् ।
ठीकै छ समय मिले आउँला । धेरै वर्षको अन्तरालपछि भेट भयो । मैले त भूलीसकेको थिएँ । याद ताजा गराइदियौं । कहिलेकाही आफन्तलाई सम्झिने बहानाको बाटो खुलाई दियौं ।
त्यहाँबाट उनी बिहे घरतर्फ लागिन् । म फेरि त्यही बरण्डामा गएर एक तमासले बिहेको रमाइलो हेर्न लागे । तर नजर त्यो भीडमा पनि कसैलाई खोजी रह्यो । सायद नजर प्यासी भएछ ।