उभौलीमा राईहरुले भने, ‘स्थानीय सरकारले भाषा लिपी अध्ययनमा बजेट दिन कन्जुस्याई’ « Yalambar Times
३० बैशाख २०८२, मंगलवार

उभौलीमा राईहरुले भने, ‘स्थानीय सरकारले भाषा लिपी अध्ययनमा बजेट दिन कन्जुस्याई’


यलम्वर टाइम्स
३० बैशाख २०८२, मंगलवार १७:१७

बिर्तामोड । प्रकृति पूजक किरात राईहरुको उभौली पर्व सुरु भएको छ । यो वर्षको पहिलो पटक बिर्तामोड नगर कार्यसमितिले उभौली पर्वको आयोजना गर्दै किरात प्रदेशका विषयमा चर्चा चलाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि यायोक्खा जिल्ला अध्यक्ष गणेशकुमार राईले सांस्कृतिक धरोहरले नै किरातीहरुको अस्तित्व रहेको हुँदा उभौली पर्वमा किरातीहरुको संस्कार संस्कृति रहनसहनका विषयमा युवा पुस्तालाई जानकारी दिनुपर्ने बताए ।

प्रमुख अतिथि राईले वर्तमान स्थानीय सरकारले संस्कार, संस्कृति र भाषालिपी अध्ययनमा बजेट दिन नसक्दा तामम् आदिवासीहरुको चित्त दुखाई भएको बताए ।

बिर्तामोड प्रास अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ठ अतिथि बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले मौलिक परम्परालाई बचाई राख्न आफ्नो वडाबाट हुने सहयोग प्रदान गर्ने बताउँदै विविध जाति बसेको वडा नं. ५ भएको भाइचारा सद्भाव राम्रो रहेको बताए ।

कार्यक्रममा मुक्कुमलुङ संरक्षण समितिका हिमालय कन्दङ्वाले मौलिक परम्पराको रक्षा सरकारले गर्न नसकेको आरोप लगाउँदै त्यसको रक्षा किरातीहरुले आफै गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत सचिव बीरबहादुर राईले गरेका थिए भने जिल्ला सल्लाहकार कुमार हाङछेन राई, अग्रज पत्रकार दिपीन राई, अर्जुन राई, पूर्व कराते खेलाडी सीता राई लगायतलाई पगरी गुथेर सम्मान गरेका थिए भने कार्यक्रमको पहिलो दिन गोलधाप, बुट्टाबारी, बिर्तामोड, हल्दिबारी र अर्जुनधाराका साकेला नृत्यको प्रस्तुती भएको थियो भने यायोक्खा प्रेमी समर राई, निशान राई, भुपा चाम्लिङ राई, चिजा राई, कुसुम राई, सिंहबहादुर राई लगायतको सहभागिता रहेको थियो ।