उपप्रमुखसँग सम्वाद नगरको हितका लागि मार्ग दर्शक « Yalambar Times
३ असार २०८२, मंगलवार

उपप्रमुखसँग सम्वाद नगरको हितका लागि मार्ग दर्शक


यलम्वर टाइम्स
३ असार २०८२, मंगलवार १८:५४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा आज मंगलबार आयोजित सम्वाद कार्यक्रम निकै रोचक र ओजन्दार प्रश्नहरु तेर्सिएका थिए ।

उत्तर सहज थिएन तर उपप्रमुख खड्गमाया पराजुलीले त्यस्तै प्रश्न र समाजसेवा गर्दै जाँदा भोगाइका अनुभवहरु प्रशस्त भएको हुँदा उत्तर सहज ढंगले दिनपुगे ।

उपमेयरसँग बाल क्लबका बालबालिका सम्वाद कार्यक्रममा उपस्थित विद्यार्थीहरुले, बाल अधिकार, हक हित र विद्यालयमा पठनपाठनसँगै स्थानीय जनप्रतिनिधिहरुले गर्नुपर्ने वा गर्न बाँकी जस्ता प्रश्न उठाएका थिए ।

सम्वाद कार्यक्रममा पहिलो प्रश्न थियो, ‘विद्यालय क्षेत्र नजिक मादक पदार्थ बेचबिखन कति उचित ? के निषेधित क्षेत्र होइन र ?’

शनिश्चरे माविका छात्रा निशा खड्काले प्रश्न उठाइरहँदा सम्वाद हल नै सुनसान हुनपुग्यो ।

त्यतिकैमा उपप्रमुख पराजुलीले भनिन्, ‘विद्यालय क्षेत्र नजिक कानुनले नै मादक पदार्थ बेचबिखन नगर्न भनिएका छ, तर केहीले बेच्नुभएको होला त्यसलाई स्थानीय नीति बनाएर बेच्नेलाई अनुरोध गर्छौ । नबेच्ने नीति बनाएर लान्छौं ।’

उनले अगाडि भनिन्, विद्यालयले अगाडि सटर बनाएको छ, सटर भाडामा दिएको हुँदा मधु, गुड्का राखेका होलान् । यसरी बेच्न उचित नहुने हो ।

कार्यक्रममा निजी तथा सरकारी गरी १२ विद्यालयका विद्यार्थीहरु सहभागि थिए ।

प्रश्न सञ्चारकर्मीहरुले सोधे जस्तै विकासे काममा जनप्रतिनिधिहरु बीचको तालमेल कस्तो छ ? के सरकारी विद्यालयलाई मात्र सेनेटरी प्याडको व्यवस्था हो ? बालबालिकाको नाममा छुट्टिएको बजेट कार्यान्वयनमा हामी किन परेनौ ? जस्ता प्रश्न राखिएको थियो ।

कति प्रश्न निजी विद्यालयका सञ्चालकहरुले बनाएर विद्यार्थीहरुलाई भन्न लगाएको जस्तो देखिन्थ्यो भने अधिकांश प्रश्न अगाडि बढ्न सकिने आधार र सहासका विषयमा थिए ।

निजी विद्यालयका प्रश्नहरुमा शिक्षा शाखाका प्रमुख हरिबहादुर कुँवरले जवाफ दिएका थिए ।

अर्जुनधाराको विद्यार्थी हुँ भनेर नगरले दिने परिचय, बाल श्रम शोषण र १२ पास गरेपछि विदेशीनु पर्ने बाध्यताका बारेमा प्रश्न थियो ।

प्रश्नमा उपप्रमुख पराजुलीले कतिपय स्थानीय सरकार र प्याव्सन बीच मिलेर समाधान गर्ने छौं । कति त आफै अगाडि बढ्ने प्रयास गर्नुपर्ने जस्ता विचार राखेकी थिइन् ।

उनले हामी नैतिक शिक्षा अभावका कारण र मोवाइलको लतका कारण घरमा आमाबुबालाई काम गर्न सहयोग गर्दैनौ, छोटो दूरीमा विद्यालय हुँदा पनि गाडी नै चहान्छौ, घरमा मिहेनत नगर्नेले वैदेशिक रोजगार खोज्नु दुःख लाग्दो विषय भएको बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले सहभागी विद्यार्थीहरुलाई संघ, प्रदेश र स्थानीय सरकारको विषयमा जानकारी गराएका थिए ।

सम्वादमा उत्कृष्ट प्रश्नकर्ता प्रथम रुपरत्नका खुशी गिरी, दोस्रोमा सुविया पुरी कालिका मावि, तेस्रोमा सन्देश घिमिरे कालिका सदन, चौथोमा योजना गौतम रुपरत्न, पाँचौमा मेनुका निरौला कालिस्थान मावि छनौट भएको छ ।

सम्वादमा प्रगतिका प्रिन्सिपल मातृकाप्रसाद निरौला, कालिका शिशु सदनका सन्देश घिमिरे आदिले आफ्नो भनाइ राखेका थिए ।

सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले स्वागत गरेको कार्यक्रम बालबालिका शाखाकी प्रमुख सूर्यमाला पन्धाकले सहजीकरण गरेकी थिइन् ।