बीएण्डसीका डाक्टरले भने –‘स्वाइन फ्लू हामी निको पार्छौं’ « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

बीएण्डसीका डाक्टरले भने –‘स्वाइन फ्लू हामी निको पार्छौं’


यलम्वर टाइम्स
२६ श्रावण २०७४, बिहीबार ०७:२१

बिर्तामोड /

हावाको माध्यमबाट समेत फैलिनसक्ने ‘स्वाइन फ्लूको उपचार अब झापाको वीएन्डसी हस्पिटलमै हुने भएको छ । सरकारी निकायसँग समन्वय गरी वीएन्डसी हस्पिटलले शुक्रवारदेखि ‘स्वाइन फ्लूको सम्पूर्ण उपचार गर्ने भएको हो ।

काठमाडौँको सीमित हस्पिटल बाहेक अन्यत्र यसको ल्यावटेस्ट र उपचारको व्यवस्था यस अघि थिएन ।  केही दिन अघि विर्तामोडका दुई व्यक्तिको ‘स्वाइन फ्लूकारण मृत्यु भएपछि सरकारले झापामा यसको सङ््क्रमण फैलिन नदिन प्रयास थालेको थियो ।

यही क्रममा चिकित्सकीय जनशक्ति, भौतिक पूर्वाधार र गुणस्तरीय ल्याव सुविधाका कारण सरकारले पूर्वमै पहिलोपल्ट वीएन्डसी हस्पिटललाई ‘स्वाइन फ्लू’को ल्यावटेस्ट र उपचार गर्न अनुमति दिएको हो ।

बुधवार हस्पिटलले पत्रकार सम्मेलन गरी बीएन्डसी ‘स्वाइन फ्लू’को सम्पूर्ण उपचारका लागि सक्षम रहेको जानकारी दिएका छन् ।

‘२७ लाख मेची अञ्चलबासीलाई भरपर्दो स्वास्थ्य सेवा पुर्याउन तल्लीन रहेको वीएन्डसीले ‘स्वाइन फ्लू’को समेत उपचारका लागि पर्याप्त टीम परिचालन गरिसकेको छ’–पत्रकार सम्मेलनमा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने ।

हस्पिटलमा ‘स्वाइन फ्लू’को उपचारका लागि २ वटा आइसीयु कक्षसहित अलग्गै फ्लू वार्ड, अलग्गै ल्याव र अलग्गै चिकित्सकको टोली खटाउने कार्यकारी निर्देशक प्रसाई बताउँछन् ।

नजिक सम्पर्कमा आउँदा, लुगा छुँदा र अन्य कारणले पनि ‘स्वाइन फ्लू’ सर्ने सम्भावना भएकाले हस्पिटलले उपचारका लागि अलग व्यवस्था मिलाएको हो ।

वीएन्डसीको एनेस्थेसिया विभागका डा. राजु श्रेष्ठले शुक्रवारदेखि ‘स्वाइन फ्लू’को जाँच र उपचार दुबै हुने बताए ।

हस्पिटलले ल्यावटेस्टका लागि भारतको दिल्लीबाट ‘किट’ र नेदरल्यान्डबाट प्रतिरोधात्मक ‘भ्याक्सिन’ झिकाएको वीएन्डसीको ‘स्वाइन फ्लू’ हेर्ने टोलीका प्रमुख डा. दिलीप साह बताउँछन् ।

सुँगुरबाट मानिसमा सरेको कारण यस रोगलाई ‘स्वाइन फ्लू’ भनिएको उल्लेख गर्दै एचवान एनवान नामक भाइरसको संक्रमणले यो रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।

झापामा ‘स्वाइन फ्लू’बाट थप ३ जनामा संक्रमण भेटिएको बताइएको छ ।

जिल्ला जनस्वाथ्य कार्यालय झापा र स्वास्थ्य विभागबाट खटिएको प्राविधिक टोलीले वीएन्डसी हस्पिटलमा सुरु हुने ‘स्वाइन फ्लू’ उपचार कार्यमा सघाउने बताइएको छ ।

यदि कसैमा ‘स्वाइन फ्लू’ भेटिएमा उसको रगतको नमुना पुनः काठमाडौको केन्द्रीय प्रयोगशाला पठाएर भेरिफाई गरिने भएको छ । भेरिफाइका लागि सेम्पल पठाउन केन्द्रीय प्रयोगशालाको प्राविधिक टोली बीएन्डसीमै आएको छ ।

‘स्वाइन फ्लू’ लाग्नै नदिनका लागि भ्याक्सिनको विकास भइसके पनि यो निकै महङ््गो मात्र नभएर उपलब्ध हुनै मुस्किल छ । वीएन्डसीले यस्तो ३०० थान भ्याक्सिन नेदरल्यान्डबाट मगाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले सुविधासम्पन्न भएकाले ‘स्वाइन फ्लू’ उपचारका लागि वीएन्डसीलाई रोजिएको बताएका छन् ।

‘स्वाइन फ्लू’ सम्बन्धी सचेतनाका लागि जनस्वास्थ्य कार्यालयले १० हजार पर्चा छापेर बाँडिरहेको पौडेलले जनाए ।
वीएन्डसीलाई ‘स्वाइन फ्लू’ उपचारको रेफरल सेन्टरको रुपमा उपयोग गरिएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा आम्दा हस्पिटलका डा. मीरा खड्का र सुनिल कार्की लगायतको उपस्थिति रहेको थियो ।

 

डाक्टरको सल्लाह 
‘स्वाइन फ्लू’ पनि ‘सिजनल फ्लू’ जस्तै हो, आत्तिनु पर्दैन ।

हिँडडुल गर्दा माक्स प्रयोग गरौँ । ‘एन नाइन्टी फाइभ’ माक्स सबैभन्दा उपयुक्त ।

डिस्टेन्ट राखेर कुराकानी गरौँ ।

सेभेन्टी पर्सेन्ट इथानोल भएको सेनेटाइजर प्रयोग गरौँ ।

कपडा एभ्री डे चेन्ज गरौँ ।

प्रिभेन्सनका लागि भ्याक्सिन लगाऔँ ।

‘स्वाइन फ्लू’को शङ््का लागेमा हस्पिटल जाऔँ ।

‘स्वाइन फ्लू’ नभनौँ, बरु ‘सिजनल फ्लू’ नै भनौँ ।

डा. दिलीप साह
बीएन्डसी हस्पिटल