अर्जुनधारालाई कुष्ठरोग मुक्त नगर बनाउन सञ्चारकर्मीसँग अन्तरक्रिया « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

अर्जुनधारालाई कुष्ठरोग मुक्त नगर बनाउन सञ्चारकर्मीसँग अन्तरक्रिया


यलम्वर टाइम्स
१६ असार २०७५, शनिबार ०८:५४

अर्जुनधारा । शरीरमा लाटो फुस्रो रातो रङ्गको दाग छ, त्यो ठाउँमा स्पर्श, दुखाई, ताप लगायतका चेतना शक्ति छैन भने त्यो कुष्ठरोग हुन सक्ने नगर स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतले बताएका छन् ।

शनिबार अर्जुनधारा नगरपालिकाको सभाकक्षमा कुष्ठरोग सम्बन्धि सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै स्वास्थ्य प्रमुख बस्नेतले सो कुरा बताएका हुन् ।

उनले रोगबारे जानकारी दिँदै माइक्रो ब्याक्टेरिया लेप्री जीवाणुले हुने यो रोग हावाको माध्यमबाट सर्ने बताए । उनका अनुसार नियमित लामो समयसम्म संक्रमित व्यक्तिसँग बस्दा स्वास प्रस्वासको माध्यमबाट रोग सर्ने गर्दछ ।

‘कुष्ठरोगले मानिसको छाला, आँखा र स्नायुमा असर गर्छ’ प्रमुख बस्नेतले भने, ‘यसलाई समयमै औषधि उपचार गरे यो ठूलो रोग होइन तर, बेवास्ता गरेर बस्ने हो भने यसले स्नायुमा असर पुर्याउँदै आँखाको ढकन बन्द नहुने, परेला र आँखी भौ झर्ने, अंगभंग हुने हुन्छ ।’ उनका अनुसार यसको औषधि स्वास्थ्य चौकीहरुबाट निःशुल्क रुपमा वितरण हुँदै आएको छ ।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सहसंयोजक मिश्रिलाल शर्माले समाजमा अझै पनि रोग लुकाउने भएको हुँदा समस्या भएको बताए । शर्माले रोगीले रोग नलुकाई नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्यकर्मीहरुसँग परामर्श लिएर नियमित औषधि सेवन गरे निको हुने बताए ।

उनका अनुसार कुष्ठरोग पौसीबेसिलरी (कम जीवाणु भएको) र मल्टिबेसिलरी (कडा जीवाणु भएको) गरी दुई प्रकारको हुन्छ ।
‘पौसीबेसिलरी कुष्ठरोगका बिरामीले ९ महिनामा ६ पत्ता र मल्टिबेसिलरी कुष्ठरोगका बिरामीले १८ महिनामा १२ पत्ता औषधि नियमित खानुपर्छ’, सहसंयोजक शर्मा बताउँछन् । कार्यक्रममा अर्जुनधारा नगरपालिकामा हालसम्म ६ जनाले औषधि सेवन गर्दै आएको बताइएको छ ।

कार्यक्रममा अर्जुनधारालाई कुष्ठरोग मुक्त नगर बनाउनका लागि असार १२ गतेदेखि १६ गतेसम्म खोज पडताल कार्यक्रम गरिएको बताए ।

असार १७, १८, १९ गते खुदुनाबारी स्वास्थ्य चौकी र २०, २१, २२ गते प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेमा शिविर सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख कमला आचार्य लगायतको उपस्थिति थियो ।