सहकारीको औचित्य र आवश्यकता बारे जानकारी दिन अर्जुनधारा नगर विकास सहकारीको अन्तरक्रिया « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सहकारीको औचित्य र आवश्यकता बारे जानकारी दिन अर्जुनधारा नगर विकास सहकारीको अन्तरक्रिया


यलम्वर टाइम्स
२३ मंसिर २०७८, बिहीबार १०:३६

अर्जुनधारा । आफ्ना शेयर सदस्यहरुलाई सहकारीको औचित्य र आवश्यकताबारे जानकारी दिने उद्देश्यका साथ अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगरको तीन खम्बे अर्थ नीति अन्तर्गत रहेको अर्जुनधारा नगर विकास सहकारीले नगर सहकारी नै किन भन्ने विषयमा जानकारी दिन अन्तरक्रिया गरेको हो ।

सहकारीको माध्यमबाट कृषकहरुले उत्पादन गरेको कृषि तथा पशुपंक्षीजन्य वस्तुको प्रशोधन, प्याकेजीङ र बजारीकरण गर्दै उनीहरुको आर्थिक जीवनस्तर उकास्ने लक्ष्यका साथ सहकारी स्थापना गरिएको सञ्चालनमा ल्याइएको पनि जनाइएको छ ।

संस्थाको तदर्थ समितिका अध्यक्ष प्रत्युस रानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार राना रहेका थिए ।

अर्जुनधारा–७ स्थित पितृ भवनमा अर्जुनधारा वडा नं. ४, ५, ७ र ८ का शेयर सदस्यहरुको बाक्लो उपस्थितिमा भएको अन्तरक्रियाको सहजीकरण पशुपंक्षी विकास शाखाका प्रमुख पदमलाल राईले गरेका थिए ।

कार्यक्रममा सहकारी विकास शाखाका प्रमुख सुमित मगर, तदर्थ समिति सदस्य देवकला प्रसाई लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका शेयर सदस्यहरूलाई नगर प्रमुख रानाले प्रमाणपत्र वितरण गरेका थिए । उक्त सहकारीमा हाल पाँच सय १५ जना शेयर सदस्य रहेका छन् ।

यसअघि मंसीर १९ गते वडा नं. ६, ९, १० र ११ को लागि सालबारी झिलको समुदायिक भवनमा र २२ गते वडा नं. १, २ र ३ का लागि खुदुनाबारी स्थित कैदले सामुदायिक भवनमा अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको अध्यक्ष रानाले जानकारी दिए ।