उपसभामुख रानाको तर्क « Yalambar Times
३ बैशाख २०८१, सोमबार

उपसभामुख रानाको तर्क


यलम्वर टाइम्स
२१ फाल्गुन २०७९, आईतवार १०:५८

राजनीतिमा होस् या सामाजिक संघसंस्थाको हरेक कार्यक्रममा महिलालाई हेर्ने दृष्टिकोण न्यून छ । आफू उपसभामुख भएर सम्मानसँगै विभिन्न विशिष्ट कार्यक्रम जाँदा महिलामाथि गरिने व्यवहार न्यून भएर आएको पाएँ । गृह जिल्ला झापामै पनि सम्मान गर्ने कार्यक्रममा अपमानित त होइन तर, सम्मान गर्नुभन्दा अगाडि गरिने व्यवहार संकुचित भएको महशुस गरें । आफू यो ओहोदामा रहँदा त यस्तो होचाहेला हुन्छ भने सर्वसाधारण महिलामाथि कस्तो दुव्र्यवहार होला ?

एक कार्यक्रममा उपसभामुख इन्दिरा रानाले भनिन्, म त गाउँबाट आएको सर्वसाधारण मान्छे हुँ, हेपिएका र पछि पारिएका सन्ततिका रखवालाहरु मलाई जुन दृष्टिकोणले हेर्दा पनि हुन्छ तर, एउटा महिलालाई दिएको उपसभामुख पद जस्तोलाई हेरिने दृष्टिकोण उच्च रहनुपर्छ । उपसभामुख आफैमा गरिमामय पद हो । देश र जनतालाई कुन दिशामा लैजाने भन्ने विषयमा उभिएको पद हो, त्यस हिसाबले सम्मान गर्न र मर्यादामा उभ्याउन सक्नुपर्छ । चाहे महिला नै किन नहोस्, चाहे पुरुष नै किन नहोस् ।

नेपालको संविधान २०७२ ले निर्माण गरेको सभामुख र उपसभामुख एउटै दाँजोमा नभए पनि रथको दुई पाङ्ग्रा भएको छ । यसर्थ सभामुखको अनुपस्थितमा त्यसको रोलिङ क्रम उपसभामुखकै जिम्मामा आइपर्छ, त्यस हिसाबले पनि उपसभामुख पद आफैमा गौरव र मर्यादित पद भएको नाताले एउटा महिला रानालाई हेरेर उपसभामुख पदलाई होच्याउने दृष्टिकोण गर्नुहुँदैन । यो दृष्टिकोण हटाउनका लागि सम्बन्धित संघसंस्था चनाखो र नेपालको संविधानको भावनालाई अक्षरस पालना गर्न सरकारी संघ संगठनहरु पनि जानकार रहनुपर्ने देखिन्छ । कतिपय ठाउँमा उपसभामुखलाई सरकारी कर्मचारीको दाँजोमा उभ्याएर गरिएको प्रशस्त मैले भोगेको छु । त्यस हिसाबले पनि उपसभामुख पदलाई सम्मान गर्न सक्नु जरुरी छ । त्यसमा पुरुष महिलाको दृष्टिकोणले हेरिनु हुन्न, उपसभामुख रानाले आग्रह गरिन् । वास्तवमा एउटा विशिष्ट व्यक्तिले यस्ता अभिव्यक्ति दिनु पुरुष प्रधानको नमुना उदाहरण हो भन्न सकिन्छ । २१ औं शताब्दीमा अपहेलना शब्द कानुनको कठघरामा उभ्याइने माध्यम बनिरहेको बेला एउटा विशिष्ट व्यक्तिको तर्क यस्तो आउनु दुःख लाग्दो कुरा हो । त्यसतर्फ चेतना भया ।