सरकार कोदो उत्पादनमा नजर पुर्याउ « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सरकार कोदो उत्पादनमा नजर पुर्याउ


यलम्वर टाइम्स
१३ श्रावण २०८०, शनिबार १०:२२

नेपाली रैथाने अन्नको रुपमा परिचित कोदो यो बेला उत्पादन कार्यमा लाग्नु पर्ने चौतफी माग भई आएको छ । कोदो बहुउपयोगी, बहुगुणी अन्न भएको हुँदा यसको उत्पादनमा नेपाल सरकार लाग्नुपर्ने जोड छ । कोदो उत्पादनलाई प्राथमिकता दिन स्थानीय संघसंस्था लागि परेको पाइन्छ भने परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिले प्रदेश १ को सरकार तथा सहभागि दलका सांसदहरुलाई ज्ञापनपत्र बुझाएर कोदो उत्पादन गर्न, कृषकहरुलाई बीउ, मल र प्रविधिमा सहुलियत प्रदान गर्न माग गरिसकेका छन् ।

विश्वमा कोदो हजार प्रजातिका रहेको तथ्याङ्क छ । नेपालमा १५ देखि २० प्रजातिका कोदो उत्पादन भइसकेको पाइन्छ । आजभन्दा ३०, ३५ वर्ष अघि पहाडका डाँडा र मधेसका अग्ला भू–भागमा कोदो मनग्ये फल्ने गरेको विज्ञहरु बताउने गरेका छन् । विशेष गरी मुष्ठे पहाडी भू–भागमा फल्ने गथ्र्यो भने पाङदुरे, भाङ्ग्रे र नङकटुवा जातका कोदो तराईका अग्ला डाँडाहरुमा फल्ने गरेको तथ्याङ्क छ । तर त्यही तथ्याङ्क राख्ने कृषि शाखाले हिजोआज कोदो उत्पादनमा लोप हुँदै गएको भन्न बाहेक अरु शब्द दिन सक्दैन ।

कोदो नेपाली रैथाने अन्न हो । यसको गुण व्याख्या गरेर सकिन्न । तर कोदोलाई हेलाको रुपमा हेरिएको कारण उत्पादनमा खासै ध्यान सरकारले दिन सकेनन् । हाल नेपालमा ६० हजार हेक्टर क्षेत्रफल कोदो लगाइने भएको हुँदा मागलाई धान्न नसकेकै कारण भारत, बंगलादेशबाट कोदो खरीद गर्न बाध्य छौं । ७० भन्दा बढी जिल्लामा हुने कोदो यो वर्ष मात्र ५१ करोड बढीको आयात गर्नु पर्यो । नेपाली मुद्रा विदेशीदा घाटा नेपालीलाई नै हुने भएको कारणले पनि कोदो उत्पादनमा सरकार कानमा तेल लगाएर बस्न मिल्दैन ।

कोदो प्रचुर मात्रामा उत्पादन हुने ठाउँ चिल्लो डाँडा भएर बसिरहेको छ । सरकारले कोदोलाई हेर्ने दृष्टिकोण पनि सार्वजनिक गरेको छैन । कोदोबाट उत्पादन हुने मदिरालाई अन्तर्राष्ट्रियकरण गरेर दीगो आय लिन पनि सरकारले सकेको छैन । विदेशी मदिरामा रकम खर्चिनु, कोदो खरीदमा भारत पैसा पठाउनु नेपाली जनताका लागि घाटैघाटा भएको हुँदा संघ, प्रदेश सरकारले कोदो उत्पादनमा ध्यान नदिए पनि स्थानीय सरकारले कोदो उत्पादनसँगै कृषकहरुको सहयोगमा लाग्न सके समृद्ध कृषि प्रधान भन्न सकिने आधार रहने थियो । धेरैले रोजगार पाउने थिए । कृषकहरुको मुहार उज्यालो हुने थियो । त्यसैले सरकार कोदोलाई हेला नगर्न अनुरोध गरिन्छ ।