सभामुख घिमिरेको फरक उपस्थिति « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

सभामुख घिमिरेको फरक उपस्थिति


यलम्वर टाइम्स
११ मंसिर २०८०, सोमबार १०:३३

झापा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भएर आफ्ना क्षेत्रका जनतासँग गरेको साक्षत्कार प्रशंसनीय भएको टिप्पणी हुन थालेको छ । यसअघि यसरी निर्वाचित भएका सांसदहरु जनतासँग नभई २, ४ वटा विकासे काम फ्याँकेर आफ्नो क्षेत्र नआउने परिपाटीलाई दोहोर्याउने हुन् कि भन्ने चिन्तालाई यस क्षेत्रका सांसद तथा सभामुख घिमिरेले तोडी दिएका छन् ।

यस क्षेत्रबाट निर्वाचित भएका सांसदहरु ठूलै हात्तीहरु थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि मालेका महासचिव सीपी मैनाली जस्ताले स्थान पाएको ठाउँ हो तर उहाँहरुले यस क्षेत्रका जनतामाझ कुनै काम गर्न सक्नु भएन । पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वितरण गर्नुभएको वृद्ध भत्ताकै कथा सुनाएर उहाँहरुको कार्यकाल सम्पन्न भएको थियो । यस ठाउँकै निर्वाचित माननीय प्रेमबहादुर गिरीको समयमा संविधान निर्माण र विकासका लागि डीपीआरमै समय खर्चिएका थिए । माननीय पवित्रा खरेलको पनि निर्वाचनपछि जनतासँग कम साक्षत्कार भएको थियो । यद्यपी काम भने केही देखियो ।

निर्वाचित भएपछि सभामुख देवराज घिमिरेले कहिले बजेटका विषयमा छलफल गर्न आफ्नो क्षेत्रमा आए, कहिले जे जस्तो भए पनि निर्वाचित भएको एक वर्ष पुगेछ भन्दै नगरमा वृद्धहरुलाई लौरो वितरण गर्दै नगरका जनतासँग साक्षत्कार गर्न भ्याए । सभामुख जस्तो व्यस्त व्यक्ति यसरी आफ्नो क्षेत्रको बाटो, पुल, कुलो–पैनीमा छुट्टिएको बजेटको चाँसो गर्न आफ्नो निर्वाचन क्षेत्रमा आउनु अन्य माननीयहरुले देखाएको चाँसोभन्दा फरक हो भन्न सकिन्छ । हुन त समस्या अनगिन्ती नै हुन्छन्, त्यसलाई छान्दै मुख्य समस्यालाई हल गर्न सभामुख घिमिरेले लाग्छु भनेर वृद्धहरुमाझ गरेको अभिव्यक्ति सार्थकता होस् ।