डा. शरदचन्द्र प्रकाश राई मेची नेत्रालयका रेटिना विशेषज्ञ हुनुहुन्छ । दुई दशकअघिदेखि सेवामा समर्पित राई मेची नगरको पहिलो आँखा अस्पताल मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रा.लि.का प्रमुख भई नेपाल भारतका नेत्र रोगी विरामीहरुका लागि कोशेढुंगा नै सावित भएका छन् । विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म नेत्र रोगीहरुको सेवा गर्दै दिन बितेको पत्तो नपाउने राईसँग यलम्बर टाइम्सले नेत्रालय दशौं बर्ष प्रवेशको अवसरसँगै लिएको छोटो वार्तालाप :
नेत्रालयको अवस्था कस्तो छ ?
– मेचीनगरकै पहिलो आँखा अस्पताल भएको हुनाले विरामीहरुको दुःखसुख मै दिन बितेको छ । त्यति मात्र होइन, हामी सेवा दिन अझ तत्पर भएका छौं । सदाको भन्दा अझ राम्रो बनाएर मेचीनगर क्षेत्रको मात्र नभई नेपालकै पूर्वी क्षेत्रीयको एउटा नमूना अस्पतालको रुपमा विकसित गर्दै लाँदै छौं ।
दशौं बर्ष प्रवेशसँगै जनताको लागि नयाँ योजना केही छ ?
– विभिन्न संघ–संस्था र स्थानीय समाजसेवी, बुद्धिजीवी र राजनीतिक दलहरुको अपार मायाका साथ हामी दशौं बर्षमा प्रवेश गरेका छौं । त्यही माया प्राप्त भएपछि अहिले विरामीहरुको सेवाका लागि अझ समर्पित छौं । विभिन्न क्षेत्रबाट आउने हुने विरामीका लागि चौविसै घण्टा सेवामा हाजिर रहेका छौं ।
नयाँ तरिकाबाट अझ सरल सेवा दिनका लागि केही कार्यहरु छन् ?
– हामीसँग ८ जना नेत्र विशेषज्ञ चिकित्सकहरु हुनुहन्छ । सात जना नर्सहरु खटिनु भएको छ । नयाँ भवनसँगै अझ कर्मचारीहरु थपेर फारकिलो ढंगबाट सेवा दिने कार्यमा जुटेका छौं ।
अरु सेवाहरु के–के दिँदै आउनुभएको छ ?
– झापाभरी हामीले निःशुल्क स्वास्थ्य शिविर गर्दै हिंडेका छौं । कति संघ–संस्थाले हामीलाई डाक्नुहुन्छ, त्यसबेला हाम्रो टिम नै गएर सेवा प्रदान गरेको छ । विशेष गरी बालबच्चाहरुको लागि अनि विद्यालयमा हामीले निःशुल्क शिविर गरेका छौं ।
नेपाल बाहेक अन्य ठाउँमा पनि निःशुल्क सेवा प्रदान गर्नुभएको छ ?
– अवश्य छ । दार्जीलिङ, सिक्किम, पश्चिम बंगालको विभिन्न ठाउँ साथै आसाम, गुहाटीतिर गएर सेवा दिँदै शिविर सञ्चालन गर्दै आएका छौं । बढी जसो निःशुल्क सेवा माग गर्न आउने हुँदा हामी कति पनि अप्ठ्यारो नमानी जाने गरेका छौं । धेरै मानिसहरु हामीलाई विश्वास गरेर आउने गरेका छन् । हामी पनि टाढाबाट आउनेहरुलाई सरल ढंगबाट सेवा दिन पछि परेका छैनौं जस्तो लाग्छ ।
निजी क्षेत्रबाट यत्रो सेवा प्रदान गर्नुभएको छ नि ?
– हो, निजी क्षेत्रबाट सरकारी सेवा दिने जस्तै गरी खटिरहेका छौं । विभिन्न संघसंस्थासँग समन्वय गरेर अगाडी बढिरहेका छौं । हाम्रो सेवा देखेर केही लोभिएपनि जनताको सेवा सुविधामा भने लागी पर्ने छौं ।
अन्त्यमा केही छ ?
– सर्वप्रथम, नेत्रालयका सम्पूर्ण कर्मचारी र शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुकै प्रयासबाट नेत्रालय यहाँसम्म आएको छ । साथै नेत्रालयको विचार आम पाठकसम्म पु¥याइदिनु भएकोमा यलम्बर टाइम्सलाई धन्यवाद दिन चाहन्छु ।