सन्देश सुब्बा
पाँचथर / नेपाल–भारत सिमावर्ती उत्तरी पाँचथरको प्राङ्बुङ, सिदिन, मेमेङ र च्याङ्थापु गाविसमा जंगली जनावरले धमाधम चौपाया खान थालेपछि किसानहरुमा चिन्ता बढेको छ ।
घना जंगलले ढाकिएको सो क्षेत्रमा भारततिरको जंगलबाट आउँने भालु र बाघले चौपाया खाने गरेको हो । पछिल्लो पल्ट प्राङबुङ– ७ का बलबहादुर तामाङको २ वटा चौंरी, प्राङबुङ–८ का नरबहादुर खपाङ्गीको एउटा चौरी, इलाम माइमझुवा–७ घर भई हाल सिदिन–१ मा गोठ गरी बसेका अमृत राईको एउटा उराङ, चन्द्र कुमार राईको चौंरीको बच्चा यस्तै गोवा गुरुङको १ गाई र १ गोरु भालु र बाघले खाएको हो ।
यसै गरी सिदिन–२ का देउपति राईको ६ वटा भेडा, सिदिन– २ का राजेन्द्र राईको ४ वटा चौरीको बच्चा, लालबहादुर राईको एउटा चौरी र च्याङ्थापु–३ का गर्जमान गुरुङको २ वटा भेडा, पर्वत शिवाकोटीको एउटा चौंरी र लयप्रसाद शिवाकोटीको एउटा भेंडा भालुले खाएको स्थानीय पत्रकार राजकुमार इशाराले बताए ।
इशाराका अनुसार मेमेङ–१ का रामकुमार राईको एउटा बाछा, खडगप्रसाद गुरुङको एउटा चौंरी, मेमेङ–८ का जयप्रसाद राईको २ वटा बाख्रा, मेमेङ–५ का रमेश नेपालको ३ वटा चौरी र मनबहादुर राईको एउटा गाई बाघ र भालुले खाएको हो । यसरी हजारौं रुपैंयाँ खर्च गरेर पालेका चौपाया जंगली जनावनरको आहारा हुन थालेपछि सो क्षेत्रका किसान निरास बनेका छन् ।
सिदिन–४ का किसान राजेन्द्र राईका अनुसार प्रत्येक वर्ष यसरी भारतबाट आउँने बाघ र भालुले किसानको लाखौं रुपैंयाँको चौपाया खाइदिने गरेको छ । ‘यसले गर्दा यो क्षेत्रमा बर्षौदेखि गरिंदै आएको पशुपालन व्यवसाय चौपट मात्र होइन संकटमा पर्दै गएको छ ।’ राईले भने । उत्तरी पाँचथरका विभिन्न गाविसमा पशुपालन व्यवसाय पुस्तौंदेखि गरिंदै आएको छ । तर जंगली जनावरले दुःख दिन थालेपछि यो व्यवसाय नै धारासायी बन्दै गएको च्याङथापुका पशुपालक गर्जमान गुरुङ बताउँछन् ।
गुरुङका अनुसार पहिलेको तुलनमा अहिले धेरैले यो व्यवसाय छाडि अन्य पेशा–व्यवसाय अंगाल्न थालेका छन् । ‘यसको प्रमुख कारण भारततर्फबाट नेपाल प्रवेश गर्ने जंगली जनावरको आतंक नै हो’ गुरुङले भने । यो क्षेत्रका कृषकले गरेको चौरी र गाई पालन व्यवसायबाट छुर्पी उत्पादन हुने गरेको छ भने भेंडाबाट राडिपाखी बनाउँन प्रयोग हुने ऊन उत्पादन हुन्छ । जसबाट राम्रो आर्थिक आयआर्जन गरिरहेका किसान अहिले जंगली जनावरले दुःख दिन थालेपछि पीरमा परेका छन् ।
किसानहरुको गुनासो प्रति सिमा प्रहरी चौकी च्याङ्थापुका प्रमुख प्रमुख प्रहरी नायव निरिक्षक मदन कुमार मैनाली भने जंगली जनावर मार्न नपाइने प्रावधान भएकाले जंगली जनावर धपाउँन मात्र पाइने बताए । आफूले पालेका चौपाया जंगलतिर नपठाई आफ्नै बारी वा जग्गामा राख्न मैनालीको सुझाब छ । गोठ बनाउँदा पनि जंगली जनावरले कम आक्रमण गर्न सक्ने सभावना भएको स्थानमा बनाएर क्षति कम गर्न सकिने मैनालीले बताए ।