खराब मौसमले हवाई उडान आवरोध, यात्रु अलपत्र « Yalambar Times
२ माघ २०८१, बुधबार

खराब मौसमले हवाई उडान आवरोध, यात्रु अलपत्र


यलम्वर टाइम्स
६ भाद्र २०७३, सोमबार १२:५७

444विवेक राई
भोजपुर / अत्याधिक बर्षादको कारण पूर्वी पहाडी जिल्लामा हवाई उडान नहुदा यात्रु अलपत्र परेका छन् । खराब मौसमले गर्दा भोजपुर, सोलुखम्बू, खोटाङ, ताप्लेजुङ र ओखलढुङ्गामा उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एक महिनादेखि अविरल बर्षा, हुस्सु र कुहिरोको कारण दुई सातादेखि विमानस्थलहरुमा उडान नहुँदा पूर्वी पहाडी जिल्ला यात्रुलाई समस्या भएको छ । नेपाल वायू सेवा निगमले उडान भर्दै आएको भोजपुरको टक्सार विमानस्थल, ओखलढुङ्गाको रुम्जाटार, खोटाङको लामिडाँडा, खानीडाँडा, थामखर्क, सोलुखुम्बूको फाप्लु, लुक्ला, कागेल, स्याङबोचे विमानस्थलमा दुई सातादेखि उडान हुन सकेको छैन । ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई महिनादेखि उडान भर्न सकेको छैन ।

संखुवासभाको तुम्लिङटारमा भने फाट्टफुट्ट उडान भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण भोजपुरका प्रमूख दुर्गामणी चौधरीले बताए । उनका अनुसार पहाडी जिल्लामा मौसमको अवस्था हेर्दा एक सातासम्म खराब हुने सम्भावना छ । नेपाल एयरलाइन्सले भोजपुर विमानस्थलमा उडान भर्नुपर्ने दश वटा उडान रद्ध भइसकेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी असर बिरामीलाई

बर्षायाममा खराब मौसमको कारण हवाई उडान नहुँदा बिरामी, अशक्त सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । हवाई उडान नहुँदा जटिल किसिमका बिरामीलाई थप उपचारका लागि भोजपुर जिल्ला अस्पटालले विराटनगर, धरान, काठमाण्डौ लैजान सिफारिस गरेतापनि बिरामीलाई सुविधायुक्त अस्पताल लैजान पाएका छैनन् । नेपाल एयरलाइन्सको उडान नभएपछि भोजपुरको गुप्तेश्वर गाविस–५ बलौटेकी ७१ वर्षीय शान्तिकुमारी राई जीवनमरणको दोसाँधमा छिन् ।

श्वासप्रश्वासको बिरामी राईलाई हेलिकप्टरबाट लैजान कोशिश गरेपनि खराब मौसमका कारण सम्भव नभएको आफज्तजनले बताए । उनी जस्तै जिल्ला अस्पतालबाट थप उपचारका लागि सिफारिस गरिएका गम्भिर बिरामीहरु समस्यामा परेको अस्पताल प्रमूख डा.नवलकिशोर झाले बताए । विराटनगर–भोजपुर सातामा दुई उडान भर्ने गरेको छ । केही वर्षदेखि तारा एयरलाइन्सले काठमाण्डौ–भोजपुर सातामा दुई वटा उडान भर्दै आएको छ ।

भोजपुरमा नेपाल एयरलाइन्स र तारा एयरको टवीनअटर जहाजले उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्सले काठमाण्डौ–भोजपुर सातामा चार दिन, भोजपुर–विराटनगर दुई दिन र तारा एयरले एक दिन उडान भर्दै आएका छन् । अविरल बर्षाका कारण हवाइ उडानसँगै सडक यातायात सेवा समेत सूचारु हुन सकेको छैन । अत्याधिक पानी परेपछि बाढी, पहिरोले सडक भत्किएको, खाल्डो परेकोले बस, जीप, ट्रक लगायत सवारी आवागमन हुन सकेको छैन ।