
धरान जागरण अभियानकी संयोजक मनिता घिमिरेले चाहिँ यो रेलमार्गको व्याख्या अर्कै ढंगले गरिन् । उनले भनिन्, ‘विराटनगरबाट धरान हुँदै चतरासम्म रेल चलाउनुपर्छ । यो परियोजनाका लागि सजिलैसँग बजेट जुट्छ । बजेट कसरी जुट्छ भन्ने उपाय अब धरान जागरण अभियानले सुझाउने छ ।’ उनले धरान विराटनगर रेल चलाउन अभियानले जोडदार आवाज उठाउने बताइन् ।
मनिताले धरान सुतेको छ त्यसैले जगाउन आवश्यक छ भन्दै धरान जागरण अभियानले अब धरानको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा यावत क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताइन् ।
मञ्जु र मनिताले रेलको चर्चा गरे पनि माओवादी नेता अइन्द्रविक्रम वेघाले भने रेलको चर्चा गरेनन् । उनले मञ्जुलाई लाक्षणिक कटाक्ष गर्दै भने, ‘योजना नै नाथे त हामीसँग पनि कति छ कति तर लागू गर्ने ठाउँमा पुगिएको छैन । धरानलाई सपनाको सहर बनाउने योजना हामीसँग थियो तर लागू गर्न सकिएन ।’
जागरण सभामा मञ्जु, मनिता र अइन्द्रको विचार सुनिसकेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक नारायणराज भट्टराईले भने, ‘धरानमा मात्र होइन, नेपालमै भिजनको कुनै अभाव छैन, यस्ता भिजन जति भने पनि छन् तर अभाव अर्कै चिजको छ । अभाव हो मिशनको । भिजनलाई लागू गर्ने मिशन चाहिएको छ ।’
कांग्रेसका धरान नगर सचिव श्याम पोखरेलले भने, ‘धरान तलतल झर्दैछ, धरान उजाड ठाउँ बन्ने क्रममा छ । यो डेड सिटी बन्ने खतरा छ । यसमा सबै दल र राजनीतिकर्मीहरु गम्भीर बन्न आवश्यक छ ।’