सतासीले गर्यो श्रष्टा सम्मान « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

सतासीले गर्यो श्रष्टा सम्मान


यलम्वर टाइम्स
२५ भाद्र २०७४, आईतवार ०७:२१

सतासीधाम / झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेबाट प्रकाशन हुँदै आएको सतासी साप्ताहिक पत्रिकाको छैठौं बार्षिकोत्सव आज शनिवार धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा सम्पन्न भएको छ ।
प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुका साथै बार्षिकोत्सवको अवसरमा केक काटेका थिए । उक्त अवसरमा गजलकार दिलीप घिमिरे र केस्रा विधाका श्रष्टा मौलश्री लिम्बूलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो  ।
त्यस्तै स्तम्भकार नारदमणि न्यौपानेलाई समेत नगदसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि पत्रकार महासंघका उपाध्यक्ष गिरीले सम्मानित व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गर्दै बधाई ज्ञापन गरेका थिए । पत्रिकाका साहित्य सम्पादक विराट किराँतीले सम्मानपत्र वाचन गरेका थिए ।
प्रमुख अतिथि पत्रकार महासंघका उपाध्यक्ष गिरीले सतासी साप्ताहिकलाई दैनिक पत्रिकाको रुपमा प्रकाशन गर्न र शिवसताक्षी नगर तथा कमल गाउँपालिकाको प्रतिनिधि सञ्चारमाध्यमको रुपमा विकास गर्न सुझाव दिए । गिरीले ग्रामीण पत्रकारितामा जोड दिँदै सञ्चारकर्मी तथा सञ्चार संस्थाको हित र विकासका लागि महासंघले सञ्चालन गरेका गतिविधि बारे जानकारी गराएका थिए । पत्रकार सहारा उपचारको कोषका संयोजक समेत रहेका गिरीले सो कोषमा सहयोग गर्न शिवसताक्षी क्षेत्रका सबै पक्षलाई आग्रह समेत गरेका छन् ।
सतासी खबर पत्रिकाका अध्यक्ष योगेन लावतीको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, पूर्व सांसद तारा सम याङ्या, प्रेस सेन्टर झापाका अध्यक्ष टीकाराम उप्रेती, सम्मानित व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
पत्रिकाका सहसम्पादक तथा सताक्षी प्रेस क्लबका अध्यक्ष छविलाल दवाडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक सेलिङ केसी र साहित्यकार विवस बलिभद्र कोइरालाले संयुक्त रुपमा गरेका थिए । उक्त अवसरमा साहित्यकारहरु मुनाराज सेर्मा, सुन्दर कुरुप, कल्पना आचार्य लगायतले विभिन्न साहित्यिक रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कांग्रेसका नगर सभापति पर्शुराम ढुंगाना, एमालेका अध्यक्ष धनबहादुर थेवे, सतासीधाम विकास संस्थाका अध्यक्ष प्रसाद सुब्बा, पत्रकार महासंघका सहसचिव केशव भट्टराई, प्रेस सेन्टरका केन्द्रीय सदस्य विमल लामिछाने, पत्रकार महासंघका कार्य समिति सदस्यहरु विनोद सापकोटा, लीलाराज झापाली, अनिलदेव राई, पत्रकार सरोज भट्टराई लगायतको आतिथ्य रहेको थियो ।