स्थानीय युवाहरुको सक्रियतामा गर्भवती महिलाको उद्धार « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

स्थानीय युवाहरुको सक्रियतामा गर्भवती महिलाको उद्धार


यलम्वर टाइम्स
२० कार्तिक २०७४, सोमबार १२:०८

अर्जुनधारा । प्रसुति गराउने बेला कटिसक्दा पनि आर्थिक नभएको कारण हस्पिटल जान नसकेकी कल्पना ठटाल सरकारको स्थानीय युवाहरुको सक्रियतामा आर्थिक संकलन गरी उद्धार गरिएको छ ।

अर्जुनधारा–७ स्थित तुलसीमाया कार्कीको घरमा डेरा बस्दै आएकी ३५ वर्षीय कल्पनाको आठौं गर्भ प्रसुतिका लागि समस्या आएपछि यस क्षेत्रका युवाहरु कमल पोखरेल, केदार खतिवडा, होमनाथ भट्टराई र स्वास्थ्यकर्मी राजकुमारी शेर्पा राईको सक्रियतामा उनलाई बिर्तामोडको वीएण्डसी हस्पिटल लगिएको थियो ।

मजदुरी गर्दै दैनिक जीवन गुजारा गर्दै आएका ठटालको स्वास्थ्य समस्याले शल्यक्रिया गरी प्रसुति गरिएको अभियान्ता कमल पोखरेलले जानकारी दिए । ठटालको छोरी भएको बताइएको छ । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको डाक्टरले बताएपछि उनलाई अहिले डेरामा ल्याइएको छ ।

आईतबार ठटालको डेरामा एक भेलाको आयोजना गर्दै उपचारमा नेप्लीज टिनले ५ हजार, गोविन्द खतिवडा ५ हजार, सन्दिप त्रिखत्री, रमेश त्रिखत्रीबाट ५ हजार, फरवार्ड युवा मञ्च ३ हजार, दर्गा प्रसाई (वीएण्डसी) ३ हजार, महिला चेतना बहुउद्देश्यीय सहकारी १७१०, नेपाल उद्यमशील महिला समूह २५१५, सलोनी इन्टरप्राइजेज बिर्तामोडबाट १५ सय, दिनेश खतिवडा एक हजार, मिलन पौडेल एक हजार, सौजन कटुवाल एक हजार, विरु दर्नाल बिर्तामोडबाट एक हजार नरेन खाती ५५०, क्रियटिभ नेप्लीज युवा तथा बास झापा र टीका गौतमले ५ हजार रुपैयाँ सहयोग गरेको केदार खतिवडाले बताए ।

उनले दाताहरुबाट जम्मा ३६ हजार २७५ रुपैयाँ संकलन भएको र उपचारमा ३२ हजार रकम खर्च भएको बताउँदै बाँकी ४ हजार २ सय ७५ ठटालकै लागि खर्च गरिने अर्का अभियन्ता राजकुमारी शेर्पा राईले बताइन् ।

भेलामा समाजसेवी राजकुमार बराईली, वडा नं. ७ का वडाध्यक्ष नविन ढुंगाना, रमेश त्रिखत्री लगायतको उपस्थिति रहेको थियो । भेलामा कल्पनाका पति राजकुमार सरकारले सहयोगी हात अघि बढाईदिएको धन्यवाद दिएका थिए ।