जलेश्वरधामको स्वर्ण महोत्सव र अनुष्ठानमा दर्शन गर्न आउनेहरुको संख्यामा वृद्धि « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

जलेश्वरधामको स्वर्ण महोत्सव र अनुष्ठानमा दर्शन गर्न आउनेहरुको संख्यामा वृद्धि


यलम्वर टाइम्स
२७ कार्तिक २०७४, सोमबार १०:०४

[लीला राई]

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामको स्वर्ण महोत्सव तथा ३५ औं धार्मिक अनुष्ठान अवलोकन र श्रवण गर्न आउनेहरुको संख्या बढ्दै आएको छ ।

स्वर्ण महोसत्वमा विभिन्न धार्मिक तथा संघसंस्थाहरुलाई जलेश्वरधामले मन्दिरलाई यहाँसम्म ल्याई पु¥याउन सहयोग पु¥याएको भन्दै सम्मान प्रदान गर्दै आएको छ । शनिश्चरे बजारबाट मन्दिर परिषरसम्म बत्तिका विभिन्न आइटमको लाइट जडान गरिएको हुँदा बाहिरबाट आएका धार्मिक पर्यटकहरुलाई रात बितेको थाहा नपाएको बिराटनगरबाट आएका शनि शाहले प्रतिक्रिया दिए ।

शनि मात्र होइनन् जनकपुर, धरान, इटहरी र उर्लाबारीबाट समेत स्वर्ण महोत्सव अवलोकन गर्न र रात्री जागरण बस्न आउनेहरुको संख्या निकै भएको धाम सदस्य शेखर प्रधानले जानकारी दिए ।

नेपाल बाहिर सिक्किम, दार्जिलिङ, कालेम्पोङबाट पनि स्वर्ण महोत्सव अवलोकन गर्न आउनेहरुको संख्या निकै हुँदै आएको छ । आसामको कोक्रझारबाट आएका हरिभक्त सुवेदीले धामको विकास र उन्नति भएकोमा प्रशंसा समेत गरेका थिए ।

धामले स्वर्ण महोत्सव भरी बाहिरबाट आउने बालबालिकाको लागि विभिन्न खेलाउना तथा पिङको व्यवस्था गरेको छ भने राति बस्नेहरुका लागि निःशुल्क खानाको व्यवस्था पनि गरेको छ । साँझ साँढे ५ बजेबाट भक्तिमय सांगीतिक कार्यक्रम तथा भजन सन्ध्या समेत गर्दै आएको छ । दिउँसो आउने भक्तजनहरुको लागि महाप्रसादको समेत व्यवस्था गरिएको धाम महासचिव विष्णु निरौलाले जानकारी दिए ।

२८ गतेबाट अझ भक्तिमय सन्देशका साथ ज्ञान मञ्च समेत गरिने भएको छ । गुरुकुललाई पौराणीक ढाँचाबाट अगाडि बढाइने, शनि मन्दिरलाई पूर्णता दिने, पुष्पलाल सन्त निवास भवन निर्माण गरिने, कलात्मक शैलीको जलेश्वरधामको मूल मन्दिरलाई अझ कलात्मक बनाएर लाने लक्ष्य रहेको अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

मंसीर १ गते बालाचतुर्दशीका दिन समापन हुने कार्यक्रमलाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था गरिएको, सदविज छर्न आउने र रात्री जागरणको लागि स्वयम्सेवक दस्ता बनाईएको त्यसमा प्रहरी प्रशासनको ठूलो सहयोग रहने सुरक्षा समितिका संयोजक चित्रसेन भण्डारीले जानकारी दिए ।