विधि र प्रक्रियामा चलेको नगर हो अर्जुनधारा नगरपालिका : प्रशासकीय प्रमुख खतिवडा « Yalambar Times
७ चैत्र २०८१, शुक्रबार

विधि र प्रक्रियामा चलेको नगर हो अर्जुनधारा नगरपालिका : प्रशासकीय प्रमुख खतिवडा


यलम्वर टाइम्स
१३ भाद्र २०७५, बुधबार १०:४३


निजामति कर्मचारीमा रहेर लामो सेवा प्रदान गरिसकेका राधाकृष्ण खतिवडा अर्जुनधारा नगरपालिकाका प्रशासकीय प्रमुख हुन् । उनी २०७३ चैत्र ९ गते अर्जुनधारा नगरपालिका घोषणा भएपछि सेवा प्रदान गर्न आएका थिए । यसअघि शनिअर्जुन नगरपालिका हुँदा स्थापना भएको नगरपालिकामा केही समय बिताएपछि २०७४ वैशाख ११ गते नयाँ भवनमा सरेपछि नगरपालिकाको संरचना निर्माणमा जुट्दै आएका थिए । त्यस लगतै भएको स्थानीय निर्वाचन र प्रदेश निर्वाचन गराउन उनको ठूलो भूमिका छ । जनप्रतिनिधिबाट अर्जुनधाराको विकास निर्माणसँगै कर्मचारी सञ्चालनमा १६ महिना बिताइसकेका प्रशासकीय प्रमुख खतिवडासँग नगरपालिकामा भएका विकासे कार्य र जनप्रतिनिधिले गर्दै आएका काम र कर्मचारीले जनतासँग गर्दै आएको उत्तरदायित्वका विषयमा गरिएका केही सम्वाद तल उल्लेख गरिएको छ : सम्पादक

जनप्रतिनिधि नहुँदा र हुँदाको अवस्थामा फरक के पाउनुभएको छ ?

जनप्रतिनिधि नभई रहेको अवस्थामा राजनीतिक दलको संयन्त्रबाट स्थानीय तह हाक्नुपर्ने अवस्था थियो । महत्वपूर्ण र ठूला काम गर्न सक्ने अवस्था थिएन । बजेट पनि त्यस्तै आउँथ्यो । तर, अहिले जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको छ । काम गर्ने शैली त्यत्तिकै फरक भएर आईहाल्छ नि ! हिजो सम्पूर्ण जोखिम कर्मचारीले लिन्थे भने अहिले जनप्रतिनिधि र कर्मचारी बीच लिनुपर्ने हुन्छ । नियम र परिधि छ । त्यसमा रहेर काम गर्नुपर्ने हुँदा केही फरक त हुन्छ नै ।

जनप्रतिनिधि आउँदाको अवस्था ?

स्थानीय तहको निर्वाचन गराउँन त्यति सजिलो थिएन । म आफै निर्वाचन आयुक्त भएर अर्जुनधाराको निर्वाचन सम्पन्न गराएँ । मैले अघि नै भने जनप्रतिनिधि र कर्मचारी मिलेरै काम गर्नुपर्ने हुन्छ । त्यसैले एउटा सिक्काको दुई पाटा भएर जनप्रतिनिध र कर्मचारी लाग्नुपर्छ । नियम र परिधिमै रहेर विकासका गतिविधिहरु अगाडि बढाउनुपर्ने हुन्छ । धेरै काम पनि अगाडि बढेका छन् ।

जनप्रतिनिधिपछि निर्माण भएको बजेटले गरेका कामहरु सन्तुष्टिमूलक नै छन् त ?

स्थानीय निर्वाचन पश्चात् उत्कृष्ट बजेट निर्माण गर्न सफल भयौं । त्यसको परिणाम अहिले वडा–वडामा देख्न सकिन्छ । भौतिक पूर्वाधार, पूल कल्र्भट, ठूला मैसिनरी औजारहरु खरिद गरेका छौं । नगरका धेरै ठाउँमा ग्राभेल र केही ठाउँमा पीच निर्माण गरेका छौं । त्यसैले छुट्टिएका बजेटबाट राम्रै काम भएको मलाई लाग्छ ।

निर्वाचनपछि विकासमा मात्र केन्द्रीत रह्यो त नगरपालिका ?

जनताको इच्छा र आकक्षां विकास नै थियो । जनप्रतिनिधिहरुले पनि जनताको भावना अनुसार काम गर्नुभयो । त्यसैले पनि विकासमै केन्द्रीत भएको मैले महशुस गरें ।

निर्वाचित वडाध्यक्षहरुको काम, कर्तव्य कतिको सरलता रह्यो ?

पहिलो पटक निर्वाचन भएर आउनुभएका जनप्रतिनिधिहरुसँगको बुझाई र सम्बन्ध सुमधुर नै भयो । तर, वडाका जनप्रतिनिधिहरु आईटीमा केही कमजोर देखिएर होला माथिबाट आएको नियम र प्रविधिलाई फलो गर्न नसक्दा समस्या देखा पर्यो नै । यो समस्या हाम्रो नगरमा मात्र होइन, सबै नगर र गाउँपालिकामा देखिएको हो । हिजोआज आईटी क्षेत्रमा वडाध्यक्षज्यूहरुको राम्रो नजर परेको हुँदा काम गर्न सजिलो भएको छ । काम र कर्तव्य बुझ्न सरलता मिलेको छ । सीमामा रहेर जनताको काम छिटो छरितो भएको मैले महशुस गरेको छु ।

कर्मचारी प्रशासन र जनप्रतिनिधिको सम्बन्ध ?

मैले अघि नै भने, नङ र मासुको सम्बन्ध रहेन भने काम गर्न गाह्रो हुन्छ । त्यसैले सम्बन्ध प्रगाढ नै छ । यदी सम्बन्ध बिग्रेको भए विकासका काम गर्न पनि कठिन हुन्थ्यो । यस नगरका नगर प्रमुख अनुभवि भएको हुँदा त्यस्तो कठिन कर्मचारी प्रशासनलाई परेको छैन । संघीयतालाई स्थायित्व दिन जनप्रतिनिधिमात्र होइन स्थानीय कर्मचारीको पनि ठूलो हात हुने भएको हुँदा संघीयतालाई सफलीभूत तुल्याउन निर्वाचित जनप्रतिनिधि, स्थानीय कर्मचारी र राजनीतिक दल, बुद्धिजीविहरुको हात हुने हुँदा त्यसतर्फ हाम्रो ध्यान केन्द्रीत छ ।

नगरभित्र कर्मचारीबीचको सम्बन्ध ?

त्यस्तो केही देखिएको छैन । हुन त चारतिरबाट भेला भएका छौं । केही तितामीठा भएतापनि समग्रमा नगरभित्रका कर्मचारीहरुको सम्बन्ध राम्रै छ जस्तो लाग्छ । हामी प्रशासन विधि, प्रक्रिया र पद्धतिलाई फलो गरेर जाने भएको हुँदा त्यसै अनुसार निर्वाचित पदाधिकारीसँग छलफल हुँदै काम गर्ने गरेका छौं ।

संघीयतालाई पूर्णता दिन स्थानीय तहको महत्व कतिको रहन्छ ?

लामो समयपछि संघीय राज्य स्थापना भएको हाम्रो मुलुकमा स्थानीय तह चुस्तदुरुस्त र पारदर्शी साथै जनतामा उत्तरदायी हुन सकिएन भने संघीयता पूर्ण रुपमा सफल हुन सक्दैन । त्यसैले पारदर्शीका बाटाहरुमा अगाडि बढ्न सक्यौं भने, जनताको भावनालाई सम्मान गर्यौं भने, संघीयता स्थायित्व रहन सक्छ । त्यसतर्फ हामी अग्रसर छौं ।

नगरको विकास अझ अगाडि बढाउन ?

जनप्रतिनिधिहरुको क्षमता विकास, विधिका प्रक्रिया जस्ता तालिम प्रदान गर्न जरुरी छ । प्राप्त तालिमबाट आएको ज्ञानले ऊर्जा उत्पादन भई जनताको उत्तरदायित्वमा अझ ध्यान केन्द्रीत हुन जान्छ । विकासका बाटाहरु खोज्न सकिन्छ । स्रोतका बाटाहरु पहिल्याउन सकिन्छ । महत्वकांक्षी सोचलाई अन्त्य गरेर सकारात्मक र दीगोपनमा अझ ध्यान केन्द्रीत हुनेछ र ५ वर्षभित्रमा जनताले अर्जुनधारा नगरपालिका परिवर्तन भएको देख्न सक्नुहुनेछ ।

नगरपालिकाको विधि र प्रक्रिया भन्नुभयो नि ?

नगरपालिका सञ्चालन गर्न केन्द्रले निर्देश गरेको विभिन्न प्रक्रिया अपनाउन जरुरी छ । राजपत्र प्रकाशित गरी काम गर्नुपर्ने हुन्छ । त्यसतर्फ केन्द्रीत भइएन भने विधि र प्रक्रिया बिग्रन जान्छ भन्न खोजिएको हो । सूचनाका विषयमा पत्रकारहरुसँग सुमधुर सम्बन्ध कायम गरेर काम गरिरहेका छौं जस्तो लाग्छ । नगरले निकाल्ने बुलेटिनमा हामी सचेत छौं । त्यतिमात्र होइन, म भनेर होइन हामी भनेर नगरको समृद्धिको काममा अगाडि बढेका छौं ।

नगरले लगाएको कर जनतामाथि भार त छैन ?

हामीले करलाई त्यति ठूलो ढंगले बढाएका छैनौं । सेवा र सुविधा जनतालाई प्रदान गरौं, त्यसपछि मात्र करलाई प्राथमिकता दिऔं भन्ने निर्वाचित जनप्रतिनिधिहरुको मनशाय रहेको हुँदा अर्जुनधारा क्षेत्रमा त्यति धेरै कर बढाएको छौं जस्तो लाग्दैन । जहाँ विकास र जनतालाई सन्तुष्ट पार्न सक्छौ, त्यहाँ कर लिँदा त्यति ठूलो दुःख हुन्छ जस्तो लाग्दैन । सेवा नै नपुर्याई कसरी बढी कर उठाउँने ?

अन्त्यमा केही छ ?

नगर सञ्चालन गर्ने विधिमा प्रमुख, उपप्रमुख साथै निर्वाचित वडाध्यक्ष, वडासदस्य सक्रिय रहनुभएको छ । राजनीतिक दलले पनि साथ दिनुनै भएको छ । यद्यपी उहाँहरु हामीसँग प्रत्यक्ष सम्पर्कमा नभएतापनि निर्वाचित प्रतिनिधिहरुसँग सम्पर्क र सम्बन्ध रही आएको छ । म यस यलम्वर टाइम्स अनलाईनमार्फत नगरलाई समृद्धिको पाटोमा लैजान, पर्यटन र धार्मिक सहिष्णुताको नगर बनाउन साथै बौद्धिक र समुन्नत समाज निर्माण गर्न सबै जुटौं । हामीले नगरे कसले गर्ने ? समृद्धि हाम्रै पालामा देखेर देश विकास गरुन् । मेरा विचारलाई यहाँको अनलाईनमार्फत आम जनतामा पुर्याई दिनुभएको यहाँलाई धन्यवाद ।