‘आफ्नो भाषाको अपनत्व गराउन सरकारी प्रयोगमा ल्याएका हौं’ « Yalambar Times
३० माघ २०८१, बुधबार

‘आफ्नो भाषाको अपनत्व गराउन सरकारी प्रयोगमा ल्याएका हौं’


यलम्वर टाइम्स
२२ माघ २०७५, मंगलवार ०८:४४


यहाँलाई नमस्कार ! सेवारो ! अब त निर्वाचन भएको पनि डेड वर्षभन्दा माथि हुन लाग्यो ? अहिलेसम्म वडाको विकासको लागि के–के गर्दै हुनुहुन्छ ?

माङसेबुङ गाउँपालिका अन्तर्गत पर्ने वडा नं. ५ मा किराँत धर्मावलम्वीहरुको सर्वोच्च आस्थाको केन्द्र भएकाले पनि थुप्रै काम भएका छन् । माङसेबुङमा रहेको किराँत धार्मिक स्थललाई पर्यटकीय केन्द्र बनाउन आ.व. ०७४÷०७५ देखि गुरु योजना बनाउने काम भईरहेको र गुरु योजना निर्माण भईसकेपछि प्रदेश र संघीय सरकारमा पेश गर्ने तयारी भईरहेको छ । जसका लागि यहि पौष २१ गते माङसेबुङमा संस्कृति तथा पर्यटन उद्यायन मन्त्रालयले माङसेबुङ र माङलाबुङको गुरु योजनाको मस्यौदा प्रस्तुतीकरण गरिसकेको छ । जसको प्राविधिक काम नेष्ट स्ट्याग एनएसी जेभी ललितपुरले गुरु योजना बनाई रहेको छ । यी बाहेक अन्य भौतिक पूर्वाधारका काम पनि धेरै छन् । माङसेबुङको विशेष गरेर लारुम्बाको अव्यवस्थित बजारलाई व्यवस्थित गर्न ढल सुधार लगायतको काम भईरहेको छ ।

अहिले वडा नंं. ५ को जनसंख्या कति छ ?

०७४ को निर्वाचनमा १६ सय मत खसेको थियो, जम्मा मत भने २५ सय थियो जनसंख्याको कुरा गर्ने हो भने ५ हजार माथि पुगेको अवस्था छ । धार्मिक क्षेत्र भएकाले यहाँको जनसंख्या बढ्दो छ ।

यहाँ विशेष गरेर कुन जातिको बसोवास बढी छ ?

यहाँ सबैभन्दा बढी लिम्बू जातिको बासोवास छ । कुल जनसंख्याको ६० प्रतिशत लिम्बू जातिको बसोवास छ । अन्य जाति राई, दलित, क्षेत्री, तामाङ, मगर, गुरुङ्ग, आदी गरेर ४० प्रतिशत छन् ।

यहाँ शिक्षा आर्जनको लागि कस्तो खालको वातवरण छ ?

यहाँ विद्यालयको पहुँच राम्रो छ । कक्षा १२ सम्मको सरकारीतर्फको सरस्वती मावि भालुटारमा छ । जुन वडा नं. ५ अन्तर्गत नै पर्छ । निजीतर्फ कक्षा १० सम्मको फाल्गुनन्द बोर्डिङ्ग स्कुल र २ वटा प्राथमिक विद्यालय रहेका छन् ।

लोकतान्त्रिक गणतन्त्र आईकन पहिलो पटक गठन भएको स्थानीय सरकारभित्रको वडा सरकार नेपालमै पहिलो पटक यहाँको वडा कार्यालयमा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउनु भएको छ, यसको कार्यान्वयन कसरी भईरहेका छ ?

२०७५ साल कार्तिक १५ गते गाउँपालिका कार्यालयमा बसेको सर्वदलीय बैठकमा सर्वपक्षिय, संघ, संस्थाको प्रमुख एवम् प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरुको संयुक्त निर्णयले सर्वसम्वत रुपमा किराँत लिम्बू भाषा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्ने भनी सहमती भयो । सोही दिनको सहमतीलाई टेकेर पुनः ०७५ मंसिर १३ गते यस क्षेत्रका प्रदेश सांसद धिरेन्द्र शर्मा ‘रमण’ को प्रमुख आतिथ्यमा माङसेबुङ गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु र आम माङसेबुङवासीलाई साँची राखेर किराँत लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने भनेर पहिलो पटक घोषणा गरेका हौं ।

किराँत लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने भनी निर्णय त गर्नु भयो यसको कार्यान्वयन कसरी गरिरहनुभएको छ ?

अहिले तत्काललाई दोभाषे कर्मचारी नियुक्ति गर्न नसक्ने भएपछि ५ जना किराँत लिम्बू भाषा र लिपि जान्नेलाई स्वयमसेवकको रुपमा राखिएको छ । उहाँहरु सञ्चहाङ्ग सम्वाहाम्फे, दिलहाङ्ग शेर्मा, ललितचन्द्र फियमक, इन्द्रबहादुर आङ्गदेम्वे र खेसेहाङ्ग थेगिम लिम्बूको सहजीकरणमा लिम्बू भाषाको व्यवस्थापन भईरहेको छ । यहाँका बहुसंख्यक जातिलाई आफ्नो भाषाको अपनत्वको अनुभुति गराउनु लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याईएको हो । सेवाग्रहीले निवेदन आफ्नै भाषामा लेखेर दिने गरेका छन् भने सिफारिसहरु पनि किराँत लिम्बू लिपिमा नै लेखेर दिने गरिएको छ । साथै, अन्य फर्महरु पनि नेपाली र लिम्बू किराँत लिपिमा प्रयोग भैरहेको छ ।

वडा नं. ५ मा लिम्बू मातृ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने भनेर निर्णय गरिसकेपछि माङसेबुङ गाउँपालिकाले कार्यान्वयनको लागि के कस्तो पहल गरिरहेको छ, त ?

स्थानीय शासन सञ्चालन ऐनले गरेको व्यवस्थालाई प्रयोगमा ल्याएका छु । भाषा, संस्कृति र ललितकलाको विकास र संरक्षण सम्बन्धि स्थानीय स्तरको नीति, कानून, मापदण्ड योजना कार्यान्वयन र अनुगमन गर्ने व्यवस्था अनुसार लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा ल्याइएको हो । लिम्बू भाषालाई सरकारी कामकाजी भाषा बनाउन संस्थागत गर्न माङसेबुङ गाउँपालिकाका उपप्रमुख सुनिता फोम्वोको संयोजकत्व, सामाजिक विकास समितिका संयोजक एवम् (वडा नं. ५ को वडाध्यक्ष म आफै) नरेन्द्रकुमार राई सदस्य, विधेयक समितिका संयोजक जगतबहादुर ल्वागुन सदस्य र कर्मचारीहरुकोतर्फबाट माङसेबुङ गाउँपालिकाका योजना शाखा प्रमुख सदस्य सचिव रहने गरी कार्याविधि मस्यौदा उपसमिति गठन भएको छ ।

यो उपसमितिले सम्बन्धित क्षेत्रका भाषा विशेषज्ञहरु, सामाजिक संघसंस्थाका प्रमुखहरु र कानून व्यवसायीहरुसँग बसेर मस्यौदा तयार गर्ने काम भईरहेको छ । यो समितिले मस्यौदा तयार गरिसकेपछि गाउँकार्यपालिकामा पेश हुन्छ, कार्यपालिकाले पास गरेर गाउँपालिकाको सदनमा पेश भएर पास भएपछि कार्यान्वयनमा आउँछ । दोभाषे कर्मचारी कसरी, के गरेर नियुक्ति गर्ने, जाति, समुदाय र धर्मलाई मध्यनजर गरेर कार्यविधिले सबै जाति समुदायलाई समेट्ने छ । जसमा जातीय बाहुल्यतालाई मुख्य आधार, लिपिको हकमा राष्ट्रिय सूचिमा सूचिकृत गरिएको लिपिहरुलाई आधार मानेर कार्यविधि बनाईने छ ।

तपाईको वडाको आ.व.०७४।०७५ को कुल बजेट कति थियो र अहिले चालु आ.व.०७५।०७६ मा कति छ ?

अघिल्लो आ.व.०७४÷०७५ को कुल बजेट ४० लाख थियो । बजेट सिलिङ्गको परिधिभित्र रहेर टोल–टोलको बाटोघाटो, खानेपानी, मातृभाषा शिक्षा र कार्यालय व्यवस्थापन लगायतमा खर्च गरिएको थियो । आ.व.०७५÷०७६ मा ६० लाख बजेट छ । अहिलेसम्म सबै योजना बाँडफाँड भएर बजेट पनि स्वीकृत भएर उपभोक्ता समितिहरु पनि गठन भईसकेका छन् । अधिकांश सप्mटवएरका काम सकिएका छन् भने भौतिक पूर्वाधारका काम भने गर्न बाँकी रहेका छन् । खास गरेर गत वर्षको टुक्रे कामलाई निरन्तरता दिने प्रयास गरेका छौं ।

योजनाको छनौट तथा प्राथमिकिकरण कसरी के आधारले गर्नु भएको छ ?

टोलको सिफारिसमा आएका योजनालाई पहिलो प्राथमिकता दिएका छौं । एक लाखभन्दा तलको बजेटमा योजना नबनाउने भन्ने नीति अनुसार योजना बनाइएको छ । रिङ्गरोडदेखि माङ्गहिमसम्म जाने पक्कि सिँढी बनाउन अघिल्लो वर्ष ५ लाख विनियोजन गरिएकोमा यो वर्ष निरन्तरता दिइएको छ भने बजेट पनि ६ लाख रुपयाँ विनियोजन गरेर हाल काम पनि भईरहेको छ । साथै किराँत संस्कृति, किराँत भाषा, संस्कार संरक्षणको लागि गत वर्ष गाउँपालिकाबाट २ लाख, यो वर्ष ३ लाख र वडाबाट १ लाख रुपैयाँ विनियोजन गरिएको छ । माङसेबुङ शान्ति, अहिंशा र समनताको पक्षमा अघि बढ्दै माङसेबुङमा आदिवासी संग्राहलय बनाउन लागि परेको छ ।

यहाँले भाषिक विद्यालय भन्नु भयो, यस वडामा कति वटा छन् यस्ता विद्यालयहरु ?

गुरुकुल अन्तर्गत मुन्धुम विद्यालय र किराँत साम्जीक मुनधुम आधारभूत विद्यालय गरि २ वटा भाषिक विद्यालय छन् । यी विद्यालयहरुमा १÷१ जना भाषा शिक्षक वडापालिका सरकारले व्यवस्था गरेको छ ।

अन्त्यमा, केही भन्नु छ की ?

सर्वप्रथम त धेरै धेरै धन्यवाद । माङसेबुङ वडा नं. ५ को विकासको लागि स्थानीय वडा सरकारले गरेको गतिविधिहरुलाई अन्तरवार्तामार्फत प्रकाशन गर्ने जमर्को गरिदिनु भएकोमा ।