सरकारको लक्ष्य अनुरुप अर्जुनधारामा प्रधामन्त्री रोजगार कार्यक्रम सुरु « Yalambar Times
५ आश्विन २०८१, शनिबार

सरकारको लक्ष्य अनुरुप अर्जुनधारामा प्रधामन्त्री रोजगार कार्यक्रम सुरु


यलम्वर टाइम्स
२ असार २०७६, सोमबार ११:००

अर्जुनधारा । वैदेशीक रोजगारलाई न्यूनिकरण गर्दै स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अर्जुनधारा नगरपालिकामा सुरु भएको छ ।

स्थानीय तहबाटै रोजगारीको अवसर सिजना गर्ने सरकारको लक्ष्य अनुरुप अर्जुनधारा नगरपालिकामा पनि उक्त कार्यक्रम सुरु गरिएको हो ।

सोमबार नगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले धुपीको विरुवा रोप्दै उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरमा ३ हजार १४२ जनाको आवेदन परेको मध्ये प्रथम चरणबाट २७० छनौट भएको र आजैबाट काम सुरु भएको नगरपालिकाका रोजगार संयोजक केशवराज ढुंगेलले बताए ।

रोजगार कार्यक्रमका लागि वडा नं. १० बाट सबैभन्दा बढी ५६ र कम्ती वडा नं. ८ बाट ८ जना छनौट भएका छन् ।

यसैगरी वडा नं. १ बाट ४३, वडा नं. २ बाट २८, वडा नं. ३ बाट ३८, वडा नं. ४ बाट १३, वडा नं. ५ बाट २५, वडा नं. ६ बाट १५, वडा नं. ७ बाट १३, वडा नं. ९बाट ३१ र वडा नं. ११ बाट २९ जना छनौट गरिएको रोजगार संयोजक ढुंगानाले बताए ।

ढुंगानाले २७० लाई काममा सहभागि गराउनु पर्ने भए पनि वैकल्पिकका लागि ३० जना बढी छनौट गरिएको जानकारी दिए ।

छनौट भएकाहरुलाई १२ वटा समूहमा विभाजन गरि नगरका विभिन्न ७ स्थानमा कामको जिम्मा दिइने बताइएको छ ।

उनीहरुलाई नगरपालिका कार्यालयसँगै अर्जुनधारा जलेश्वरधाम, अर्जुनधारा वडा नं. ७, वडा नं. ७ मै रहेको खेल मैदान, राधाकृष्ण प्रणामी मन्दिर, अर्जुनधारा वडा नं. ३, शनिश्चरे सडक लगायतका स्थानमा आँप, कटहर, गुलमोहर, गुलावी, धुपी, बेल, रुद्राक्ष, लिची, लहरे अशोकसँगै फूलको बिरुवा रोप्ने कामको जिम्मा दिइने जनाइएको छ ।

यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन भएको छ । विनियोजित रकमबाट ज्यालामा २१ लख, सेफ्टी सामग्री खरिद, ७ लाख ५० हजार निर्माण सामग्री खरिद, ३० हजार कन्टीजेन्सी, ३० हजार अनुगमनमा खर्च गर्नुपर्ने छ ।

आर्थिक वर्ष सकिन लागेको कारण यस वर्ष नगरपालिकाले १५ दिनको काम दिइनेछ ।