[लक्ष्मीप्रसाद सुब्बा]
पहिले पहिले मानिसलाई दुःख–दुःखै थियो तर पनि चाडपर्व त मान्नै प¥यो । चाडपर्व खास गरी बालककालमा रमाइलो लाग्छ, त्यसमा तीज पर्व एक हो । यस पर्वको लागि नारी जातिले तीन महिना पहिलेदेखि ‘अब तीज आउन यति दिन छ’ भन्दै औंला भाँच्ने गर्थे । अघिको समयमा चल्ती फिर्ती थिएन । यसो आना सुकि देख्ने मेलो, मेसो पनि थिएन । तैपनि छोरी चेलीको रहर अनुसार धर्म अन्तर्गत तीज त मनाउँनै पर्ने । छोरीहरु बा आमालाई यो चाहियो, त्यो चाहियो भनेर रोडयाउने चलनै छ, पहिले पनि अहिले पनि । ‘ऋणम् कृत पिवम् घृत’ भने झैं तीजमा ऋण गरेर भा पनि घीउ खानै पर्ने जस्तो भावना देखिन्थ्यो । यसै कुरोलाई स्व. महानन्द सापकोटाले यसरी व्यङ्ग्य गरेर कविता लेखेका थिए,
लौ आयो तीज, लौ ल्याउ चीज, खाने र लाउने ।
नभए धन, काडन ऋण, मरेर के लाने ।।
वील भिटको चोली, नभए भोलि, हुँदैन पटक्क ।
झम्के साल पनि चाहिन्छ अनि परेको चटक्क ।।
खाएकै सार, लाएकै सार, मरे त पसार ।
भाद्र शुक्ल द्वितीयाका दिन दर अर्थात् व्रतको अघिल्लो रात दह्रिलो खानेकुरा खाएर तृतीयका दिन व्रत बसेर नुहाइ, धुवाइ गरेर स्वच्छ भएर पानी पनि नखाइ ईश्वरमा एक चित्त लगाएर शिवको पूजा अर्चना गर्छन्, वरदान माग्छन् । अविवाहिताले सुन्दर, ज्ञानी, असल पति पाउँ भनेर भगवान्सँग वरदान माग्छन् । विवाहिताले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर वरदान माग्छन् । साँझपख पूजा विर्सजन गर्छन् अनि चौथिको दिन खान्छन्, पिउँछन्, विश्राम गर्छन् ।
भाद्र शुक्ल पञ्चमीका दिन ऋषिहरुको पूजा गर्ने प्रावधान हुनाले त्यसदिनलाई ऋषि पञ्चमी भनिएको हो । त्यस दिन सात ऋषिहरु, कश्यप, अत्री, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नी, वशिष्ठ र अरून्धतिको विधि विधान पूर्वक पूजा अर्चना आरती गरिन्छ र पूजा विर्सजन गरिन्छ । विधान अनुसार ऋषिहरुको पूजा गर्दा ऋषि पत्निहरुको पनि पूजा हुनु पर्नेमा अरून्धति मात्रै असल पतिव्रत नारी ठहरिएको हुनाले उनको पनि पूजा गरिन्छ ।
पहिले–पहिले बुहारीलाई सासु ससुराले घरबाट उम्कन दिदैन थिए । तसर्थ तीजको कारण पारेर बा आमाले छोरीहरुलाई माइत बोलाएर खानपीन गराउने साथै त्यहि मौकामा नारीहरुले पूजापाठ गर्ने, व्रत बस्ने, भगवानसित वरदान माग्ने पनि गर्छन् । अहिले पनि धार्मिक विचार भएका नारीहरुले शास्त्र विधान अनुसार आचरण गरेकै छन् । नास्तिक त नास्तिक भइगए, त्यस्ताको कुरा के गर्नु । तीज भनेर केवल भेटाघाटा गर्ने, खाने, पीउने, नाच्ने, गाउने, उफ्रिने, उत्ताउलिने मै सिमित रहे । अझ ‘यो तीजलाई अझ उल्लासमय बनाऔं’ भनेर नारा नै लाउँछन् । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर’ भने जस्तो गर्छन् । भक्तिले शक्ति आउँछ भन्ने कुरो जान्दैनन् ।
अब त तीजको पर्व भनेर मात्रै राम्रो लाउने, मीठो खाने, भएका गहना, लुगा–फाटाको प्रर्दशनी, नृत्यको होडबाजी गर्दै एकले अर्कीको चियो–चर्चो गर्ने, कसको कस्तो गहना, कसको कस्तो वस्त्र छ, त्यतातिर नजर डुलाउँदै साथी–साथीमा एकले अर्कीको निन्दा गर्दै साखिलो भएर देखौंटी मुस्कुराउँदै कुन समुहले दर खान भनेर आयोजनामा भेला भएर दर नाम गरेर भुँडी ढाडिने गरी खान्छन् । कतिलाई त पखाला, वान्ता समेत हुन्छ र डाक्टरलाई पैंसा पु¥याउन जान्छन् । तीज भनेको त खास गरी भगवानसँग वरदान माग्ने, दीर्घ जीवनको कामना गर्ने पर्व हो तर आज विकृतिमा परिणत भयो । यो भयो हाम्रो देश नेपालको । त्यसै गरि छिमेकी देश भारतमा पनि तीज पर्व भनेर अर्थात् हरियाली तीज भनेर साउन महिना भरि हरियो चुरा, माला, हरियै साडी–चोलो लगाउने गर्छन् अनि झुला झुल्ने गर्छन् नारीहरुले ।
पुरुषहरु बनावटी साधु भएर भारमा कुनै नदी वा कुवको पानी बोकेर ‘वैद्यनाथ धाम’ कि त सहज पर्ने तीर्थ वा शिवालयमा लगेर त्यो पानी शिवलाई चढाउँछन् । गंगाजल त सबैको भागमा कहाँ जुट्थ्यो । हुन चाहिँ गंगाजल शिवालयमा लगेर शिवलाई अर्पण गर्नुपर्ने हो तर सबैलाई सहज नहुँदा ‘मन चंगा त कठौतीमा गंगा’ भने झैं शुद्ध जल शिवलाई अर्पण गरिन्छ ।
यसरी जल बोकेर हिड्नुलाई ‘बोलबम’ भन्छन् । भाङ धतुरो खाँदै हिड्छन् भने कतिपय नारीहरु पनि उस्तै लुगा लगाएर हिड्छन् । अनि यहि निहुँमा कति जोडी पनि बाँधिन्छन् । यो पनि विकृति नै हो । धर्म सिन्धु, निर्णय सिन्धुमा यसो गर्नु भनेर उल्लेख भएको पाइदैन ।
ब्रम्हाण्ड पुराण अनुसार प्रसङ्गमा ब्रम्हाजी भन्छन्, ‘सबै भन्दा उत्तम व्रत ऋषि पञ्चमी व्रत हो ।’ यो व्रत बस्नाले पापबाट छिट्टै छुट्कारा पाइन्छ । यो व्रत गर्नका लागि जुनै जातिले पनि गरे कल्याणै छ तर दुःखको कुरो राजनीतिले गर्दा जाति विभाजन सँगसँगै धर्म नीतिमा पनि विभाजन भएर धर्म पनि जात पिछेको कल्पना गरेर फलानो धर्म फलानो जातको, फलानो नीति फलाना जातको भनेर भाणभैलो भएकाले इतर जातिको स्त्रीहरु तीज आउँन लागेपछि ‘अब बाहुनहरुको खाने दिन आयो’ भन्दै व्यङ्ग्य गर्छन् । दर के हो ? कुन चराको नाम हो ? उनीहरुले जान्दैनन् । दर खाने भनेर व्रत लिनेहरुले कस्तो पकवान बनाउँछन् त्यो जान्दैनन् ।
अनि अपवादको रुपमा इतर जातिले तीजमा छोरीहरु बोलाएर मीठो मसिनु खुवाएको थाहा पाए भने भन्छन्, ‘हेर न ! फलानाले बाहुनले जस्तै तीजमा छोरीहरु बोलाएर तीज मनायो ।’ किनभने उनिहरु शास्त्र पढ्दैनन्, पुराण सुन्दैनन् अनि शास्त्रको संकेत नबुझेर शास्त्र नीति, धर्म नीतिमा भागबण्डा गर्छन् । बरु जाँड बनाएर खुवाएर भाँड गराउँछन् ।