‘शिक्षित भएर जागिर खानुपर्छ भन्ने छैन’ « Yalambar Times
२५ आश्विन २०८१, शुक्रबार

‘शिक्षित भएर जागिर खानुपर्छ भन्ने छैन’


यलम्वर टाइम्स
९ आश्विन २०७६, बिहीबार ०६:३४

विनोद श्रेष्ठ शिक्षित युवाहरु मध्ये एक हुन् । उनले रामपुर कृषि तथा पशु विश्वविद्यालयबाट कृषिको बागवानी विषयमा स्नातक गरेका हुन् । विभिन्न जिल्लामा कृषि सम्बन्धि सेवा गरिसकेका अनुभवी युवाहरुमा उनको नाम आउँछन् । अर्जुनधारा–८ सरगम होटलका प्रोपाइटर समेत रहेका श्रेष्ठ बुबा आमासँगै श्रीमती र दुई छोराका साथ व्यवसाय गर्दै बसेका छन् । कृषिबाट स्नातक गरिसकेका युवा होटल व्यवसायलाई अंगालेर बसेको हुँदा उनीसँग यलम्वर टाइम्सले गरेको सम्वाद तल उल्लेख छ:

कृषि शिक्षा क्षेत्रमा उच्च शिक्षा हासिल गरेर पछि होटल लाईनमै प्रवेश गर्नुभयो नि ! किन ?

हो, मैले कृषिको बागवानी विषयमा स्नातकसम्मको अध्ययन गरेको छु । आफ्नो पढाई पश्चात देशका दुर्गम जिल्लाहरुमा बसेर कृषि क्षेत्रमा आफूले जाने जतिको सेवा पुर्याउँदै आएको थिएँ । कृषि क्षेत्रमै मैले धेरै समय जागिर गरें । जागिरका दौरान मैले धेरै ठाउँमा स्वरोजगारी बन्नुपर्छ भन्ने गरेको थिए । अरुलाई स्वरोजगार बन्ने सपना देखाउँदै आएको म आफैलाई पनि स्वरोजगार बन्नुपर्छ भन्ने सोच आयो । त्यही भएर मैले होटल व्यवसायलाई अंगालेको हुँ ।

होटल व्यवसाय मेरो खानदानी व्यवसाय पनि थियो । मेरो आमाले निकै अघिदेखि शनिश्चरे बजारमा होटल व्यवसाय गर्नुहुन्थ्यो । आमाले होटल सञ्चालन गरिरहँदा मैले सानैदेखि नजिकबाट नियाल्ने मौका पाएको हुनाले यो पेसा मेरो लागि गाह्रो थिएन । फेरि मेरो आफ्नै एउटा सांगीतिक रेष्टुरेन्ट खोल्ने सपना पनि थियो । जहाँ सबैले आफ्नो सांगीतिक क्षमता देखाउन सकोस् । केटाकेटी, साना–ठूला सबैले एउटा मञ्च जस्तो स्थान पाओस् र सहज रुपमा आफ्नो परिवार तथा साथीभाईका लागि गीत, संगीत सुनाउन पाओस् । त्यही भएर मैले कृषि शिक्षामा उच्च शिक्षा हासिल गरे पनि पछि होटल व्यवसायलाई नै रोजेर तपाई हाम्रै बजार शनिश्चरेमा सरगम क्यारोके रेष्टुरेन्ट सञ्चालन गरेको हुँ ।

प्रोजेक्टमा बसेर मासिक लाखौं रुपैयाँको तलब पनि छाड्नु भयो नि ?

हेर्नुस् पैसामात्र सबै कुरा होइन । आफ्नो गाउँमा आफ्नो परिवारसँग रहेर व्यवसाय गर्नुको मज्जा बेग्लै हुन्छ । जागिर पनि आफ्नो ठाउँमा राम्रो हो । मैले जागिरका दौरान काठमाण्डौदेखि रुकुमसम्म काम गर्ने अवसर पाएको छु । त्यहाँ रहदा मैले धेरै कुराहरु सिक्ने अवसर पाएँ । तर, आफ्नो व्यवसाय भनेको आफ्नै हो । जति खट्न सक्यो, त्यति नै आम्दानी हुन्छ । फेरि आफ्नै ठाउँमा व्यवसाय गर्दा आफ्नो गाउँको विकासमा पनि त सहयोग पुग्छ नि होइन र ! युवाहरुले बाहिर मात्र जागिर गरेर बस्ने हो भने गाउँ कहिल्यै बन्दैन । तसर्थ म आफ्नै ठाउँमा केही गर्छु भनेर जागिर छाडेर आएको हुँ ।

धेरै शिक्षित युवाहरु बेरोजगार छन् । उनीहरुलाई तपाई के सन्देश वा प्रेरणा प्रदान गर्नुहुन्छ ?

बेरोजागर हुनुका धेरै कारणहरु छन् । त्यस मध्ये हाम्रो देशको अवस्था पनि एक हो । हाम्रो मुलुकमा जुनसुकै सरकार आए पनि युवा रोजगारका विषयमा स्पष्ट नीति बनाएको छैन । सरकारले खाडी मुलुकसँग समन्वय गर्ने कुरालाई मात्र युवा रोजगार भनेर बुझेको छ । यसको मतलब वैदेशिक रोजगारीलाई नराम्रो भन्न खोजेको होइन । देशको अर्थतन्त्र यसले नै धानेको छ । तर स्वरोजगारको कुरा परिपक्क रुपमा आईसकेको छैन । अहिलेका युवाहरु आफै सचेत छन् । पहिला जस्तो जागिर नै गर्नुपर्छ भन्ने सोच धेरै हटिसकेको अवस्था छ । तर, यसो भनी रहँदा केही नगरी खाली बस्नु चाही गलत हो । म यस अखबारमार्फत आम युवाहरुलाई के भन्न चाहन्छु भने काम सबै काम हो । काम सानो र ठूलो हुँदैन । म आफै पनि एउटा रेष्टुरेन्टको मालिक हुँ । तर, म कामलाई सम्मान गर्ने भएको हुँदा भाडा माझ्नेदेखि अन्य काम पनि गर्छु । यसमा मेरो परिवारले साथ सहयोग दिनुभएको छ । आनन्द लाग्छ ।

उच्च अध्ययनपछि जागिर नै खानुपर्छ भन्ने छ ? तपाई के भन्नु हुन्छ ?

उच्च अध्ययन गरिसकेपछि जागिर नै खानुपर्छ भन्ने छैन । शिक्षा भनेको मानिसको वौद्धिक क्षमता वृद्धि गर्ने माध्यम हो । सचेत बन्ने एउटा पाटो हो । जुन व्यक्ति शिक्षित छ, वौद्धिक छ उसले जागिर नै अन्य क्षेत्रबाट पनि आफूलाई अगाडि बढाउन सक्छ । शनिश्चरेमै हेर्नुहोस् पढे लेखेका युवाहरुले नमूना काम गरेका छन् । सन्जय, समिर मोदी, गोपाल भाई, बलदेव गोम्देन जस्ता शिक्षित युवाहरु मिलेर शनिश्चरेलाई व्यवसायीक रुपमा अगाडि बढाउन फनवाल्र्ड तथा छहारी रिसोर्ट खोलेर सञ्चालनमा ल्याएका छन् । त्यस्तै कुमार भट्टराईले खान्की रेष्टुरेन्ट, विवश शिवाकोटीले डाँडाघरे सञ्चालनमा ल्याएका छन् । तर, शिक्षा चाही महत्वपूर्ण पाटो हो । शिक्षाले मानिसलाई क्वालिटि थप्छ । अंग्रेजीमा एउटा भनाइ नै छ नि, ‘एजुकेशन इज् एन अल्वेज वील् बी भ्यारी इम्पोर्टेन्ट इन बिल्डिङ अ स्ट्रोङ फाउण्डेशन इन वान्स् लाईफ’ । सबैको आ–आफ्नै सोच हुन्छ । कसैको सपना उच्च पदमा रहने हुन्छ भने कसैको व्यवसायमा । मेरो सोच चाही आफ्नै ठाउँमा व्यवसाय गर्दै आफ्नै गाउँको विकासमा सहयोग पुर्याउने हो ।

युवा के हो ?

५ वर्षदेखि २९ वर्ष जीवनको सबैभन्दा उर्जाशिल उमेर हो । यो उमेरको समूह नै युवा हो । समाज रुपान्तरणमा यो बेला अत्यन्त भूमिका हुन्छ । त्यो बेला समाजलाई जसरी बदल्नु छ, उर्जाशिल समयले बदलेरै छाड्छ ।

तपाईलाई कुशल होटल व्यवसायी भन्न मिल्छ ?

मिल्छ । मैले वर्षौदेखि मेरो आमाले होटल सञ्चालन गरेको देखेको छु । होटलको सबैभन्दा महत्वपूर्ण अंग भनेको भान्सा हो । तर, त्यसको साथै व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुन्छ । आफूले सञ्चालन गरेको सरगममा मेरो आमाको अभिभावकत्व र मेरो श्रीमतीको अथक मिहेनत, साथीभाईको सहयोग तथा गाउँ समाजको माया छ । कुशल ढंगबाट सञ्चालन गरेको हुँदा होटल व्यवसायी नै हुँ भन्ने लाग्छ ।

होटल कस्तो हुनुपर्छ ?

होटल गाउँ समाज अनुसारको हुनुपर्छ । समाजलाई असहज नहुने, व्यवसाय प्रमाणपत्र र राज्यको नम्समा रहेर होटल व्यवसाय गर्यो भने दीर्घकालिन रुपमा सञ्चालन गर्न सकिन्छ ।

अर्जुनधारा क्षेत्रमा होटल व्यवसायको अवस्था ?

यो क्षेत्रमा कुनै राजमार्ग छैन । यो बस्न योग्य वातावरणीय क्षेत्र हो । यहाँको मुख्य आकर्षण धार्मिक, वातावरणीय र केही पर्यटकीय क्षेत्र भएको हुनाले व्यवसाय राम्रै छ भन्नुपर्छ । स्थानीय सरकारले धार्मिक वातावरणीय र पर्यटकीय क्षेत्र निर्माणमा अगाडि बढे अर्जुनधारा व्यवसायीक क्षेत्र बन्न सक्छ ।

तपाई संगीत र गीतकार पनि हो ?

कुनै बेला शनिश्चरे संगीत र फुटबलको एउट हब थियो । संगीतमा अग्रज दाई किरण कार्की, राजु राईको छत्रछायाँमा सांगीतिक समूहको माहोल उर्लिएको थियो । त्यसबेला निरज उदास, अमित सिन्हा, गणेश लामा र नविन राईसँग मिलेर ‘माई खोलाको चिसो पानी….’ भन्ने गीत रचना गरेका थियौं । गीतले स्थान पनि पायो । त्यस गीतले पूर्वको पहिचान दिलाएको थियो । अहिले पनि संगीतकारहरु गौरव सुब्बा, विशाल बुढाथोकी, गायक बादल लिम्बू, पदम कन्दङ्वा जस्ता उर्जाशिलहरु अझै हुनुहुन्छ । नगरको शोभायमान बनाउन संगीतलाई पनि स्थानीय सरकारको नजर पुग्न सके राम्रो हुने थियो ।

अन्त्यमा आम युवाहरुलाई तपाई के भन्नुहुन्छ ?

युवा समय अत्यन्तै उर्जा र अवसरको समय भएको हुँदा आफ्नो रमाइलो जिन्दगीलाई प्रगतिको बाटोमा डोहोर्याऔं । आफ्नो जीवनलाई सदैव माया गरौं । हरेक शिक्षित र अशिक्षित युवाहरु हाम्रो समाजको महत्वपूर्ण अंग हो । तपाईहरुको उर्जा हाम्रो समाजलाई आवश्यक छ । सपना बोक्नुहोस् । लक्ष्यको बाटोमा लाग्नुहोस् । आफ्नो प्रगति गर्नु छ र अगाडि बढ्नु छ भने आफू भन्दा अगाडिका अग्रज र आफूभन्दा पछाडिकालाई सम्मान गरेर जानुहोस् । त्यहाँ तपाईको सफलताको बाटो खुल्ने छ ।