[मुना निरौला (सिर्जना)]
संघीयता भनेको केन्द्रिकृत र एकात्मक राज्य प्रणालीको ठीक विपरित अवधारणा हो । केन्द्रिकृत र एकात्मक राज्य प्रणालीमा राज्य सत्ताका हक र दायित्वहरु मूलत केन्द्रमा थुप्रिएको हुन्छ र केन्द्रले खटनपटन गरेको वा प्रत्यायोजन गरेको राज्यसत्ता सम्बन्धि थोरै हक र दायित्वहरु मात्र तल्ला एकाइहरुमा रहेको हुन्छ । संघीयता भनेको वास्तवमा राज्य सत्ताका हक र दायित्वहरु केन्द्रमा नथुुपारेर संघ र एकाईहरुमा बाँडचुड गर्नु हो । संघीयताको अर्को अर्थ वा तात्पर्य स्वशासन र स्वयत्तता हो ।
स्वशासनको मतलव हो आफ्नो शासन स्वयम्ले गर्नु । यस हिसावले ‘स्वशासन’ भन्नाले देशव्यापी रुपमा अल्पसङ्ख्यमा रहे पनि आफ्नो क्षेत्रमा सघन रुपमा र बहुमत वा बाहुल्यताको स्थितिमा रहेका अल्पसंख्यकहरुले आफ्नो जातीय वा सांस्कृतिक पहिचान सहित आर्थिक, सामाजिक र राजनैतिक मामलामा स्वायत्त ढंगले आफ्नो शासन आफै चलाउने स्थिति हो । संघीयतामा स्वशासन भन्नाले प्रत्येक एकाइहरुलाई राजनीति, अर्थ नीति, भाषा संस्कृति सम्बन्धि नीति लगायत थुप्रै मामलामा आत्मनिर्णय गर्ने हक हुन्छ । जस्तो प्रत्येक स्थानीय तहसँग आफ्नै संसद हुन्छ, संघको कानून सित नबाँझिने गरि आफ्नो क्षेत्रका लागि आवश्यक मूल कानून वा कानून आफै बनाउने हक हुन्छ, आफ्नै निर्वाचित सरकार हुन्छ, जरुरी कर आफै लगाउने तथा करको निश्चित हिस्सा सोझै काटेर लिने अधिकार हुन्छ ।
यस्तै अधिकार सम्पन्न एकाईहरु मध्ये झापा जिल्लाको अर्जुनधारा नगरपालिका प्राकृतिक स्रोत साधन तथा धार्मिक पर्यटकीय हिसाबले अग्रस्थानमा पर्दछ । अथाह सम्भावनाले बोकेको यस नगर पछिल्लो पटक घोषणा भएका नगर मध्ये सबैभन्दा छिटो विकास भएको हो भन्दा गलत नहोला । साविक अर्जुनधारा, शनिश्चरे र खुदुनाबारी गाविसका ११ वटै वडामा विस्तार भएका वडा कार्यालयहरुबाट प्रवाह हुने दैनिक सेवामा सेवाग्राहीका गुनासाहरु खासै नआउनु तथा आएका गुनासाहरु पनि दोहोरिन नपाउनु भनेको कार्यालय प्रशासनको उपलब्धि मान्नुपर्छ ।
दैनिक सेवा प्रवाह बाहेकका नगरको विकाससँग जोडिएका कामहरु जस्तै बाटोघाटो मर्मत, स्तरोन्नति, पुल–पुलेसा, फोहोर व्यवस्थापन, बिजुली, सफा पिउने पानी, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आदि जस्ता कुराहरुमा आर्थिक स्रोत परिचालन गर्न सके नगरको भविष्य बन्छ ।
पुरानो संरचना तथा परम्परागत बसाईमै रमाईरहेका यहाँका जनताको अहिले मनोविज्ञान परिवर्तन भएको छ । जनताहरुले अब जीउधनको सुरक्षामात्र नभइ भविष्यको चिन्ता समेत गरिरहेको बेला नगरले दुरदर्शी नीती अवलम्बन गर्नु जरुरी छ । अर्जुनधारा नगरपालिकाको स्वरुप कस्तो बनाउने भन्ने सम्बन्धमा स्थानीय सरकारले दीगो विकासको सोच ल्याउने तथा समृद्ध नगरको परिकल्पना गरि अगाडी बढ्ने हो भने यो बेला जनताको मनोविज्ञान परिवर्तन गर्न सजिलो छ । यो समयमा बाटो निर्माण, पुलपुलेसा, कल्भर्ट निर्माण आदि जस्ता विषयहरुलाई मात्र प्राथमिकतामा नराखि यहाँका प्रत्येक जनताका पेशामा वैज्ञानिकरण तथा उत्पादनमुलक रुपान्तरणलाई समेत समन्वयात्मक रणनीति बनाएर विकास गर्ने हो भने भौतिक विकासमात्र नभएर आर्थिक रुपान्तरण एवम् जीवनशैली नै परिर्वन गर्ने एउटा गजवको अवसर पनि अर्जुनधारा नगरपालिकाको पहिलो जननिर्वाचित स्थानीय सरकारको हो ।
भनिन्छ, ‘फलाम तातेकै बेला पिट्नु पर्छ ’ यो बेला नगरवासीहरु उत्प्रेरित भएको अवस्था हो । करिब २० वर्ष पछि चुनिएको अधिकार सम्पन्न जनप्रतिनिधिहरुबाट जनताले केही आस गरेका छन् । सृजनशील व्यक्तिको विचार र दुर दृष्टीलाई बिना पूर्वाग्रह ग्रहण गर्ने हो भने अर्जुनधारा नगरपालिकाको सर्वाङ्गगीण विकासलाई साथ दिन सक्ने व्यक्तित्वको कमी छैन । यहाँका वौद्धिक र पौरखी जनशक्तिलाई यो संक्रमणकालिन समयमा नगरको आधुनिकीकरण र विकास निर्माणमा सहभागी गराउन सक्नु पर्छ ।
नगरको आधुनिकीकरणका लागि सर्वप्रथम दक्ष जनशक्तिको उत्पादन गर्नु जरुरी छ । प्रत्येक घरबाट स्थानीय बजार र व्यक्तिगत क्षमताको आधारमा उत्पादनशील तथा सीपमुलक तालिमको व्यवस्था गरेर युवा तथा बेरोजगारलाई स्वरोजगार हुन सिकाउनु जरुरी छ । भनिन्छ, ‘फलाम तातेकै बेला पिट्नु पर्छ’ यो बेला नगरवासीहरु उत्प्रेरित भएको अवस्था हो । करिब २० वर्ष पछि चुनिएको अधिकार सम्पन्न जनप्रतिनिधिहरुबाट जनताले केही आस गरेका छन् । सृजनशील व्यक्तिको विचार र दुर दृष्टीलाई बिना पूर्वाग्रह ग्रहण गर्ने हो भने अर्जुनधारा नगरपालिकाको सर्वाङ्गगीण विकासलाई साथ दिन सक्ने व्यक्तित्वको कमी छैन । यहाँका वौद्धिक र पौरखी जनशक्तिलाई यो संक्रमणकालिन समयमा नगरको आधुनिकीकरण र विकास निर्माणमा सहभागी गराउन सक्नु पर्छ ।
विकास निर्माणको कुरासँगै योजना तर्जुमा गर्दा अपनाइने नीति समन्वयलाई पनि ध्यान दिनु जरुरी हुन्छ । नीति समन्वय भन्नाले आपसमा अन्तरसम्बध भएका क्षेत्रहरुको एकैसाथ वा समन्वायत्मक रुपमा विकास गर्ने गरी बनाइएको नीतिहरुको योजना तर्जुमा हो । नगरले योजना तर्जुमा गर्दा वा नगरको बजेटलाई जनतामा लगानी गर्दा तुलनात्मक रुपमा मुनाफा नभएका, स्थानीय जनताको रोजगारीको सम्भावना नभएका, परम्परागत मौलिकताको सुरक्षा नभएका स्थान छनौट नगर्दा राम्रो हुन्छ । कतिपय स्थानीय तहले विकट र उत्पादनका दृष्टीले रुखो जमिन भएको क्षेत्रमा बर्षेनी लगानी गरिरहेका छन् । तर, प्रतिफल शून्य सबैका आँखा अगाडी जगजाहेर छ । अर्थशास्त्रको दृष्टीमा समेत अनुपयुक्त मानिने यस्ता लगानीलाई तुलनात्मक रुपमा मुनाफामुलक क्षेत्रमा लगानी गर्ने गरी क्षेत्र परिवर्तन गराउन सक्नु नै अर्जुनधारा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको सफलताको खुड्किलो हुनेछ ।
नगर क्षेत्रमा भएका लघु स्रोतहरुको पहिचान गरी त्यस्ता साना लगानीहरुमा स्थानीयको सहभागिता गराउन सकिन्छ । यस्ता कार्यक्रमहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रमसँग साझेदारी वा समन्वय गर्न सकिन्छ । विकास पैसाबाट नभई मष्तिष्कबाट आउछ भन्ने भनाई नै छ । स्थानीयको सानो लगानीबाट समाजमा रहेको उपभोगवादी मानसिकतामा परिर्वतन गर्दै स्रोतको सदुपयोग गर्ने हो भने अर्जुनधारालाई देशकै नमूना नगरको रुपमा स्थापित हुन समय पर्खनुपर्दैन । साना–साना ईकाईमा संलग्न हुने लगानीलाई एकीकृत गरी उत्पादनमुखी क्षेत्रमा लगानी गरिएमा नागरिकमा उद्यमशीलताको विकास हुने साथै समाजमा समेत आर्थिक क्रियाकलापको विकास हुन सक्दछ ।
नगरलाई समृद्ध भएको हेर्न विधमान प्राकृतिक स्रोत साधन, युवा शक्ति, बौद्धिक वर्ग तथा सेवा प्रवाह गर्ने कर्मचारीहरुको अधिक परिचालन गरी यहाँका जनतालाई पत्यक्ष रुपमा फाइदा ह्ने नीति, कार्यक्रमहरु ल्याउन आवश्यक छ । नीति र कार्यक्रमका साथसाथै त्यसको कार्यान्वयन तथा नियमित अनुगमन मुल्याङ्कन गरि अगाडी बढ्नु पर्दछ । दीर्घकालिन रुपमा परियोजनाहरु संचालन गर्न बहुपक्षीय प्राविधिक सहयोग परिचालन गरिनुपर्दछ । यस अर्थमा अत्यन्त नविन रणनीतीको रुपमा यस नगरपालिकालाई पर्यटकीय विन्दुको रुपमा विकसित गर्ने सम्भावनाबारे विस्तृत अध्ययन हुनु जरुरी छ ।
यदी अर्जुनधारालाई पर्यटकीय विन्दुको रुपमा विकसित गर्न सकिएमा यसबाट ठूलो सकारात्मक प्रभाव पार्नेछ । यसको माध्यमबाट नगरमा रोजगारी प्रवद्धन हुनेछ, राजश्व परिचालनमा सघाउ पुग्नेछ, सूचना प्रविधिको विकासमा सहयोग पुग्नेछ । भौतिक पूर्वाधारको रुपमा सडकको स्तरवृद्धि गर्न सरोकारवाला पक्षलाई जरुरी हुनेछ । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा अर्जुनधारा नगरपालिकाभित्र भएका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेसँगै यस नगरमा भएका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न सके अझ उपलब्धि हुने अनुमान लगाउन सकिन्छ ।
यस नगरको प्रत्येक क्षेत्रमा भएको उर्वर माटो, यहाँका उर्जाशिल व्यक्तिहरुका विचार, सीप, दक्षता, धार्मिक क्षेत्र, प्राकृतिक स्रोत र साधन तथा यस नगरको नाम अर्जुनधारालाई हामी सबैले नगरको सम्पत्ति मान्ने हो भने यहाँका जनता कसैले पनि भविष्य प्रति चिन्तित रहनु पर्दैन, अर्जुनधारावासी जनताहरुलाई शुभकामना ।