जनतालाई ढाँटिए धरानको जस्तो परिणाम आउन सक्छः मन्त्री राना « Yalambar Times
९ मंसिर २०८१, आईतवार

जनतालाई ढाँटिए धरानको जस्तो परिणाम आउन सक्छः मन्त्री राना


यलम्वर टाइम्स
१३ माघ २०७६, सोमबार ०८:००

अर्जुनधारा । भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री राम रानाले निर्वाचन ताका जनतालाई दिएको आश्वासन अनुसार काम भएन भने आउने निर्वाचनमा धरानको जस्तो परिणाम नेकपाले व्यहोर्नु पर्ने दिन आउन सक्ने बताए ।

नेकपा अर्जुन्धारा नगर कमिटीद्वारा परिचयात्मक कार्यक्रममा राज्यमन्त्री रानाले नेकपाका अग्रजहरु समय व्यथित गरेर पार्टी सदस्यता बचाउने कर्यमा नभई राज्यले ल्याएको सुखी नेपाली, समृद्ध नेपालको नारालाई कार्यान्वयनतर्फ कसरी जाने भन्ने विषयमा चिन्ता र जनतामाझ चरितार्थ गरेर जानुपर्नेमा जोड दिए ।

समृद्ध नेपाल कर्म गरेर मात्र प्राप्त गरिने परिणाम हो । नेपाल औद्योगिक कारखानाभन्दा पनि कृषिबाटै आयआर्जन गरेर समृद्ध हुन सक्ने ठाउँ हो । त्यसैले नेकपाका कार्यकर्तामात्र होइन तमाम् नेपालीहरु कृषि क्रान्तिमा संलग्न हुन सके नेपालको आर्थिक अवस्थामाथि उठेर जाने बताए ।

पूर्वी नाकाबाट मात्रै एक अर्बको कागती नेपालमा भित्रन्छ, काजु पनि त्यतिकै के हामी कागती, काजु जस्ता अति महत्वपूर्ण उत्पादन गर्न सक्दैनौं र ? के सहकारी नीति अन्तर्गत सर्वसाधारण जनताको जीवनस्तर उकास्ने काममा हात हाल्न सक्दैनौं र ? दुई तिहाईको सरकार छ जनताले जे भने त्यो गर्न सकिने अवस्था छ । त्यसैले पार्टी सदस्य बचाउने अभियानमा हिंड्नु भन्दा आफै कृषिमा आधारित कर्म गरेर अगाडि बढ्नु सके समृद्ध नेपालको एउटा पाटो बन्न सक्छ ।

प्रदेश नम्वर १ खान पुग्ने अन्न उत्पादन गर्ने प्रदेश हो । यही प्रदेशमा अनुदानको चाक्ला हेर्ने हो भने झापा, मोरङ र सुनसरी पहिलो देखिएको छ । त्यसपछि इलाम, विस्तारै हिमाली जिल्लाले पनि अनुदान चाहियो भनेर निवेदन चढाउन थालेका छन् । तर वर्षौदेखि अनुदान लिँदै आएको जिल्लाको अवस्था हेर्दा लाजमर्दो छ । त्यसैले अनुदानलाई बढी प्राथमिकता नदिई नीतिसंगत चाक्लाबन्दीमा कृषि कार्य गर्ने भनेर आएका प्रापोजललाई प्रदेश सरकारले सम्मान गर्ने समेत बताए ।

भूमि सम्बन्धि नीति राज्यले निर्माण गर्दै आएको छ, प्रदेशले त्यसलाई फराकिलो पारेर स्थानीय सरकारसँग आउने निश्चित छ । त्यसलाई आत्मासाथ गरेर जनतालाई सेवा दिन सकिएन भने त्यसको परिणाम दुःख लाग्दो हुने निश्चित छ । त्यसमा नेकपाका कार्यकर्ताहरु स्थानीय सरकारलाई सद्भाव राखेर अगाडि बढ्न अनुरोध गरे ।

परिचयात्मक कार्यक्रममा नगर अध्यक्ष प्रेमसागर सापकोटाले कृषिबाटै समृद्ध जनता बनाउन सकिनेमा जोड दिए ।
जनप्रतिनिधि छनौट गर्ने प्रक्रियामा जनतामाझ जाँदा धनीपूर्जाका कुराहरु राखिएको थियो ।

दुई वर्षभित्रमा धनीपूर्जा वितरण गर्ने स्पष्ट नीति नल्याएसम्म कठिन हुने जानकारी गराउँदै स्थानीय सरकारले शिक्षा र कृषिमा आधारित बजेटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

परिचयात्मक कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला आचार्य, नेकपाका जिल्ला कमिटी सदस्य भोला परियार, योगेन्द्र आचार्य, किसान नेता तारा उपाध्यय, जितेश योञ्जन लगायतको आतिथ्य रहेको थियो ।

नगर सचिव राजु शेर्माले सञ्चालन गरेको कार्यक्रमको स्वागत नगर इन्चार्ज नारद दुखीले गरेका थिए ।