अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमित व्यक्तिको उपचारमा लागिरहेको प्रदेशका कोभिड अस्पतालहरुमा बिरामीको चाप बढेपछि अर्जुनधाराले सरकारको अवधारणा अनुरुप नै आइसोलेशन वार्ड सञ्चालन गर्न लागेको हो ।
अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २ जना संक्रमित व्यक्ति आइसोलेशन वार्डमा बेड अभाव भएपछि तीन दिनसम्म क्वारेन्टाइनमै राख्नु परेको थियो ।
नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको मंगलबार बसेको बैठकले नगरमै आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको कमिटीका संयोजक तथा नगर प्रमुख हरिकुमार रानाले जानकारी बताए ।
उनका अनुसार अर्जुनधारा वडा नम्बर ४ मा रहेको अर्जुनधारा स्वास्थ्य चौकीको भवनमा सञ्चालन गर्ने नगरले तयारी थालेको छ ।
सरकारको आइसोलेशन सम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ बमोजिम सञ्चालन हुने भएको छ ।
सुरक्षा निकायका प्रमुख, स्वास्थ्य निकायका प्रमुखसहितको बैठकले नगरमा आइसोलेशन वार्ड सञ्चालनसँगै स्वास्थ्य मापदण्ड २०७७ को परिच्छेद २ अनुरुप होम आइसोलेशन पनि सञ्चालन गर्ने निर्णय भएको छ ।