उन्नत जातका बाख्रा पाउँदा भित्रीगाउँको मुहारै उज्यालो « Yalambar Times
५ आश्विन २०८१, शनिबार

उन्नत जातका बाख्रा पाउँदा भित्रीगाउँको मुहारै उज्यालो


यलम्वर टाइम्स
९ भाद्र २०७७, मंगलवार ०९:४४

भित्रीगाउँ । आर्थिक संकटले गुज्रीरहेको खुदुनाबारी ३ भित्री गाउँका विपन्न परिवारलाई निःशुल्क उन्नत जातका बाख्रा प्रदान गरेपछि भित्रीगाउँको मुहारै उज्यालो बनेको छ ।

भित्रीगाउँलाई बाख्राको पकेट क्षेत्रको रुपमा अर्जुनधारा नगरपालिकाले लिएपछि बाख्रा लिन आउने जो कोहीको अनुहार उज्यालो देखिन्थ्यो । उक्त ठाउँका २२ घरधुरीलाई ४ वटाका दरले बाख्रा वितरण गरिएको थियो ।

बाख्रा पाएपछि खुसीले गदगद हुँदै कमला बराइलीले भनिन् ‘कोरोनाले आर्थिक अवस्था नाजुक बनाइरहेको बेला बीउ धनको रुपमा निःशुल्क पाउँदा नगरपालिकालाई मनैबाट मुरी मुरी धन्यवाद दिन चाहन्छु ।’

अर्जुनधारा नगरपालिका अन्तर्गत रहेको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले गत आर्थिक वर्षदेखि छुट्याइएको बजेटबाट भित्रीगाउँका बासिन्दाहरुलाई समूहगत रुपमा भेला गरि नयाँ बाख्रा पकेट प्याकेज अन्तर्गत उक्त ठाउँका २२ परिवारलाई बाख्रा निःशुल्क वितरण गरिएको हो ।

शाखाका प्रमुख पदमलाल राईले समूहलाई तालिमसँगै खोर निर्माण र बाख्रालाई हुर्काउने, बढाउनेसम्म ज्ञान दिएको बताए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले कठिन परिस्थितिमा पनि मिहेनती किसानको रुपमा भित्रीगाउँलाई ठानेर बाख्रा वितरण गरिएको छ । यसलाई पूँजीको रुपमा लिएर जीवनस्तर उकास्न आग्रह गरे ।

उपप्रमुख कमला आचार्यले भित्रीगाउँको अवस्था र यस क्षेत्रको उर्भर थलोलाई मध्यनजर गर्दै नगरको सानो सहयोग कोसेलीको रुपमा लिएर उदाहरणीय हुन अनुरोध गरे ।

भित्रीगाउँ बाख्रा पालन समूहकी अध्यक्ष अनुपा मग्रान्तीले भित्रीगाउँको अवस्थालाई बुझेर नगरले गरेको सहयोग जुनीसम्म नबिर्सने बताउँदै नगर प्रमुख हरिकुमार राना, पशु सेवा शाखा प्रमुख पदमलाल राईलाई सम्मान गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष जीवन भण्डारी, नगर आर्थिक समितिका दिलमाया दास लगायतको आतिथ्य रहेको थियो ।

भित्रीगाउँका अनुपा मग्रान्ती, आमेकुमारी विक, सर्मिला ठटाल आदिले बीउ धनको रुपमा लिएको पूँजीलाई आउने वर्ष दोब्बर बनाउने प्रतिक्रिया यलम्वर टाइम्सलाई दिए ।

यसरी नै सर्मिला पौडेल, कमला बराइली, कृष्णप्रसाद न्यौपाने, खड्गबहादुर रम्तेल, गीतादेवी भट्टराई, गोमादेवी श्रेष्ठ, देवीमाया न्यौपाने, धनमाया दर्जी, नेत्रप्रसाद अधिकारी, नैना कुँवर, पवित्रा पौडेल, फूलमाया दर्जी, मनमाया बोहोरा, मनमाया तामाङ, संगीता श्रेष्ठ, सावित्रा धमला, ज्ञानप्रसाद न्यौपाने आदिले बाख्रा प्राप्त गरेका थिए ।

करिब ७ लाख मूल्य बराबरको बाख्रा, बाख्रा बस्ने खोर र भिटामिन प्रदान गरिएको थियो ।

शाखाका प्राविधिक बेनुकुमार बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन पशु शाखा प्रमुख राईले गरेका थिए ।

उक्त कार्यक्रम भित्रीगाउँमै आयोजना गरेर यस क्षेत्रका विपन्न वर्गको हौसला प्रदान गर्ने काममा नगरले खेलेको भूमिका प्रशंसनीय रहेको युवा समाजसेवी बुद्ध बराइलीले प्रतिक्रिया दिए ।