श्रीमानकै कारण गीताले आत्माहत्या गरेको माईती पक्षको आरोप « Yalambar Times
५ आश्विन २०८१, शनिबार

श्रीमानकै कारण गीताले आत्माहत्या गरेको माईती पक्षको आरोप


यलम्वर टाइम्स
२४ श्रावण २०७८, आईतवार १०:४९

अर्जुनधारा । सात महिना अघि प्रेम विवाह बाँधिएकी गीता घतानी शुक्रबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि माइती पक्षले किटानी जाहेर दिँदै उनका श्रीमान राजु कटुवाललाई कारवाही गर्न माग गरेका छन् ।

अन्तरजातीय विवाह बाँधिका ती जोडी आन्तरिक कलहमा फस्दै आएका थिए । शुक्रबार गीताले आत्माहत्या गरेको कुरा बाहिर आएपछि आमा राधिका घतानीले राजुकै कारण आत्माहत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरि दिएकी थिइन् ।

अर्जुनधारा–७ नारायण चोकमा डेरा गरि बस्दै आएका राजु इलाम गोर्खे निवासी हुन् । उनका बहिनी नाताबाट झापा झरेका राजुले अर्जुनधारा–७ कै जरुवाबस्तीकी गीतासँग गत माघ महिनामा विवाह गरेका थिए ।

यस अघि जे जस्तो भए पनि सँगै बस्ने, सँगै जीउने वाचाका साथ नयाँ जीवनमा प्रवेश गरेका ती जोडी के कारणबाट विवाद मुछिए ? यकिन हुन बाँकी नै छ ।

राजुको जेठी श्रीमतीसँगै सन्तान भएको उल्लेख छ भने गीताको पनि यस अघि नै विवाह भइ एक सन्तान रहेको स्थानीय बताउँछन् ।

शुक्रबार यसरी गीताले आत्माहत्या गरेको विषयमा स्थानीयले उनका श्रीमानकै दोष रहेको भन्दै आक्रमण समेत गरेका थिए ।

गाउँलेहरुको उपस्थितिमा राजुलाई प्रहरीको जिम्मा लगाइएको थियो भने कडा कारवाहीको माग गरिएको गीताका भाइ मणि शंकरले बताए ।

राजुलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा अनुसन्धानका लागि राखिएको छ भने गीताको पोष्टमाटमपछि कानकाई माईमा दाहसंस्कार गरिएको थियो ।