प्रहरीले एक पक्षीय व्यवहार गरेको पीडित वडाध्यक्ष खतिवडाको आरोप « Yalambar Times
५ आश्विन २०८१, शनिबार

प्रहरीले एक पक्षीय व्यवहार गरेको पीडित वडाध्यक्ष खतिवडाको आरोप


यलम्वर टाइम्स
१८ माघ २०७८, मंगलवार ०८:५९

अर्जुनधारा । ‘आफूले कुटाई खाएको एक साता भयो न्याय निसाफको त कुरै छाडौं उजुरी समेत दर्ता भएन’ अर्जुनधारा नगरपालिका वडा नं. १ का अध्यक्ष गजधार खतिवडाले मधुरो अनुहार बनाउँदै नगर प्रमुख हरिकुमार रानासमक्ष आफ्नो कुरा राखे ।

एउटा जिम्मेवार वडाध्यक्षले निष्पक्ष न्यायको लागि इलाका प्रहरी कार्यालयमा उजुरी दिन जाँदा किन निवेदन दर्ता भएन ? भनी इलाकालाई सोध्न पुग्दा ‘उजुरी दर्ता हुन्छ काम कारवाही अगाडि बढ्छ’ यही जवाफ नगर प्रमुख रानाले पाएपछि रानामात्र होइन उजुरी किन दर्ता हुन सकेन भनी जिज्ञासा लिएर पुगेका संविधानसभाका सदस्य प्रेम गिरी, प्रदेश सांसद बृख प्रधान, उपप्रमुख कमला आचार्य, नेकपा एमालेका अर्जुनधारा अध्यक्ष बलदेव गोम्देनले प्रहरीको भनाईलाई पर्खेर हेरौं भन्दै सोमबार फर्केका थिए ।

खोलाको विषयलाई लिएर वडाध्यक्ष खतिवडामाथि लात्ती प्रहार भएको थियो । पित्त थैलीको अप्रेसन गरेर विषेक भएका बेला स्थानीय होम अधिकारीले वडाध्यक्ष खतिवडामाथि आक्रमण गरेका थिए ।

आक्रमण गर्दा वडा नं. १ का कांग्रेस सभापति उपेन्द्र बस्नेत पनि संलग्न भएको वडाध्यक्ष खतिवडाको आरोप छ ।

‘विवाद आए बसेर समाधान गर्न सकिन्छ, बिरामीमाथि आक्रमण नै गर्नु निन्दनीय हो’ नगर प्रमुख हरिकुमार रानाले यलम्वर टाइम्ससँग भने, ‘कत्रा कत्रा विवादहरु आपसी छलफलमै समाधान भएको नगर हो । ठाडै आक्रमण गर्नु वान्छनीय ठानिन्न ।’

गत माघ ११ गते कुटपिट भयो १२ गते वडाध्यक्ष खतिवडा इलाका प्रहरी कार्यालयमा उजुरी दिन पुगेका थिए । तर, निवेदन दर्ता नहुँदा अचम्मित भएको बताउँदै प्रहरीले पनि एक पक्षीय व्यवहार देखाएको आरोप लगाए ।

यता आरोपित कांग्रेस सभापति उपेन्द्र बस्नेतले भने घटनामा आफू संलग्न नभएको बताउँदै आएका छन ।

उनले आफ्नो घरमा बसेको मानिसबाट घटना भएको आधारमा आफूलाई दोष लगाउनु न्यायसंगत नहुने बताउँदै आएका छन् ।