काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो ।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै आदिवासी जनजातिको पहिचान विपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ– ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचान विपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाति महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौं ।’
ऐतिहासिक थातथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यस विपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत भत्सना गरेको छ ।
प्रदेशको नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामाकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।