समाजवाद र साम्यवाद असफलः अध्यक्ष पालुङ्वा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

समाजवाद र साम्यवाद असफलः अध्यक्ष पालुङ्वा


यलम्वर टाइम्स
६ कार्तिक २०७९, आईतवार ०७:००

इलाम । राष्ट्रिय जनमुक्ति पार्टीले देशैभरी घोषणा पत्र सार्वजनिक गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुुङ्वाले इलाममा घोषणा पत्र सार्वजनिक गर्दै घोषणा पत्रमा उल्लेख भएको विषयलाई प्राथमिकता साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै गरेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै पालुुङ्वाले भौतिक आर्थिक रूपले सक्षम समृद्ध बनाउँदै जिल्लाका नागरिकलाई सुुखी बनाउँने बताए ।

‘अरूले नगरेका अलपत्र छोडेका विकास निर्माणको काम गर्नेछु, अध्यक्ष पालुुङ्वाले भने, ‘खानेपानी, स्वाथ्य, शिक्षा रोजगार लगायतको विषयमा पहिलो प्राथमिकताको साथ काम गर्नेछुु ।’

जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को उम्मेद्वार समेत रहेका पालुुङ्वाले सात बुुँदे प्रतिवद्धता समेत सार्वजनिक गर्दै कार्यान्वयन गर्न पार्टीलाई घर चिन्हमा मतदान गरेर जिताउँन आग्रह समेत गरेका छन् ।

सरकारको नेतृत्व गरी रहेका दलमा पार्टीको जस्तो कसैको आदेश नचाहिने भएकाले नागरिकको समग्र विकासको काम गर्नेमा विश्वस्त रहन आग्रह गर्दै जिल्लाको विकासलाई प्रथमिकताका साथ काम गर्ने जानकारी गराए ।

पहिचानको पक्षधर राष्ट्रिय जनमुक्ति पार्टी मात्र भएकोले बहुुजातीय लोकतान्त्रिक समाजवाद निर्माण गर्न सबै जातजाति तथा धर्म संस्कार संस्कृतिको समतामुलक विकासमा लाग्ने अध्यक्ष पालुुङ्वाले जानकारी गराउँदै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र २ ‘क’ मा मित्र जबेगु र २ ‘ख’ मा पवित्रा तुम्बाहाम्फेलाई समेत मत दिएर विजय गराउँन आग्रह गरे ।

पत्रकार सम्मेलनमा पालुङ्वाले समाजवाद, साम्यवाद असफल भइरहेको बेला जनमुक्तिको बहुजातीय लोकतान्त्रिक समाजवाद नयाँ सुत्रधार भएको हुँदा यसलेमात्र नेपाली जनताले रोजेको जस्तो लोकतान्त्रिक गणतन्त्र फस्टाउने बताए ।

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष कमला थापाले समानुपातिक र समतामूलक समाज निर्माणमा ठूला दल असफल भएको बताउँदै जातीय मुक्ति र राष्ट्रिय स्वाधिनता निर्माणमा जनमुक्ति देशभरि गुञ्जयमान हुँदै आएको बताइन् ।

प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेद्वार पदम नेम्बाङ, संघीय सभा सदस्य केहरसिंह राना लगायतले पत्रकारहरुको प्रश्नमा सहज जवाफ प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन भने महासचिव पदम जवेगुले गरेको राज खम्बूले जानकारी दिए ।