इलाम क्षेत्र नं.२: नेम्वाङको विकल्पमा पालुङ्वा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

इलाम क्षेत्र नं.२: नेम्वाङको विकल्पमा पालुङ्वा


यलम्वर टाइम्स
२६ कार्तिक २०७९, शनिबार ०३:०५

चुलाचुली । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार केपी पालुङ्वा यतिवेला चुलाचुली गाउँपालिकाको मतदाताहरुलाई घर चिन्ह लिएर भोट माग्दै हिंडिरहेका छन् ।

चुनावी प्रचार अभियान अन्तर्गत एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको मुख्य चुनावी क्षेत्र मानिन्दै आएको चुलाचुलीमा आफ्ना कार्यकर्ताका साथ पालुङ्वाले घरदैलो गरेका हुन् । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेम्वाङसँग चुनावी प्रतिस्पर्धा गरेका पालुङ्वाले १ हजार ४ सय मत प्राप्त गरेका थिए ।

उनले भने, ‘सिमान्तकृत, आदिवासीहरुको अधिकार र पहिचान मुक्तिको लागि दर्बिलो मुद्दा बोकेको हुँदा यसपटक मैलै नै जित्ने विश्वास गरेको छु ।’ करिब ३१ बर्षदेखि निरन्तर रुपमा राष्ट्रिय जनमुक्ति पार्टीको कार्यकर्ता हुँदै आज उनी केन्द्रीय अध्यक्ष बनेका छन् । ५९ बर्षीय केपी पालुङ्वाले इतिहास र राजनीतिक शास्त्रमा स्नातक सम्मको अध्ययन गरेका छन् ।

लिम्बू समुदायको भाषा, लिपि, संस्कृति मात्र होइन अन्य जातजातिको अधिकारको क्षेत्रमा काम गर्दै आएका केपी पालुङ्वा सरल र सालिन नेता हुन् । पालुङ्वा भन्छन्, ‘यसपटक इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यमा आफु नेम्वाङको ठाउँमा वैकल्पिक उम्मेदवार रहेको बताए ।’

चारपटकसम्म इलाम क्षेत्र नम्बर २ बाट निर्वाचन जित्दै आएका सुवासचन्द्रलाई गठबन्धनको उम्मेदवार डम्बर खड्काभन्दा पनि पालुङ्वा अर्को चुनौतीको रुपमा उभिएको पाइन्छ ।

केही दिनअघि माई नगरपालिकाको विहीबारे क्षेत्रबाट नेम्वाङका हितैसी कार्यकर्ता लगायत अन्य दलका २५० भन्दा बढी सक्रिय कार्यकता जनमुक्तिमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरेका स्थानीय समर सुब्बाले बल्ल आफूले रोजेको र खोजेको दल फेला परेको हुँदा यो पटक चुनाव चिन्ह घरमा आफ्नो मत जाने बताए । उनी जस्तै अन्य कार्यकर्ताले पनि यो पटक पालुङ्वालाई मत जाहेर हुने प्रतिक्रिया दिए ।