आफ्नौ नियम निर्माण गर्दै अर्जुनधारा खाम्बातिम « Yalambar Times
५ आश्विन २०८१, शनिबार

आफ्नौ नियम निर्माण गर्दै अर्जुनधारा खाम्बातिम


यलम्वर टाइम्स
१८ पुष २०७९, सोमबार ११:४७

अर्जुनधारा । किरात राई चाम्लिङ खाम्बातिमले चाम्लिङ राई जातिहरुको आत्मासम्मानका लागि १४ बुँदे आचारसंहिता निर्माण गर्दै प्रथम साधारणसभा सम्पन्न गरेको छ ।

अर्जुनधारा नगरभरि एक सय ४६ घरधुरीमा ६ सय ९५ जनसंख्या रहेको चाम्लिङहरुको स्तरोन्नति, भाषा लिपी उत्थान, उद्यौली उभौली र आफ्नो यले सम्वत् कसरी मनाउने भन्ने विषयमा पनि प्रथम साधारणसभामा चर्चा गरेका थिए ।

सभामा अर्जुनधाराभरी ३८ वटा पाछा रहेको चाम्लिङ राईहरु मध्ये ८ घरधुरीमा ३३ जना इसाइ धर्म मान्ने भएको हुँदा आफ्नो कूल धर्मलाई पराइ नसम्झि पूर्खाले मान्दै ल्याएको मुन्धुमलाई पालना गर्नुपर्ने समेत चर्चा चलाएका थिए ।

खाम्बातिम अर्जुनधाराका अध्यक्ष क्या. शिवकुमार राईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै इसाई धर्ममा रमाउनु आफ्नो संस्कारलाई बिर्सिनु हो, जति पनि किरात मुन्धुम मान्ने चाम्लिङ खाम्बातिम छौं हामीले हाम्रै संस्कारतर्फ लाग्नुपर्ने बताए ।

कार्यक्रममा कोषाध्यक्ष सोमा राईले आर्थिक प्रतिवेदन पेश गर्दै ४० हजारभन्दा बढी बैंक मौज्दात रहेको बताइन् ।

प्रथम साधारणसभाले चाम्लिङ राई जातिभित्र झैझगडा भए त्यसलाई मिलाउन खाम्बातिम अर्जुनधारा सक्रिय हुने बताउँदै जातिभित्रको लडाइलाई बाहिर निकालेर जानु नहुने आचारसंहितमा उल्लेख गरेका छन् ।

प्रत्येक सदस्यको घरमा मृत्यु भए ५ सय रुपैयाँ आर्थिक सहयोग गर्नुपर्ने, प्रत्येक घरधुरी सदस्यले मासिक रुपमा कोषको लागि २० रुपैयाँ बुझाउनुपर्ने, प्रत्येक सदस्यहरुले किरात धर्म प्रकृति पूजालाई मान्नुपर्ने, उभौली उधौलीलाई आत्मासम्मानका साथ मनाउँदै जानुपर्ने, आफ्ना सन्ततिहरुलाई धर्म संस्कार, भाषा लिपी, रितीरिवाजमा भिजाउनुपर्ने, कुनै पनि सदस्यले ग्रह शान्ति र घर पूजा गर्दा आफ्नै पूजारी नछुङमार्फत गराउनुपर्ने, धुम्रपान, मद्यपानमा खर्च घटाइ छोराछोरीको शिक्षामा लगानी गर्नुपर्ने र समारोह, शुभविवाहमा आफ्नै मौलिकता झल्किने पहिरन लगाउनु पर्ने जस्ता निर्णय पारित गरेका छ ।

खाम्बातिमका जिल्ला सचिव गौरीमान राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सल्लाहकार दिपीन राई, यायोक्खा जिल्ला अध्यक्ष गणेश राई, दुमी समाजका भरतसिंह राई, वान्तवा खिमका मिश्रकुमारी राई, सुम्निमा महिला समूहका भूपा राई, किरात राई यायोक्खा सल्लाहकार कुसुम राई लगायतले शुभकामना मन्तव्य राख्दै जातभन्दा ठूलो अन्य संगठन नभएको, धर्मसंस्कृतिभन्दा ठूलो पराइ धर्म नभएको भनाइ राखेका थिए ।

सरीता राईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्ष क्या. शिवकुमार राईले गरेका थिए ।