मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष आचार्यद्वारा एक लाख प्रदान « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष आचार्यद्वारा एक लाख प्रदान


यलम्वर टाइम्स
१६ फाल्गुन २०७९, मंगलवार ११:३७

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरे ।

०५३ सालमा आचार्य महासंघको अध्यक्ष हुँदा स्थापित पुरस्कारको अक्षयकोषमा एक लाख रुपैयाँ मात्र थियो । अक्षयकोषको व्याजले पु्स्कारको राशी नधान्ने भएपछि महासंघको वर्तमान कार्यसमितिले अक्षयकोषको रकम पाँच लाख पु¥याउने निर्णयसहितको प्रस्ताव गत साधारणसभामा पारित गरेको थियो ।

दाता र महासंघको आन्तरिक श्रोतबाट यसैवर्ष अक्षयकोषको रकम पाँच लाख पुर्याइने अध्यक्ष गिरीले बताए । झापाका अग्रज पत्रकारका रुपमा परिचय बनाएका ७० वर्षीय आचार्यले अक्षयकोषको रकम वृद्धि र पुरस्कारको दिगोपनका लागि सहयोग गरेको बताए ।

हाल जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक एवम् साहित्य सेवामा क्रियाशील आचार्यले नेपालका पहिलो पत्रकार मोतीराम भट्टको स्मृतिमा स्थापित पुरस्कारले नेपाली पत्रकारिताको श्रीवृद्धिमा योगदान गर्दैै आएको बताए । उनले महासंघ वर्तमान कार्यसमितिको रचनात्मक कार्यको प्रशंसा समेत गरे ।

महासंघ झापाका अध्यक्ष गिरीले पूर्व अध्यक्ष आचार्यलाई अक्षयकोषमा सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीकरण उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

उक्त अवसरमा महासंघका सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्य स्वस्तिका आचार्य, प्रदेश परिषद् सदस्य मनकुमार शर्मा, पत्रकार सन्तोष न्यौपाने लगायतको सहभागिता थियो ।