‘मासिन्या’लाई नियाल्दा « Yalambar Times
८ मंसिर २०८१, शनिबार

‘मासिन्या’लाई नियाल्दा


यलम्वर टाइम्स
३० जेष्ठ २०८०, मंगलवार ०८:०२

               मन थेगुबा

[मन थेगुबा]

मनमाया बान्तवा स्मृति स्रष्टा सम्मान कार्यक्रमा साहित्यकार तथा पत्रकारका साथै सञ्चारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवालाई सम्मानित गरिने सो कार्यक्रममा कवि विराट किराँती र गजलकार निहाङ किराँतीको निम्तो मान्ने अवसर जुरेको थियो । तीन चरणमा विभाजन कार्यक्रमको पहिलो मनमाया बान्तवा स्रष्टा सम्मान, दोस्रो मोक्तान थेबाको कविता संग्रह ‘मासिन्या’ माथिको बहस र अन्तिम चरणमा काव्यगजल वाचन तर्फ सानो दिल, कल्पना आचार्य, रुमानी कुलुङ र तेजेन्द्र घिमिरेद्वारा कविता तथा गजल वाचन गरिएको थियो । ‘मासिन्या’ माथि बहसको क्रममा बहसकर्ता प्रेम राई, लिला अनमोल र साङसेन पन्धाकको कुरा सुने पश्चात आफूलाई पनि केही लेख्नै पर्ला जस्तो लागेर आयो । इतिहासकार राजकुमार दिक्पालसँग बुझ्दा उहाँले ‘झन नयाँ’ दैनिकमा प्रकाशित आफ्नो लेखसमेत पठाइदिएर गुण लागाउनु भयो । जसले मासिन्या मतवाली र नमासिन्या मतवाली भन्ने शब्दका साथै तामाङ थरको बारेमा समेत थाहा पाउने अवसर मिल्यो । इतिहासकार दिक्पालले ‘कहिलेदेखि चल्यो तामाङ लेख्ने चलन’ भन्ने शिर्षकमा तामाङ लेख्ने चलन वि.सं.१९८९ देखिमात्र औपचारिक रुपले लेख्न थालिएको स–प्रमाण उल्लेख गरेको पाइन्छ । तामाङलाई त्यसभन्दा अगाडि ‘मुर्मी भोट्या’ लेखिन्थ्यो तर जङ्गवीर मोक्तानले जातथरमा तामाङ लेख्न पाऊँ भनी गरेको विन्ति पश्चात श्री ३ महाराज भीमसम्शेरले इस्तिहार नै जारी गरेर जात थरमा तामाङ लेख्न दिएको पाइन्छ । (कहिलेदेखि चल्यो तामाङ लेख्ने चलन– राजकुमार दिक्पाल, झन नयाँ दैनिक पत्रिका, २०८०/०२/१७ गते)

मासिने मतवाली र नमासिने मतवाली भनी वि.सं. १८९३ मा राजेन्द्र विक्रम शाहले रुक्का जारी गरेर आदिवासी जनजातिहरुलाई दुई भागमा विभाजन गरिएको र मासिने मतवालीमा मुर्मी भोट्या (तामाङ) लाई समावेश गरिएको कुरा इतिहासकार राजकुमार दिक्पालले यस (कहिलेदेखि चल्यो तामाङ लेख्ने चलन (राजकुमार दिक्पाल, झन नयाँ दैनिक पत्रिका (२०८०/०२/१७ गते) लेखमा उल्लेख गरेको पाइन्छ । मासिने मतवालीहरुलाई भाउजूसँग यौन सम्बन्ध राखेमा लिङ्ग नै काटिदिने, कमराकमारी राखेर बेचबिखन गर्नका साथै मार्न समेत मिल्ने, पानी नचल्ने जातभनी रुक्कामा लेखिएको कुरा इतिहासकार राजकुमार दिक्कपाले सो लेखमा उल्लेख गरेका छन् । ‘मासिन्या’ कविता संग्रहमाथि बहस हँुदा बहस कर्ताहरु र कविता संग्रहका लेखक मुक्तान थेबाले श्री ३ महाराजा जंगबहादुर राणाले जारी गरेको नेपालको पहिलो मुलुकी ऐन (वि.सं. १९१०)मा आदिवासि जनजातिहरूलाई मासिन्या मतवाली र नमासिन्या मतवाली भनी कानुनी रुपमा नै बैधता दिएको कुरा दाबी गरेका थिए । समग्रमा हेर्ने हो भने मनुस्मृतिलाई आधार मानेर पहिलो मुलुकी ऐन (वि.सं.१९१०) जारी गरेको पनि सदियौं बितिसक्यो । राणा शासनबाट राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै देश गणतन्त्रमा अवतरण भई धर्म निरपेक्षमा गइसक्यो । तर पनि श्री ३ महाराजा जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐन (वि.सं.१९१०) लाई आधार मानेर आदिवासी जनजाति (मतवाली)हरुलाई अझ पनि शासन गरिरहेको छ । यसैको विरुद्धमा कवि मुक्तान थेबाले ‘मासिन्या’ (कविता संग्रह) मार्फत विद्रोहको ज्वाला ओकलेको पाइन्छ ।

दश वर्षे जनयुद्धले ल्याएको एउटा सवल पक्ष पहिचानको मुद्दा ससक्त भएर उठ्नु पनि हो । आज त्यसै मुद्दालाई केन्द्र बनाएर धेरै आदिवासी जनजातिहरु आफ्नो दवाइएको भाषा, संस्कार, संस्कृति, धर्म, परम्परा… आदि उत्थान गर्न लागिपरेको पाइन्छ । ‘मासिन्या’ कविता संग्रह पनि त्यस्तै आफ्नो शदियौंदेखि दबिएको पहिचानको खोजी गर्ने क्रममा मुक्तान थेबाले तयार पारेको एउटा दस्तावेज हो । सुवास तामाङको स्केच (चित्र) मा सजिएको, कडा र उत्कृष्ट आवरण, राम्रो कागजमा छपाई साथ १८२ पेजमा फैलिएको कविता संग्रह ‘मासिन्या’ आकर्षक रहेको छ । थेबा (ला पब्लिकेशनले प्रकाशन गरिदिएको यस कृतिको मूल्य रू. ५९९ रहेको छ । यस कृतिमा भूमिका त के लेखक तथा प्रकाशकको भनाइ समेत समावेश छैन । ‘परिवर्तका निम्ति ज–जसले आपैmलाई बिर्से’ भनी ती महान व्यक्तिहरुलाई समर्पण गरिएको कृतिको सर्वाधिकार कवि आफै रहका छन् । मासिन्याभित्रका ५३ वटा लामा–छोटा कविताहरुलाई तीन खण्डमा विभाजन गरेर राखिएको छ । जसमा पहिलो खण्ड ‘अँध्यारो–उज्यालो’ मा २२ वटा, दोश्रो खण्ड ‘गाई, गोरु, बहर, बाछा, बाछी’ मा १० वटा र तेश्रो खण्ड ‘आदिवासी पृथ्वी र चोरऔँले शासक’ मा २१ वटा कविताहरु समेटिएको छ ।

कविताहरुलाई पाठकीय नजरले भाव पक्षलाई हेर्ने हो भने हरेक वस्तुको अन्त्य भएको वा सकिएको देख्छौ तर त्यो वस्तु नै अर्को रुपमा बदलिरहेको हुन्छ भन्ने दर्शनलाई पहिलो कविता ‘जिन्दगी पेन्सिल’ ले प्रष्ट पारेको छ । यसैगरी भ्रमको बर्को ओडिन्ज्याल आपूmलाई लागेको यथार्थ थाहा पएपछि सबै खरानी हुन्छ त्यसैले भ्रममा जिउनुभन्दा एक्लै जिउनु राम्रो हुन्छ भन्ने सन्देश पाइन्छ ‘प्रश्न हराएको….’ मा । मानिस जस्तो देखिन्छ त्यस्तो हुँदैन भन्ने सत्यता अभिनयको रोटेपिङमा पाइन्छ भने ‘आकर्षण भर्सेज प्रेम’मा ग्ल्यामरले मानिसलाई अल्झाइ रहेको कुरा उल्लेख गरेको छ । कसैलाई सहज लाग्ने कुरा अर्कोलाई असहज लाग्न सक्छ । जो जहाँ हुन्छौ त्यहि संयोजन हुन सक्नु मानिसको मुख्य गुण हो भन्ने कुरा कुनै कवितामा पाइन्छ भने कुनै कुनै जति पल्ट पढ्यो त्यति नै अर्थ फरक लाग्ने ‘भ्रुण हराएको प्रश्न’ जस्ता कविताहरु पनि रहेका छन् । ‘कालो बादल र झरी’ कवितामा झरीको पानी जस्तै शासक गरिबहरुकै कटेरोमा दुःख दिन आउने कुरा देखाइएको छ भने भुईमान्छेहरुको हरेक चिज भुईमै रहेको, छायाको रुपमा शासक र सत्ताले जहिले दबाइराखेको यथार्थता ‘छाया’, ‘भित्त र सत्ता’, ‘भ्रम र यथार्थ’… आदि कविताहरुमा पाइन्छ । ‘म रातलाई प्रेम गर्छु’ कवितामा १० वर्षे जनयुद्धले योद्धाहरुलाई जहाँ पुर्यायो त्यही छाडेर नेताहरु मात्र सत्तामा फर्किएको सत्यता छ । ‘रुख र रुखहरु’ मा आदिवासी पूर्खाहरुलाई भर्याङ बनाएको त ‘स्वाभाविक अस्वाभाविक’ मा हिजो विस्तारवाद शासकहरुले गरेको अन्याय र अत्यचार अनि नरसंहारका दृष्यहरु पढ्न पाइन्छ । अरुले खनी दिएको बाटोमा हिड्दा जहाँसम्म खनिएको छ त्यहिसम्म मात्र पुग्न सकिन्छ तर आफैले खनियो भने चाहिएको ठाँउसम्म पुग्न सकिने सत्य ‘म हिडेको बाटो’ कवितामा पाइन्छ । हतियार जोसँग पनि हुनसक्छ तर जसले भोकको विरुद्धमा उठाउछ त्यो हतियार सबैभन्दा खतरा हुन्छ भन्ने सन्देश दिएको छ । ‘बन्दुकधारी भात’ मा भने कुनै कविताले पैतालामा रहेको भुइमान्छे बिउझियो भने आँधिबेरी आउने त कुनै कविताले ऐजेरुका रुपमा रहेको शासकहरुलाई जरैबाट उखेलेर प्याक्ने कुरा गरेको पाइन्छ ।

मासिन्या कविता संग्रहको दोश्रो खण्ड वा भनौ मुख्य भागमा ११ वटा कविताहरु आदिवासी जनजातिको प्रमुख मुद्दा बोकेर रहेका छन् । एकल जाति र धर्मको मिचाइमा परेका आदिवासी जातजाति र धर्मका मानिसहरुको संस्कृति परम्परामाथि प्रतिबन्ध लगाएर अन्याय गरेको विरुद्धमा खरो प्रश्न लिएर आएको कुरा स्वीकार्नु पर्ने हुन्छ । ‘गाई, गोरु, बहर, बाछा, बाछी’ उपशिर्षकको यो खण्डमा कविले आदिम कालदेखि आदिवासी जनजातिहरुले खादै र भोगसमेत दिँदै आएको गाईलाई राष्ट्रिय जनावर बनाएर मार्न प्रतिबन्ध मात्र नलगाएर यसैको निहुमा कसैले गोली खानु परेको त कसैले जेलजीवन काट्नु परेको यथार्थता ‘उनीहरु मान्छे हुन सकेनन्’, ‘खप्परमा गाई बोक्नेहरु’, ‘गोरुसिङे ञ’, ‘ठुङरापको गीत’, ‘देश खाने गाई’, कविताहरुमा व्यक्त गरेका छन् । यसैगरी ‘गाई, गोरु…..’, ‘ठूल्दिदी’, ‘दोर्जे मामाको कथा’, ‘हत्याराको साबिती’ आदि कविताहरुमा आदिमकालदेखि चलनचल्तिमा रहेको परम्परालाई जबरजस्त दबाएर अझ दुःख कष्ट दिएको बिरुद्धमा दबाउनेमाथि बिद्रोह गर्नुपर्ने आह्वान गरेको पाइन्छ ।

अन्तिम खण्ड ‘आदिवासी पृथ्वी र चोरऔले शासक’ मा जम्मा २१ वटा कविताहरु समेटिएका छन् । ‘अचेल बालाई झोँक चल्छ’ कवितामा समग्रह पहिचान हराएकाहरुको बालाई प्रतिक बनाएर उभ्याएको पाइन्छ भने ‘तानाशाहाको चोरऔँलो’ कवितामा विस्तारवादको क्रममा लुटको साम्राज्यभित्र असंख्य आदिवासीहरुको रगतले हिजोका तानाशाहा रंगिएको इतिहास पाइन्छ । यसैगरी कविले कतै देश आन्द्रामा झुण्डिएको त कतै शास्त्रले भुटेको पाए पनि राष्ट्रघाती लेन्डुपेहरुको कुनै देश नहुने कुराको वकालत गरेका छन् । ठमेलको रंगिन रातमा अवसरवादी, हलोण्डे शासकहरु हराएको बेला कीर्तिपुर गेटछेउ बूढो पृथ्वी ढलेको देख्दा कवि आफ्नै लास हेरेर मुस्कुराइरहेको हुन्छ । उकालो अप्ठ्यारो नै सही उक्लनु छाड्नु हुन्न तर दुई डुंगामा टेक्ने गल्ति गर्नु हुन्न भन्ने सन्देश दिँदै कविले शताब्दीको बजारशास्त्रमा हिजोको दासदासीहरु जस्तै पुनः मानिसको किनबेच हुने कुराको ठोकुवा गर्दै संग्रहको विट मारेको पाइन्छ ।

समग्र भावलाई नियाल्दा विद्रोहको सीमा हुने भए संग्रहका कविताहरुमा उग्रविद्रोह रहेको पाइन्छ । विदेशी उखान अनुसार सिंहले आफ्नो बारेमा नलेखेसम्म सिकारी कै मात्र इतिहास लेखिरहिन्छ, भने झै अरुले लेखिदिएको बदलामा आफैले आफ्नो कुरा लेख्ने क्रममा अलि खरो लेखिएको छनक मिल्छ कविताहरुमा । साहित्यमा उग्रताभन्दा सालिनता भए सबैलाई स्वीकार्य हुनको साथै आफ्नो कुरा राख्न पाइन्छ तर यसरी राख्दा अरुको सम्मानमा असर पुग्ने नपुग्ने कुरामा पनि ख्याल राख्नु राम्रो हुनेछ । कवितामा प्रयोग भएका वा गरिएका बिम्बप्रतिकहरु अति शसक्त रहँदा रहँदै गाईलाई अति बढि प्रयोग गरेकोले अलि भद्धा लाग्दो देखिन्छ । कवितामा प्रयोग भएका तामाङ भाषालाई नेपालीमा उल्था गरिएकोले आम पाठकहरुलाई बुझ्न सजिलो भएको छ । प्रायः कविताहरु सरल हुँदाहुँदै केही कविताहरु अति क्लिष्ट र बुझ्न नसकिने रहेका छन् । यस संग्रहभित्र १३७ हरफसम्म पैmलिएको लामो कवितादेखि मात्र ३ हरफमा सीमित रहेको छोटो कविता पनि पाइन्छ । भन्नै पर्दा जे जस्तो भए पनि ‘मासिन्या’ कविता संग्रह पहिचान मासिएर, शदियौंदेखि दबिएर रहन बाध्य आदिवासीहरुको एउटा दस्ता भएर आएको छ । अन्त्यमा कविता कृतिको सफलताको शुभकामना साथ कवि मोक्तान थेबालाई नोगेन भन्दै यसै संग्रहबाट एउटा कविता राख्दै लेखको बिट मार्न चाहान्छु ।

‘बलेको आगो
को ताप्दैन ?
म, आगो बालेर ताप्छु ।” (आगो र म– पे.नं. ७०)

सन्दर्भ सामग्रीः
१) मासिन्या (कविता संग्रह २०७९ (मोक्तान थेबा)
२) झन नयाँ दैनिक पत्रिका (कहिलेदेखि चल्यो तामाङ लेख्ने चलन (राजकुमार दिक्पाल)
३) इतर कविता (तामाङ कवितामा पहिचानको सवाल (कुमारी लामा)
४) तामाङ जाती (इतिहास (परशुराम तामाङ)