वर्षासँगै आएको बाढी पहिरोका कारण एकको मृत्यु, २६ बेपत्ता « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

वर्षासँगै आएको बाढी पहिरोका कारण एकको मृत्यु, २६ बेपत्ता


यलम्वर टाइम्स
३ असार २०८०, आईतवार ०७:०४

झापा । गएरातिको वर्षासँगै आएको बाढी पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् ।

संखुवासभा स्थित हेवा खोलामा आएको बाढीले अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्दै आएका एक मजदुरको मृत्यु भएको हो भने पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा बाढी पहिरोका कारण २६ जना बेपत्ता भएका हुन् ।

मृत्यु हुने मजदुरको परिचय खुलेको छैन । उनको शव पाँचखपन–५ खोला किनारमा फेला पारेको प्रहरीले जनाएको छ भने स्थानीय ७ घर बाढी बगाएको जनाएको छ ।

त्यस्तै संखुवासभास्थित सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्क विहिन भएका छन् भने पाँचथरमा बाढी पहिरोकै कारण ५ जना बेपत्ता भएका छन् ।

यता ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा यामकुमार बुढाथोकीका परिवारका ३ जना बेपत्ता भएका हुन् ।

बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यस्तै बाढी पहिरोले आयोजनाहरु, घरहरु र पुलहरुमा क्षति पुर्याएको छ । बाढीले सुपर हेँवा हाइड्रोपावरमा पूर्णरुपले क्षति पुर्याएको छ भने पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पु¥याएको छ ।

त्यस्तै मेची राजमार्ग स्थित फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलाको पुल बगाउँदा राजमार्ग अवद्ध भएको छ ।