असार १ बाट नदीजन्य सामग्री उत्खनन र सडक खन्न रोक « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

असार १ बाट नदीजन्य सामग्री उत्खनन र सडक खन्न रोक


यलम्वर टाइम्स
४ असार २०८०, सोमबार ०६:२१

झापा । सरकारले असार १ बाट भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले आउँदो भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो ।

कार्यालयले यसबारेमा गएको २५ गते सार्वजनिक सूचना नै निकालेर असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको जनाएको थियो ।

बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।

कार्यालयले भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गर्ने सरकारको चेतावनी छ ।

यस्तै असार १ गतेबाट नै असोज १ गतेसम्म नदीजन्य सामग्री उत्खनन् गर्न पनि रोक लगाइएको छ । बर्खाको समयमा बाढी आउने र सो समयमा नदीजन्य सामग्री उत्खनन् गर्दा दुर्घटना हुन सक्नेभन्दै उत्खनन्मा रोक लगाइएको हो ।