काँकरभिट्टा । अभियान्ताहरुले कोदो उत्पादनमा जोड दिनुपर्छ भनी राज्यलाई घचघच्याइरहँदा यो वर्ष पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्यांक छ ।
काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको हो । पूर्वी पहाडमा खचाखच उत्पादन हुने कोदोलाई राज्यले बेवस्था गरेको कारण कोदो लोप हुँदै जाँदा अहिलो भारतमुखी भएर बाँच्नुपर्ने बाध्यता बनेको छ ।
कोदो उत्पादन अभियान्ताहरुले पहाडी भेगमा रहेको बाँझो खेतलाई कोदो उत्पादनमा जोड दिन किसानलाई राहतमुखी कार्यक्रम ल्याउन सके राज्यलाई फाइदा हुने र बेरोजगारी समस्या पनि हल भएर जाने सुझाव दिइरहेका छन् ।
कोदो उत्पादन विषेशतः पहाडी क्षेत्रलाई प्राथमिकता दिइएको छ । तर ति क्षेत्रका किसानहरुलाई राहतसँगै प्राविधिक ज्ञान नदिएकै कारण भारतको मुख ताक्नुपर्ने बाध्यता देखिन्छ ।
कोदो बहुउपयोगी खाद्यय पदार्थको रुपमा लिइएको हुँदा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिले पूर्वका ९ जिल्लामा रैथाने बालीको रुपमा कोदोलाई प्रवद्र्धन गर्दै जानुपर्ने सल्लाह दिएका छन् ।
ती जिल्लाहरुमा कार्य समिति निर्माण गरी अगाडि बढिसकेका छन् । प्रवद्र्धन समितिले प्रदेश सरकारलाई सुझावसहित आफ्ना धारणा पनि राखिसकेका छन् । विभिन्न अन्तरक्रिया गर्दै हिंड्दा स्थानीय पालिका सरकारले पनि यो वर्ष भने चासो दिएको पाइन्छ । झापाका मेचीनगर, अर्जुनधारा लगायतका नगरहरुले कोदो उत्पादनमा सहयोग गर्ने भएको पाइएको छ ।
यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।
कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा रु १९ करोड ८३ लाखको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ ।
सोही अवधिमा रु ३१ करोड ९८ लाख बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, रु १८ करोड ७४ लाख ७२ हजारको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र रु आठ करोड ९६ लाख ८० हजार बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए ।
पूर्वीनाकाबाट सोही अवधिमा रु ८० करोड ९९ लाख ८४ हजारको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, रु ६० करोड ८१ लाख ६० हजार बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, रु दुई करोड ७१ लाख ५२ हजारको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, रु चार करोड ९८ लाखको तीन हजार एक सय १३ मेट्रिक टन लौका, रु तीन करोड १० लाख बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र रु तीन करोड ४० लाख ९६ हजारको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्यांक छ ।
सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा रु ४४ लाख ८० हजारको एक सय १२ मेट्रिक टन फापर, रु छ करोड ६६ लाख ६६ हजार बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु ३४ लाखको पानको पात भारतबाट आयात भएको छ ।
कार्यालयका अनुसार सोही अवधिमा रु १७ करोड ३१ लाख २० हजारको चार हजार तीन सय २८ मेट्रिक टन चामल र रु १७ करोड २८ लाख २४ हजार बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा समेत भारतबाट आयात गरिएको छ ।
पूर्वीनाका काँकडभिट्टाबाट गत आवमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात गरिएको छ । रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजारको ताजा तरकारी र रु दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजारको फलफूल आयात गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।