कैदीलाई सरुवा गर्दा झापा कारागारमा हुलदङ्गा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

कैदीलाई सरुवा गर्दा झापा कारागारमा हुलदङ्गा


यलम्वर टाइम्स
१९ श्रावण २०८०, शुक्रबार १२:५०

चन्द्रगढी । शुक्रबार दिउँसो असन्तुष्ट कैदीबन्दीले झापा कारागारमा आजगनी र ढुङ्गामुढा गर्दै हुलदङ्गा मच्याएका छन् ।

मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेका थिए ।

असन्तुष्ट कैदीबन्दीहरुले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा सुरु गरेका थिए ।

कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो । आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् ।

प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए । कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।