शुक्रबार विश्वभरी श्रमिक नारी दिवस मनाईरहँदा समाजमा यति धेरै छोरी मानिसहरु पलपलमा मारिएको विषयमा पनि बहस हुँदै होला । आजभन्दा ३ दशकअघि कृष्ण धरावासीले शनिश्चरे बजारमा भएको नारी हत्यालाई लिएर ‘नारीभित्र के छ हजुर’ भन्ने पुस्तक प्रकाशित गरेका थिए । पुस्तक बजारमा आएपछि नारीहरुले मात्र होइन, विभिन्न संघसंस्थाहरुले घनिभूत बहस र छलफल चलाएका थिए । छलफलमा नारीलाई हेर्ने दृष्टिकोण गलत हुनुहुँदैन भन्ने निष्कर्षमा पुगेको थियो । नारी सम्मानका विषयमा राजनीतिक दल लगायत सबै पक्षले सकारात्मक हस्ताक्षर पनि गरेका थिए ।
जब नारी दिवस वा श्रम महिला दिवस आउँछ, अकालमा महिलाहरु मारिएका विषयमा छलफल हुन्छ । यथेष्ट कानुन नआउँदा पथरीमा १५ वर्षीय बालिका काटिएर मारिएको र माङ्सेबुङमा १३ वर्षीय बालिका गर्भवती भएको पीडादायी घटना देखिन्छ । मार्ने र पीडा दिने अधिकांश पुरुष फेला पर्छन् । कानुनले कारवाहीको दायरामा ल्याउँछ । पछि छाडिन्छ र पुनः अर्कोतर्फबाट यस्तै घटना दोहोरिन्छ । तर, बालिका भने मरेका मरै हुन्छ । पीडक पुरुषहरु आम माफीबाट बाँचेका बाँचै हुन्छन्, फरक यतिमात्र छ ।
समाजमा सचेत नागरिक वा दलका नेताहरुका आफन्तहरुबाटै धेरै बालिका मारिएका छन् । निर्मला पन्तदेखि हालै पथरीमा ज्ञानमति राई पनि सचेत पुरुषहरुबाटै मारिए । निर्मलाका हत्यारा समाजमा हिंड्दै होलान् । ज्ञानमतिको हत्यारा जीतपुर सिमरा बस्दै आएका धिरेनकुमार चौधरी भने प्रहरी फन्दा परेका छन् । झापाको एक महिला दिवस कार्यक्रममा सहभागिहरुले हत्यारालाई कैद नै सबैथोक होइन प्रकृति अनुसार सजाय हुनपर्छ भनेका छन् ।
महिला दिवस कार्यक्रममा हाक्काहाक्की महिला अभियान्ताहरुले भन्ने गरेका छन्, यौन हिंसाबाट मारिएका हुन भने पीडकको लिङ्ग छेदन वा फाँसी दिनुपर्छ । होइन भने यस्ता नाबालिका र महिला धेरै अकालमा मृत्यु हुने देखिन्छ । नारा चलिरहन्छ, मर्ने मरिरहन्छ । एक कानुन ज्ञाताका अनुसार हत्या सम्बन्धि कुनै घटना घटाउनेलाई जेल सजाय त छदैछ । प्रकृति हेरेर हत्याराहरुलाई फरकफरक दण्ड जरिवान आवश्यक छ । यसो गरिएन भने यौन हिंसाकै कारणबाट अकाल मृत्यु हुने महिलाहरुको संख्या बढ्दै जाने देखिन्छ । बालबालिकाको हकमा सामाजिक सञ्जाल हेर्ने, हेराउने प्रकृतिको अन्त्य गरिनुपर्छ र मोवाइल कुन बेला चलाउने भन्ने हेक्का अभिभावकले राख्न जरुरी छ । यसो गर्दा महिला हिंसाबाट बालबालिकाहरुको अकाल मृत्यु हुने संख्यामा कमि आउँछ ।