यो धर्तीमा जो–जसले धर्ती पूजा गर्दै नयाँ अन्न लगाउने र बल शक्ति मागी पूर्खालाई सम्झिने काम गर्छन्, तिनीहरु वास्तवमा भूमिपुत्र हुन् भन्ने भनाई छ । तर धर्तीको पूजा गर्ने, अन्न लगाउने काम नेपालीले गर्दै आएका छन् । मुन्दुमी तरिकाबाट पूजापाठ गर्ने, पूर्खालाई सम्झने अनि बलबिन्ती माग्ने चलन किराँती सम्प्रदायमा रहीआएको हुँदा पूर्वी क्षेत्रमा उभौली चाडको महत्व नै बेग्लै छ । पूर्वमा उभौली चाडलाई धुमधामसँग मनाइरहँदा यतिबेला ठाउँठाउँमा ढोल झ्याम्टाहरुका आवाज गुञ्जयमान छ । ढोल, झ्याम्टा आवाजहरु गुञ्जीरहँदा हातमा तीतेपाती र सिन्कौली बोकेर अच्कटीएको धर्तीमा साकेला सिलीमार्फत नृत्य गर्ने चलन छ । यसो गर्दा धर्तीले सुन्ने, बुझ्ने मुन्दुममा उल्लेख भएको कारण किराँत समुदायमा उभौलीको विशेष महिमा रहेको छ ।
मानव उत्पत्तिबाट बाँच्ने, बचाउने र परिवेश अनुसार चल्ने चलन यो धर्तीमा छ नै । त्यसैले नेपाललाई विविधताले भरिएको देश भनिएको पनि हो । उभौली पर्वका हरेक कार्यक्रममा अतिथिका रुपमा अन्य समुदायको उपस्थिति पनि हुने गर्दछ । मन्तव्य व्यक्त गर्ने बेलामा शुभकामनाका सन्देश राम्रैसँग व्यक्त भएका पनि छन् । तर बोलाई र गराईका व्यवहारले भूमिपुत्र हौं भन्नेहरुले यदाकदा चित्त दुखाएको हामी पाउँछौं । राज्य सञ्चालनभित्र भूमिपुत्रहरुलाई गरिने व्यवहार संघीय सरकारबाट मात्र होइन वडा सरकारबाट पनि हेपिएको आरोप भूमिपुत्रहरुको छ । सभामा मीठो वचन कार्यान्वयनमा तितो व्यवहारले हैरान भएको गुनासो त्यतिकै छ ।
उभौली भूमि पूजा चलिरहेको बेला भूमिपुत्रहरुले पूर्खालाई सम्झिएर बल शक्ति मागिरहेको बेला अन्य समुदायका सत्तासिन नेताहरुले अर्थात् राज्य शक्तिको बागडोरमा रहेकाहरुले उभौली पर्वमा बजेट तथा भूमिपुत्रहरुको ग्राम थलो निर्माणसँगै तीनका मुन्दुममा आवश्यक खर्च तथा चालयमान गरिने वातावरण निर्माण गर्नु जरुरी छ । उभौली पर्वभरी नेपाल टेलिकमको भ्वाइस सन्देशमा उभौलीका शब्द वाचन गरी भूमिपुत्रको सम्मान गर्न पनि जरुरी छ । त्यतिमात्र होइन उभौली पर्वको नाममा भूमिपुत्रहरुको शीर उच्च पार्न राज्यशक्तिले गर्नुपर्ने र देखिने गरी राम्रा काम गर्न आवश्यक छ । २०७२ को संविधानले दिएको सन्देश अनुसार काम गर्न सत्ता पक्ष र सत्तालाई साथ दिने व्यूरोक्रेसीहरुले सकरात्मक मन राखेर उनीहरुको धर्म संस्कृतिमा उत्प्रेरणा भर्न सक्यो भने उभौलीको आशिर्वाद सबैलाई लागेको महशुस गर्न सकिन्छ । त्यसतर्फ ध्यान पुर्याउन जरुरी छ ।